ज्येष्ठ नागरिकको व्यवस्थापनमा थपिएका चुनौतीको सामना गर्न राज्य संवेदनशील हुनु आवश्यक छ :  प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ज्येष्ठ नागरिकको व्यवस्थापनमा थपिएका चुनौतीको सामना गर्न राज्य संवेदनशील हुनु आवश्यक छ :  प्रधानमन्त्री ‘प्रचण्ड’


११ पुस २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको व्यवस्थापनमा थपिएका चुनौतीको सामना गर्न राज्यका सबै निकाय संवेदनशील हुन आवश्यक भएको बताएका छन्। 

३औं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले जेष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न सरकार निरन्तर लागि परेको दाबी गरेका हुन्। 

उनले भने, ‘देशको जनसाङ्‌ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतीहरूको सामना गर्न राज्यका सबै निकायहरू संवेदनशील हुन आवश्यक छ।’ ‘जेष्ठ नागरिकहरूले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय जेष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न सरकार निरन्तर लागिपरेको छ। ’

ज्येष्ठ नागरिकको सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरेको उनको भनाई छ। ‘ज्येष्ठ नागरिकको महत्त्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान  गरेका छन्। सबै ज्येष्ठ नागरिकहरूको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई  राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरेको छ ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्त्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील छ। यसका लागि सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको छ।’

ज्येष्ठ नागरिकलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरू प्रभावकारी देखिँदै आएको उनको दाबी छ। ‘आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्थाहरू सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, जेष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरू प्रभावकारी देखिँदै आएको छ। आगामी दिनमा यस्ता कार्यक्रमहरू थप बिस्तार र गुणस्तरीय बनाउने विश्वास दिलाउन चाहन्छु। ’

दिवसले जेष्ठ नागरिकको सम्पूर्ण अधिकारको सुनिश्चितता र आत्मगौरवको प्रत्याभूतिका लागि परिवार, समाज र राष्ट्रका प्रयासहरूलाई एकीकृत गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी पूरा गरी सभ्यताको निरन्तरता र विकासमा प्रेरणा प्रदान गर्ने  प्रधानमन्त्री प्रचण्डको विश्वास छ।

Tags :
प्रतिक्रिया दिनुहोस