बन्दीपुरको चुनपहरामा चट्टान आरोहण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण


१५ पुस २०८०, आइतबार


तनहुँ । बन्दीपुर गाउँपालिका-४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरू चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ ।

उक्त पहरामा विसं २०६० देखि चट्टान आरोहण सुरु भएको हो । पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन् । त्यही नटबोल्टमा झुन्डिएर आरोहीले चट्टान आरोहण गर्छन् । आन्तरिक एवं बाह्य पर्यटक गरी हालसम्म एक लाखभन्दा बढीले चट्टान आरोहण गरिसकेको बिमलनगर सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए ।

यस पहरामा आरोहणका लागि रु. एक सय शुल्क कायम गरिएको छ । विदेशी तथा स्वदेशी पर्यटकहरू चट्टान आरोहण गर्न यस स्थानमा पुग्ने गर्दछन् । पहरामा अट्ठाइस वटा रुटको व्यवस्था गरिएको बिमलनगर सिद्धगुफा विकास समितिले जनाएको छ । एकै पटकमा अट्ठाइस जनाले चट्टान आरोहण गर्न सक्छन् ।

“यही पुस २० गतेदेखि नेपाली र जापनीज एक एक टोली चट्टान आरोहणका लागि आउने भएको छ”, उनले भनिन्, “नेपाली सेना, सशस्त्र र कमाण्डो तालिम गर्ने बाहेक अन्यलाई शुल्क लिने गरिएको छ ।” पृथ्वी राजमार्ग बिस्तारका क्रममा चुनपहरा भत्काउन लागेपछि पहराको अस्तित्व संकटमा पर्ने देखिएपछि स्थानीयको पहलमा पहरा सुरक्षित गरिएको उनले बताइन् ।

राजमार्ग चार लेनको बनाउँदा पनि चुनपहरालाई कुनै असर नपर्ने गरी व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । मर्स्याङ्दी नदी किनारबाट पर्खाल लगाएर सडकको मापदण्ड पूरा गर्न लागिएको उनको भनाइ छ । “चट्टान आरोहणका लागि प्रशिक्षण स्थल समेत रहेको यस पहरा भत्काएको खण्डमा अहिले भइरहेका साहसिक पर्यटकीय गतिविधि रोकिने हुनाले स्थानीयको पहलमा संरक्षण गरिएको हो”, अध्यक्ष श्रेष्ठले भने ।

यस चुनपहरा बचाउ अभियानका संयोजक समेत रहेका श्रेष्ठले स्थानीयले कुनै पनि हालतमा चुनपहरा बचाउनुपर्ने चाहना राखेर अघि बढेका कारण जोगाउन सफल भएको उनले बताए । “चुनपहरा हाम्रो गहना हो । यो पहरा काटियो भने यसले पर्यटनमा ठूलो असर पर्ने देखियो”, उनले भने “यस पहराले पर्यटनमा दिएको योगदान कम्तिको छैन । पहरा बचाउनको लागि भनेर केन्द्रसम्म धाएर लागेका थियौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस