मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष


८ पुस २०८०, आइतबार


काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ ।

२२ मंसिरमा दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।

घटनाबारे छानबिन गर्न भन्सार कार्यालयले बनाएको समितिले गरेको अनुसन्धानका क्रममा मीनबहादुरले दुबईमा रहेका अङ्कित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको चाँजोपाँजो मिलाएका थिए ।

छानबिन समितिले भनेको छ, ‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।’

मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले दुबईबाट सुन लिएर आउने गरेका थिए । एयरपोर्टमा सेटिङ मिलाउन भने डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ ।

एयरपोर्टबाट सुन निकाल्न नागरिक उड्डयन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिको निष्कर्ष छ ।

Tags :
प्रतिक्रिया दिनुहोस