कोरियन भाषा परीक्षामा पर्‍यो अहिलेसम्मकै धेरै आवेदन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कोरियन भाषा परीक्षामा पर्‍यो अहिलेसम्मकै धेरै आवेदन


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ। आज शुक्रबार अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखाले जनाएको छ ।

पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकोमा शुक्रबार बेलुका १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था छ। अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले उल्लेख गरेको छ। तीन वर्षयता अनलाइनमार्फत इपिसको फारम भर्न सकिने सुविधा उपलब्ध भएको हो।

गत साउनमा पानी जहाज निर्माणसम्बन्धी कामको लागि इपिएस परीक्षा भएको थियो। यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यस पटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो। त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णय विरुद्ध गएका थिए। अदालतले सो समय अनुत्तीर्ण भएकाहरूले पनि यस पटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो।

रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ। दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो। यो क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिसकिएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस