दुई वर्षपछि अक्सिजन प्लान्ट सञ्चालनमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई वर्षपछि अक्सिजन प्लान्ट सञ्चालनमा


४ पुस २०८०, बुधबार


काठमाडौँ । संघीय सरकारको अनुदानमा दुई वर्षअघि जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट बल्ल सञ्चालनमा आएको छ । बिजुलीको भोल्टेज कम भएका कारण थन्किएको प्लान्ट विद्युत् प्राधिकरणले १०० केभीको ट्रान्सफर्मर जडान गरेपछि सञ्चालनमा आएको हो ।

कोरोना महामारीका बेला अक्सिजन अभावमा सङ्क्रमितको मृत्यु हुन थालेपछि संघीय सरकारको ७१ लाख रुपैयाँ अनुदानमा ४० लिटरको सिलिन्डर दैनिक ४० देखि ४८ थानसम्म भर्न सकिने क्षमताको अक्सिजन प्लान्ट २०७८ असारमा जडान गरिएको थियो ।

जडानपछि ४-६ पटक मात्र सञ्चालनमा आएर थन्किएपछि प्रभावित भएका जिल्लावासीलाई अहिले राहत भएको छ । घरमै सिलिन्डर जडान गरेका बिरामीलाई खाली सिलिन्डर भर्न बाहिर जान नपर्ने भएको छ भने जिल्ला अस्पतालका खाली सिलिन्डर भर्न समेत नेपालगन्ज जान नपर्ने भएको छ ।

विद्युत्‌को भोल्टेज नपुग्ने र जेनेटरबाट आर्थिक भार थाम्नै नसक्ने भए पछि जडान गरेको झन्डै दुई वर्षपछि मात्र अक्सिजन प्लान्ट सञ्चालनमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

अक्सिजन प्लान्ट सञ्चालनका लागि जेनेटर जडान गरे पनि आर्थिक भार थेग्नै नसक्ने भएपछि ४-६ पटक मात्र सञ्चालनमा आएर रोकिएको थियो । अक्सिजन प्लान्ट नियमित सञ्चालनमा आउँदा अस्पतालमा भर्ना हुन आउने बिरामीको लागि खाली सिलिन्डर भर्न नेपालगन्ज जानुपर्ने बाध्यताको अन्त्य भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस