राष्ट्रिय सभा निर्वाचन : उत्साहित छन् गठबन्धनका उम्मेदवार « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभा निर्वाचन : उत्साहित छन् गठबन्धनका उम्मेदवार


१ माघ २०८०, सोमबार


काठमाडौँ । आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारहरुबिच प्रतिस्पर्धा हुँदैछ ।

आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन साझा अपिल गरेपछि चुनावी माहोल तातेको छ । शनिबार बसेको गठबन्धनका नेता रमेश लेखक संयोजकत्वकोे निर्वाचन समन्वय समितिले शीर्ष नेताहरूलाई सार्वजनिक अपिल गर्न आग्रह गरेको थियो ।

निर्वाचन हुन लागेका १९ सिटमध्ये गठबन्धनबाट काँग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन् । एमाले एक्लै चुनावी मैदानमा छ । एमालेले १९ सिटमै उम्मेदवारी दिएको छ । शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सभामा एकसाथ अघि बढ्न एमाले र गठबन्धनका नेताहरुबिच पटक पटक भएको छलफल निष्कर्षमा नपुगेपछि गठबन्धन भर्सेस गठबन्धनका उम्मेदवार आमनेसामने भएका हुन् । तर गठबन्धनमै रहेका लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले सिट नपाएकाले केही असन्तुष्टि भने कायम छ ।

राष्ट्रिय सभा अध्यक्षका रूपमा हेरिएका काँग्रेस नेता कृष्णप्रसाद सिटौला विराटनगरमा उम्मेदवारी दर्ता गरेपछि पूर्वी नेपालको भ्रमणमा छन् । विभिन्न जिल्ला भ्रमणका क्रममा आइतबार इलामको फिक्कल पुगेका सिटौला उत्साहित थिए । ‘जीवनमा आठ पटक चुनाव लडिसक्नुभएका सिटौला दाईको मुहारमा चमक थियो । उत्साहित देखिनुहुन्थ्यो । आफूलाई भन्दापनि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । संविधान कार्यान्वयनमा उहाँको जोड थियो,’स्थानीय एक नेताले भने ।

युवाहरुको प्रतिनिधित्व गर्दै बागमती प्रदेशबाट उम्मेदवार बनेका काँग्रेस नेता जीतजंग बस्नेतको चुनावी अभियानमा जुटेका युवाहरुको अभिव्यक्ति सुन्दापनि गठबन्धनका उम्मेदवारहरुमा उत्साह रहेको अनुमान लगाउन सकिन्छ । गठबन्धनका उम्मेदवारहरुको संयुक्त पोष्टर बनाएर सामाजिक सञ्जालमा क्याम्पेनिङ पनि शुरु भइसकेको छ । एमाले उम्मेदवारहरुले पनि चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् ।

निर्वाचनको अङ्कगणित हेर्दा एमालेले रिक्त रहेका ८ वटै सिट गुमाउने देखिएको छ । किनकि यति बेला १७ सांसद एमालेका छन् । सत्ता गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले एमालेले आफ्नो हालको हैसियत गुमाउने निश्चित छ । यद्यपी, मतभारको अवस्था मूल्याकंन गरेका गठबन्धनका उम्मेदवारहरु उत्साहित छन् । निर्वाचनमा ५ सय ४९ प्रदेश सभा सदस्य तथा स्थानीय तहका १४ सय ९८ प्रतिनिधि गरी २ हजार ४७ जनाले मतदान गर्दै छन् ।

स्थानीय तहअन्तर्गत नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता हुन्छन् । जसका लागि निर्वाचन आयोगले प्रदेशसभाका एक सदस्य बराबर ५३ र स्थानीय तहका एक प्रतिनिधि बराबर १९ मतभार कायम गरेको छ ।
यस हिसाबले प्रदेशसभा सदस्यको २९ हजार ९७ र स्थानीय तहका प्रतिनिधिको २८ हजार ४ सय ६२ गरी ५७ हजार ५ सय ५९ कुल मतभार कायम भएको छ ।

मतभारको अङ्कगणित अनुसार एमाले सबै प्रदेशमा कमजोर देखिएको छ । गठबन्धनका दलहरुको मतभार ३८ हजार २ सय १० हुँदा एमालेको १७ हजार २६ मात्रै छ । कोशी प्रदेशमा पहिलो शक्ति भएको एमाले मतभारका हिसाबले गठबन्धन भन्दा पछाडि नै छ । कोशीमा गठबन्धनको ५४ सय ७४ मतभार रहँदा एमालेको ४२ सय १० छ ।

मधेशको मतभारमा एमाले गठबन्धनभन्दा ५६ सय ७७ मतले पछाडि छ । मधेशमा गठबन्धनको ७ हजार ९ सय ८० तथा एमालेको २३ सय ३ मतभार छ । बागमतीमा गठबन्धनको ६ हजार ७ सय ५१ तथा एमालेको २५ सय ७१ र गण्डकीमा गठबन्धनको ४६ सय २२ तथा एमालेको २४ सय ५८ मतभार छ ।

लुम्बिनीमा भने गठबन्धनको ५३ सय ७१ रहँदा एमालेको २८ सय १०, कर्णालीमा गठबन्धनको ३७ सय ७ तथा एमालेको ११ सय ९५ र सुदूरपश्चिममा सत्ता गठबन्धनको ४५ सय १० तथा एमालेको १४ सय ८० मतभार छ । यो सबै मतभार मूल्याकंन गर्दा १९ वटै सिटमा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस