झण्डै ८ किलो सुनसहित पक्राउ परेकालाई हुण्डी कारोबारको मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

झण्डै ८ किलो सुनसहित पक्राउ परेकालाई हुण्डी कारोबारको मुद्दा


२० मंसिर २०८०, बुधबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ। न्यूरोडमा झण्डै ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेलाई प्रहरीले हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको छ ।

जिल्ला अदालत, काठमाडौँले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार अनुसन्धानका लागि ७ दिनलाई हिरासतमा राख्न अनुमति दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

प्रहरीले मङ्गलवार राति ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो ।

पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो ।

केही सुन बिस्कुट आकारमा छन् भने केही गहना समेत प्रहरीले बरामद गरेको बताइएको छ । सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।

यी तस्करी प्रकरणहरूबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ ।

समितिले अहिले यसअघिका सुन प्रकरणमा मुछिएकाहरूलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस