३३ कंग्रेस सांसद निलम्बित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

३३ कंग्रेस सांसद निलम्बित


२ पुस २०८०, सोमबार


काठमाडौँ । भारतीय राष्ट्रिय कंग्रेसले नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारमाथि संसद् र लोकतन्त्रमाथि आक्रमणको आरोप लगाएको छ । सोमबार लोकसभाका थप ३३ सदस्यलाई निलम्बन गरिएपछि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले मोदी सरकारले संसद् र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहेको बताएका हुन् ।

अध्यक्ष खड्गेले भनेका छन्, ‘पहिला घुसपैठीले संसद्‍मा आक्रमण गरे । त्यसपछि मोदी सरकारले संसद् र लोकतन्त्रमाथि आक्रमण गरिरहेका छन् ।’

यसअघि पनि भारतीय लोकसभाका १३ र राज्यसभाका १ सदस्यलाई शीतकालीन सत्रको बाँकी समयका लागि निलम्बित गरिएको छ । कंग्रेस अध्यक्ष खड्गेले तानाशाही मोदी सरकारले सांसदहरूलाई निलम्बन गरेर सबै लोकतान्त्रिक मूल्य मान्यतालाई डस्टबिनमा फ्याँकिदिएको पनि बताएका छन् । सोमबार निलम्बन हुने सांसदमा कंग्रेस नेता अधीर रञ्जन चौधरीसमेत रहेका छन् ।

कंग्रेस, तृणमूल कंग्रेस, डीएमकेलगायतका विपक्षी सांसदलाई सोमबार संसद्‍मा नाराबाजी र प्लेकार्ड बोकेको आरोपमा निलम्बन गरिएको जनाइएको छ । विपक्षी दलहरूले संसद्‍मा भएको आक्रमणका विषयमा गृहमन्त्री अमित शाहको जवाफ मागिरहेका छन् । कंग्रेसले अब मोदी सरकारले विपक्षीविहीन संसद् चलाउन चाहेकोसमेत आरोप लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस