सुन तस्करी मुद्दा सङ्गठित अपराधमा अनुसन्धान, यी हुन् भन्सार प्रमुखले गरेका सुधार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन तस्करी मुद्दा सङ्गठित अपराधमा अनुसन्धान, यी हुन् भन्सार प्रमुखले गरेका सुधार


१९ पुस २०८०, बिहिबार


डा. टोकराज पाण्डे

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौँमा १४ किलो सुन तस्करीको मुद्दा दायर गरेको छ । भन्सार कार्यालयले अनुसन्धान सकेर मङ्गलवार अदालतमा मुद्दा दायर गरेको हो ।

भन्सारले १० जनाविरुद्ध भन्सार ऐन, २०६४ अनुसार मुद्दा दायर गरेको हो । गिरोहले पटक पटक गरेर एक अर्ब ४० करोड रुपैयाँ बराबरको १३८ किलो सुन तस्करी गरेको निष्कर्षसहित बिगो दाबी गर्दै मुद्दा दायर भएको हो । 

भन्सारले मुद्दा दायर गरेपछि अब प्रहरीले यसमा थप अनुसन्धान गर्ने छ । सङ्गठित अपराधको तत्त्व पनि देखिएकोले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)लाई बुधबार पत्राचार गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले जानकारी दिए । विमानस्थल भन्सारले विशेष सुराकीका आधारमा मंसिर २१ को मध्यराति युएईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो । घलेको बयानका आधारमा भन्सारले उनलाई दुबई पठाउने मीनबहादुर घलेलाई पक्राउ गरेको थियो । 

१४ किलो सुन प्रकरणमा प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको थियो । २२ मंसिरमा गठन भएको समितिले प्रतिवेदन बुझाइ सकेको छ । सुन तस्करीमा विमानस्थलमा कार्यरत नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ, सेवा निवृत्त भएर करारमा कार्यरत रमेश देउला र प्लम्बर शेरबहादुर बस्नेतको भूमिका खुलेको छ । भन्सारले दुबईबाट सुन पठाउने अङ्कित अग्रवाललाई फरार प्रतिवादी बनाएको छ ।

यी हुन् भन्सार प्रमुखको पहलमा भएका सुधार
पछिल्लो समय त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरले केही महत्त्वपूर्ण सुधार गरेको छ । डा.पाण्डेले साउन १० मा कार्यालयका प्रमुखको रूपमा हाजिर भएपछि भन्सारमा सुधार भएको हो ।

एक क्विन्टल सुन तस्करी प्रकरणपछि यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई अर्थ मन्त्रालय तानेर डा.पाण्डेलाई प्रमुखको जिम्मेवारी दिइएको थियो । डा.पाण्डेले भदौ १ देखि भन्सार एजेन्ट र भन्सारमा आउने कर्मचारीहरूलाई परिचयपत्र र ड्रेस अनिवार्य गरे । 

भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड अपलोड गर्ने श्रमिकलाई फोटो सहितको पास उपलब्ध गराइएको हो । ड्रेस र परिचयपत्र अनिवार्य गरेपछि अनधिकृत व्यक्तिको प्रवेश नियन्त्रण भएको उनको भनाई छ । 

यसैगरी भन्सार कार्यालयले कार्गो भवनमा प्रवेशका लागि फ्ल्याप गेट सञ्चालनमा ल्याएको छ । अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि यो गेट सञ्चालनमा ल्याइएको हो । ‘वाई’ पास बाहकले मात्र यो गेट पार गर्न सक्छन् ।

गत श्रावण २ गते कार्गो भवनबाट गाडीको ब्रेक शु भित्र लुकाई छुपाई अवैध सुन बाहिरिएपछि भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाइ गरेको हो । उक्त घटनामा अनधिकृत व्यक्तिको प्रवेश देखिएपछि विभिन्न निकायको सिफारिसका आधारमा भन्सार कार्यालयले कार्गो विल्डीगं प्रवेशका लागि फ्ल्याप गेट सञ्चालनमा ल्याएको हो । 

कार्यालयले स्वच्छ वातावरणका लागि वृक्षारोपण र सरसफाईलाई प्राथमिकता दिएको छ । यसैगरी कार्यालयले वर्षौँदेखि यात्रुले छोडेका, जफत गरिएका र प्रहरीले बरामद गरेका सामानको लिलामी गरेको छ । जसका कारण यत्रतत्र छरिएका सामानहरू हटेका छन् ।

कार्यालयले भन्सारको सो घोषणा कक्ष सञ्चालनमा ल्याएको छ । कार्यालयले तालिम दिएर कर्मचारीको आचरणमा सुधारको प्रयास गरेको छ । साथै भन्सारको एरिया पनि विस्तार गरिएको छ । अर्कोतर्फ फर्निचरको व्यवस्था गरिएको छ । कार्यालयले मुद्दाहरूको फैसला पनि छिटो छिटो गर्ने गरेको छ ।

भन्सार चेकजाँचमा कडाइ गरेपछि अवैध सुन बरामद भएको छ । चेकजाँचमा कडाइ गरेपछि तस्करहरू समातिएको कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले बताए । सुन बरामद भएपछि मुद्दा अदालतसम्म पुर्‍याएको छ ।

भन्सारमा अझै सुधार गर्नुपर्ने छ । चेकजाँचका लागि ल्याएको मेसिन सञ्चालनमा आउन सकेको छैन । ब्रेक शुमा सुन रहेको पत्ता लगाएको मेसिन नियमित सञ्चालनमा छैन । यसैगरी अन्य एक्सरे मेसिनबाट अवैध सुन आयातको बारेमा पत्ता लगाउन कठिन छ । 

पछिल्लो समय निर्यात भन्दा आयात बढी भएको छ । जसका कारण निर्यात कक्ष खाली छ भने आयात कक्ष खचाखच छ । यो व्यवस्थित गर्नु पर्ने देखिएको छ । दीर्घकालीन सुधारका रूपमा भन्सार चेकजाँच प्रविधिमा आधारित हुनु पर्ने छ भने टर्मिनल पनि अर्को बनाउनु पर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस