गुटको राजनीतिले लोसपामा बबाल, पदाधिकारी र कार्यदलप्रति तीव्र असन्तुष्टि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गुटको राजनीतिले लोसपामा बबाल, पदाधिकारी र कार्यदलप्रति तीव्र असन्तुष्टि


२९ पुस २०८०, आइतबार


लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा गुटको राजनीतिका बाछिटाहरू सतहमा आएका छन् । गठन भएको दुई वर्ष बित्दा नबित्दै पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बिचको विवाद सतहमा आएको हो ।

विस्तारित केन्द्रीय समिति गठनदेखि नै चुलिएको विवाद थम्मन विक हत्याकाण्डमा अदालतले लोसपाकाका नेताहरूलाई सुनाएको जन्म कैदको फैसलाले थप उत्कर्षमा पुर्‍यायो । महतोले विज्ञप्ति निकालेर सरकारलाई दिएको समर्थन फिर्ता लिएर सशक्त आन्दोलनमा उत्रन माग राखे भने ठाकुरले अर्को विज्ञप्ति निकालेर सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना नभएको प्रस्ट पारे । 

विवाद बढ्दै जाँदा पार्टीमा गुटको राजनीति पनि देखिएको छ । केन्द्रीय समिति बैठक बहिस्कारको स्थिति समेत बनेको छ । महतो र लोसपाका वरिष्ठ नेता अनिल कुमार झाले केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । 

विस्तारित समितिलाई लिएर रुष्ट
गत असोज ८ गते अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरे । तीन सय ११ सदस्यीय जम्बो विस्तारित केन्द्रीय समिति बन्यो । अध्यक्ष ठाकुरले पार्टीको विस्तारित केन्द्रीय समितिमा सबैलाई पद दिएर खुसी पार्न खोजे । 

समितिमा तीन जना वरिष्ठ नेता छन् । यसैगरी वरिष्ठ सह-अध्यक्ष एक र वरिष्ठ उपाध्यक्ष ६ जना रहेका छन् । १५ जना उपाध्यक्ष, १६ जना महासचिव, सात सह-महासचिव र ११ जना सचिव रहेका छन् । 

राजेन्द्र महतोलाई दोस्रो नम्बरमा राख्दै वरिष्ठ नेता बनाइएको छ भने सर्वेन्द्रनाथ शुक्ललाई सह–अध्यक्ष बनाइएको छ । तर, समितिमा महतो र झा निकट कार्यकर्ताहरूले निकै कम स्थान पाए । यहीबाट विवाद सुरु भएको हो ।

वरिष्ठ नेता महतो विद्रोहको तयारीमा छन् भने अन्य नेताहरुले पनि असन्तुष्टि जनाएका छन् । वरिष्ठ नेता झाले विस्तारित केन्द्रीय समिति बारे अनभिज्ञता प्रकट गरे । उनले भने, ‘राम्रो लागेर नाम राखेको होला, थप जानकारी सम्बन्धित व्यक्तिसँग लिँदा राम्रो हुन्छ ।’

लोसपाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले पार्टीले अध्यक्षलाई दिइएको जिम्मेवारी अनुसार जिम्मेवारी तोक्ने काम भएको बताए । उनले गुनासो भए अध्यक्षसँग राख्दा नै राम्रो हुने सुझाव दिए ।

समितिको जम्बो टोलीलार्ई पार्टीमा भाँडभैलोको संज्ञा दिँदै महासचिव केशव कुमार झाले भने, ‘व्यक्ति पिच्छे पद सिर्जना गर्नु भनेको आफू बाचुन्जेल जम्बो टोली राखेर भए पनि पद ओगट्ने काम हो ।’ यो शैलीबाट हुँदैन भनेर सच्चाउनका लागि दबाब दिइरहेका उनी बताउँछन् ।

महतो पक्षले आन्तरिक बैठकहरूमा चासो दिएको छैन । धेरै दल मिलेर बनेकोले पार्टीमा सामान्य अन्तरविरोध हुनु स्वाभाविकै मान्छन् पदाधिकारीहरू । तर, पार्टीमा पक्ष/विपक्ष भनेर यसअघि नछुट्टिएको उनीहरू बताउँछन् ।

६ वटा दलहरू मिलेर बनेको पार्टीमा केही दल बाहिरी सकेका छन् । भएका दलहरुलाई पनि मिलाउन हम्मेहम्मे परेको छ । अहिलेको लोसपामा फरक फरक राजनीतिक दलबाट आएका महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारी छन् । जनता समाजवादी पार्टी (जसपा)मा विवाद भएपछि ठाकुर, महतो, भण्डारीका साथै अनिल झा लगायतका नेताहरूले २०७८ भदौमा लोसपा गठन गरेका हुन् ।

पार्टी नै फुट्ने अवस्था आई नसकेको प्रवक्ता डा. आभास लाभको दाबी छ । ‘छलफल भइरहेको छ । महतोले तत्कालै नयाँ पार्टी खोल्ने सम्भावना देख्दिन । विमतिहरू सहमतिमा बदलिने छन् । असन्तुष्टिहरू पनि सम्बोधन हुने छन् । यसको प्रयास भइरहेको छ’, प्रवक्ता डा. लाभले भने ।

लोसपा बन्दै गर्दै पार्टीको हैसियत अनुसार आएकालाई पद घटुवा गर्न नमिले पछि सोही अनुसार पद बाँडिएको छ । पार्टीको विधान अनुसार अझै ९० जना केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य थप्न बाँकी छ । त्यो थप्दा बाँकीलाई समेट्न सक्ने सम्भावना रहेको डा. लाभले जनाकारी दिए ।

पुनर्संरचनामा व्यस्त कार्यदल
लोसपालाई नयाँ रूप दिन विभिन्न कार्यदलहरू गठन भएका छन् । र कार्यदल छलफलमा जुटेका पनि छन् । पार्टीलाई पुनर्संरचना गर्दै क्रियाशील गर्नका लागि पुस १२ मा विभिन्न चार वटा कार्यदल बनाइएको हो ।

राजनीतिक कार्यदिशा तय गर्न पार्टीका सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लको नेतृत्वमा कार्यदल बनेको छ । यस्तै उपाध्यक्ष जितेन्द्र सोनलको नेतृत्वमा सङ्गठन सुदृढीकरण, उपाध्यक्ष प्रदीप नारायण यादवको नेतृत्वमा भातृ सङ्गठन तथा विभागहरूको सङ्ख्या निर्धारण र उपाध्यक्ष लक्ष्मणलाल कर्णको नेतृत्वमा अन्तरिम विधान संशोधनका लागि प्रतिवेदन तयार गर्न कार्यदल गठन भएका हुन् । 

लोसपाले पुस २० गतेभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरेको थियो । तर, कार्यदलले काम भने सकेका छैनन् । वरिष्ठ उपाध्यक्ष एवम् पार्टीको सुदृढीकरणका लागि प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको कार्यदलका संयोजक सोनलले विभिन्न सुझावहरू आएको र त्यसबारे छलफल भइरहेको बताए । छलफलबाट आएका विषयहरू केन्द्रीय समितिमा पेस गर्ने गरी काम भइरहेको उनको भनाइ छ । भातृ सङ्गठन तथा विभागहरूको संख्या निर्धारण कार्यदलको संयोजक समेत रहेका उपाध्यक्ष यादवले कार्यदलले आफ्नो काम गरिरहेको बताए ।

महतोले नयाँ पार्टी खोल्लान् ?
मधेस केन्द्रित दलहरूको इतिहास हेर्ने हो भने सत्ता र शक्तिका लागि दलहरू जुट्नु र फुट्नु स्वभाविक जस्तै छ । पछिल्लो पटक जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद उत्कर्षमा पुगेपछि महन्थ ठाकुर, राजेन्द्र महतो, शरतिसंह भण्डारी, अनिल झा लगायतका नेताहरूले २०७८ भदौमा लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए । 

अहिले लोसपाको विवाद उत्कर्षमा पुग्दा पार्टी नै फुट्ने हो कि भन्ने चर्चा चलेको छ । नेताद्वय महतो र झाले केन्द्रीय समितिको बैठक बहिस्कार गरेका छन् । राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गर्ने तयारीमा रहेका वरिष्ठ नेता महतो यति बेला भारतको दिल्लीमा छन् ।

आफ्नो अभियानको तयारीको बारेमा छलफल गर्न पुस २५ गतेदेखि उनी दिल्लीमा रहेको उनी निकट स्रोतले बतायो । अध्यक्ष ठाकुरसँग आन्तरिक विवाद सुरु भएपछि यसअघि पनि उनी एक साता दिल्लीमा थिए । दिल्लीबाट फर्किए पछि उनले लोसपामा विद्रोह गरेका थिए ।

महतोले पार्टी छोडेका पनि छैनन् र पार्टीका बैठकमा सहभागी पनि भएका छैनन् । यसलाई नयाँ पार्टी फुटाउने वा नयाँ पार्टी गठनको तयारीमा हेरिए पनि लोसपाका प्रवक्ता डा. लाभ भने महतोले तत्कालै नयाँ पार्टी खोल्ने र पार्टी नै फुटाउने अवस्था आई नसकेको बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस