क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य


१९ पुस २०८०, बिहिबार


लुम्बिनी । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ ।

हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दु चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल-क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले जानकारी दिए । नेपाल भ्रमणका क्रममा बुधबार लुम्बिनी आइपुगेका हिन्दु चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल-क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधिबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष पोखरेल र नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेल तथा हिन्दु चेम्बर अफ कमर्स क्यानडाका तर्फबाट अध्यक्ष नरेश चावडाले समझदारी पत्रमा हस्ताक्षर गरे । यसअघि गत महिना नेपाल चेम्बर अफ कमर्स हङकङका प्रतिनिधिसँग लुम्बिनी चेम्बरका अध्यक्ष पोखरेलले समझदारी गरेका थिए । उक्त समझदारी पत्रमा हङकङ चेम्बरका तर्फबाट सभापति लालबहादुर गुरुङले हस्ताक्षर गरेका थिए ।

तीनवटै चेम्बरसँग भएका समझदारीमा एकअर्काबीच सहकार्य गर्ने, अन्तर्राष्ट्रिय फोरममा लुम्बिनी चेम्बरलाई सहभागी गराउन पहल गर्ने, तालिम, छलफल, गोष्ठी र अन्तर्क्रियालाई नियमित बनाउने, अनुभवको आदानप्रदान गर्ने तथा व्यावसायिक भ्रमण गर्ने समझदारी छ । समझदारीमा लुम्बिनी प्रदेशमा रहेका व्यावसायिक सम्भावनाको प्रवर्द्धनका लागि सहयोग गर्ने सहमतिसमेत भएको छ ।

समझदारीपछि अनुभव आदानप्रदान गर्दै लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष पोखरेलले यहाँ पर्यटन, कृषिलगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको जनाउँदै आफूहरू यहाँको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न इच्छुक रहेको धारणा राखे । कार्यक्रममा उपस्थित लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. कार्यालय लामाले क्यानडाबाट लुम्बिनी भ्रमणमा आएका पाहुनालाई लुम्बिनीको महत्त्व र पर्यटकीय सम्भावनाका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा उपस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका नायब महाप्रबन्धक छवि खनालले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरेर क्यानेडियन पर्यटकलाई लुम्बिनी ल्याउने वातावरण बनाउन आह्वान गरे । क्यानडाका तर्फबाट सहभागी प्रतिनिधिले पनि बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा प्रचुर पर्यटकीय सम्भावना रहेको विश्लेषण गर्दै यसको प्रवर्द्धनका लागि आफूहरू सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए । नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेलले नेपालमा रहेको पर्यटकीय सम्भावनालाई सबै मिलेर प्रवर्द्धन गर्न र लाभ लिन सकिने बताए ।

हिन्दु चेम्बर अफ कमर्स क्यानडाका अध्यक्ष चावडाले लुम्बिनीमा पाएको स्वागत, सत्कार र आतिथ्यताले आफूलाई लोभ लागेको बताए । चेम्बर लुम्बिनीसँगको समझदारीलाई नयाँ उचाइमा पुर्‍याउन आफू तत्पर रहने प्रतिक्रिया दिए । आगामी दिनमा लुम्बिनी क्षेत्रको विस्तृत भ्रमणको कार्यक्रम बनाउने आफूहरूको चाहना रहेको बताउँदै गौतमबुद्ध विमानस्थलमा नियमित उडान भए क्यानेडियन नागरिकलाई सिधै लुम्बिनी भ्रमणका लागि आह्वान गर्न सजिलो हुने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस