दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा भारत सात विकेटले विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा भारत सात विकेटले विजयी


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा पाहुना टिम भारतले सात विकेटको सहज जित निकालेको छ । दक्षिण अफ्रिकाको केप टाउनमा भारतले घरेलु टिमविरुद्ध टेस्ट क्रिकेटमा निकालेको यो पहिलो जित हो ।

दोस्रो टेस्टको दोस्रो दिन भारतले ७९ रनको लक्ष्य पाएको थियो । जसलाई पाहुना टिमले तीन विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै भारतले दक्षिण अफ्रिकासँगको दुई खेलको टेस्ट शृंखला एक-एक को बराबरीमा अन्त्य गरेको छ । भारतले सन् २०१०–११ पछि पहिलो पटक दक्षिण अफ्रिकामा टेस्ट शृंखला बराबरीमा टुंग्याएको हो ।

दोस्रो दिनको दोस्रो इनिङमा भारतका ओपनर यशस्वी जयसवालले २८ रन बनाए । कप्तान रोहित शर्मा १६ रनमा अविजित रहँदा विराट कोहलीले १२ र सुभमन गिलले १० रन थपे । दक्षिण अफ्रिकाका कगिसो रबाडा, नान्द्रे बर्जर र मार्को जान्सेनले एक–एक विकेट लिए । केप टाउनस्थित न्युल्यान्ड्समा जारी टेस्टको दोस्रो दिन दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाले ६२–३ बाट ब्याटिङ सुरु गरेको थियो । तर, दोस्रो दिनको पहिलो सेसनमा दक्षिण अफ्रिकाले थप ११४ रन जोड्दा बाँकी सात विकेट गुमाएको हो । 

दोस्रो इनिङमा दक्षिण अफ्रिकाका ओपनर आइदेन मार्करमले १०६ रन बनाए । यसबाहेक, कप्तान डिन एल्गरले १२ रन थप्दा डेविड बेडिङ्घम र मार्को जान्सेनले समान ११ रन जोडे । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । घरेलु टिमलाई सस्तैमा रोक्न भारतका जसप्रित बुमराहले छ विकेट लिएका थिए । मुकेश कुमारले दुई विकेट लिँदा मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान एक विकेट लिए ।

यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिका ५५ रनमै समेटिएको थियो । भारतले भने पहिलो इनिङमा १५३ रन बनाएको थियो । टेस्ट शृंखलाको पहिलो खेलमा घरेलु टिमले भारतविरुद्ध एक इनिङ र ३२ रनको सहज जित निकालेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस