एआईको प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुन्छु : प्रस्तावित न्यायाधीश ढकाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एआईको प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुन्छु : प्रस्तावित न्यायाधीश ढकाल


२ पुस २०८०, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालले अदालतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताएका छन् । 

आज (सोमवार) संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश ढकालले अदालत व्यवस्थापनको काममा एआईको प्रभावकारिता अनुभव गरिएका दृष्टान्तहरू रहेको उल्लेख गर्दै दीर्घकालीन रूपमा विवेक प्रयोग गर्नुपर्ने र मानवीय उपस्थिति अत्यावश्यक पर्नेमा बाहेक न्याय प्रशासनको अभिन्न पक्षका रूपमा संस्थागत गर्ने स्पष्ट पारे । उनले कोर्टरुम टेक्नोलोजीको प्रयोग गरी मुद्दा व्यवस्थापन, सुनुवाइ र बहस व्यवस्थापन गर्न अहिलेको अवस्थालाई थप सुदृढ पार्ने बताए ।

उनले भने, ‘एआई प्रयोग हुँदै आएको वर्तमान समयमा अदालत व्यवस्थापनको काममा यस प्रविधिको प्रभावकारिता अनुभव गरिएका दृष्टान्तहरू छन् । तसर्थ दीर्घकालीन रूपमा विवेक प्रयोग गर्नुपर्ने र मानवीय उपस्थिति अत्यावश्यक पर्नेमा बाहेक न्याय प्रशासनको अभिन्न पक्षका रूपमा एआईको प्रयोगलाई संस्थागत गर्ने काममा क्रियाशील हुन चाहन्छु ।’

प्रस्तावित न्यायाधीश ढकालले सामाजिक सुरक्षा, समानुपातिक सहभागिता र वातावरणीय स्वच्छतालगायत संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयन गराउने पनि बताए । त्यसैगरी पर्यावरणीय सन्तुलन, उपभोक्ता अधिकारको सम्बोधन एवम् सामाजिक न्याय र समावेशिताजस्ता कुराहरूलाई पनि कार्यान्वयन गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस