सुर्तीजन्य पदार्थ बेच्ने व्यापारीलाई महानगरले तिरायो १० हजार जरिवाना « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुर्तीजन्य पदार्थ बेच्ने व्यापारीलाई महानगरले तिरायो १० हजार जरिवाना


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । प्रतिबन्धित सुर्तीजन्य पदार्थ विराटनगर बजारमा बिक्री वितरण गर्दै हिँडेको भेटिएपछि एक व्यापारीलाई महानगरले १० हजार रुपैयाँ जरिवाना गरेको छ।

विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने अशोकलाल श्रीवास्तवले साइकलमा राखेर विराटनगरको बजार क्षेत्रमा बिक्री वितरण गर्दै हिँडेको महानगरको टोलीले भेट्टाएपछि उनलाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो।

महानगरको टोलीले यसअघि पनि श्रीवास्तवलाई बजार क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको फेला परेकाले सम्झाईबुझाई छाडेको थियो तर पटक-पटक महानगरको निर्णयलाई अटेर गरेपछि विराटनगर महानगरपालिकाको सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन २०८० अनुसार १० हजार रुपैयाँ जरिवाना तिराएको विराटनगर महानगरपालिका नगर प्रहरीले  निरीक्षक राजन पौडेलले जानकारी दिए। 

महानगरले श्रीवास्तवलाई काटेको यो १० हजार रुपैयाँ जरिवाना पहिलो रहेको महानगरले जनाएको छ।

विराटनगर महानगरले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेसँगै महानगरको टोली अहिले पसल पसलमा पुगेर छापा मार्न थालेको हो। 

गत साउन १ गतेदेखि विराटनगर महानगर क्षेत्रका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा रोक लगाएको थियो।

गत १ वैशाखमा महानगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण निषेध गर्ने निर्णय गरेको थियो। 

सोहीअनुसार महानगरले विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको थियो।

सुर्तीजन्य पदार्थको सार्वजनिक स्थलमा बिक्री वितरण नगर्न सबै सङ्घसंस्था, विराटनगरवासीले साथ सहयोग गरिदिन महानगरले आग्रह गरेको छ।

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्न सुरु गरेको हो। 

चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले महानगर यशविरुद्ध कठोर रूपमा उत्रिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस