३५ अर्ब तानेको भोलिपल्टै २० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

३५ अर्ब तानेको भोलिपल्टै २० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक


११ पुस २०८०, बुधबार


काठमाडौँ । बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिचेको भोलिपल्टै नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब तरलता खिच्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार (११ पुस) निक्षेप सङ्कलन उपकरण मार्फत ३५ अर्ब तरलता खिचेको थियो । बुधबारको बोलकबोलमा बैंकहरुले ३५ अर्ब तरलता राष्ट्र बैंकमा राख्न ३८ अर्ब ४० करोड रुपैयाँको बोलकबोल पेश गरेका थिए ।

राष्ट्र बैंकले औसत २.८५९४ प्रतिशत ब्याजदरमा ३५ अर्ब निक्षेप लिएको हो । अधिकतम ३.१२०० प्रतिशत र न्यूनतम २.४९ प्रतिशत ब्याजदरमा बैंकहरुले निक्षेप राख्नु प्रस्ताव गरेका थिए । बुधबार ३५ अर्ब तरलता खिचेपछि पुनः राष्ट्र बैंकले बिहीबार थप २० अर्ब तरलता खिच्न निक्षेप सङ्कलन उपकरण बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दर भन्दा अन्तरबैंक ब्याजदर कम भएपछि राष्ट्र बैंकले रिभर्स रिपो वा निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने गर्दछ ।

७ साउनमा ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले निक्षेप सङ्कलन दर ४.५ प्रतिशत कायम गरेको थियो । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत त्यसलाई घटाएर ३ प्रतिशतमा ल्याएको छ ।

चालु आर्थिक वर्षमा मौद्रिक नीतिमा नै राष्ट्र बैंकले निक्षेप सङ्कलन दरमा बैंकहरुलाई स्थायी निक्षेप सङ्कलन सुविधा दिने बताएको थियो । तर, त्यसको कार्यविधि बनेर कार्यान्वयनमा आउन तेस्रो त्रैमाससम्म लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस