पहिचानवादी समूहद्वारा मेची राजमार्ग बन्द « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

पहिचानवादी समूहद्वारा मेची राजमार्ग बन्द


१८ पुस २०८०, बुधबार


काठमाडौँ । कोशी नामकरणको विरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएका छन् ।

‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले बन्दका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै मेची राजमार्गमा यातायात सेवा अवरुद्ध पारेको हो । सङ्घर्ष समितिले ‘बुलेट किराती’ (अन्जेश राई) को रिहाइको माग गर्दै मंगलबार (हिजो) र बुधबार (आज) मेची राजमार्ग बन्दको आह्वान गरेको जनाएको छ ।

सङ्घर्ष समितिले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् । तर निजी तथा साना सवारीहरू सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । सो स्थानमा आन्दोलनकारीहरू बिहानै सडकमा निस्किएर टायर बालेर सवारीसाधन बन्द गराउँदै हिँडेका छन् ।

सवारी साधन नचल्दा यात्रुहरू प्रभावित बनेका छन् । किरातीलाई गत पुष १ गते सङ्घर्ष समितिले आह्वान गरेको यातायात बन्दका क्रममा इलामको मेची राजमार्गको जोर कलश खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आगजनी सम्बन्धी मुद्दा दर्ता गरिएको उनलाई मंगलबार अदालतमा उपस्थित गराएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस