‘प्रचण्ड’को दाबी : वन ऐन संशोधनपछि ठूलो क्रान्ति हुन्छ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘प्रचण्ड’को दाबी : वन ऐन संशोधनपछि ठूलो क्रान्ति हुन्छ


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले गरेको राम्रो कामलाई पार्टी सङ्गठनले नै राम्रो भन्न नसकेको गुनासो गरेका छन् ।

पार्टीको नयाँ वेबसाइट सार्वजनिक गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारको तर्फबाट इमानदार प्रयत्न भइरहेको बताए । पछिल्लो पटक नेपाल संम्बतबारे गरेको निर्णयलाई उपत्यकाको नेवार समुदायले राम्रो मानेको भन्दै उनले भने, ‘अरूले राम्रो भनेका छन्, बधाई दिएका छन् । तर हाम्रै संयन्त्र चाहिँ कताकता राम्रो भन्न तयार भएको देखिँदैन ।’

आत्मविश्वासका साथ सरकारले गरेको कामको पक्षमा उभिन उनले नेता कार्यकर्तालाई आग्रह गरे । आइतबार मात्र आफूले सुकुम्वासी समस्या समाधानका लागि एक साताभित्र ऐन संशोधन गर्ने निर्णय गरेको उनले सुनाए । वन ऐन पनि संशोधन गर्ने निर्णय भएको भन्दै उनले त्यसपछि सुकुम्वासी समस्या समाधान हुने दाबी गरे ।

स्कुलको अगाडि रहेको रुख ढलेर विद्यार्थीको मृत्यु भयो, तर रुख काट्न वनले अनुमति नदिएको भन्दै उनले भने, ‘त्यसलाई बदल्ने भनेर हामीले निर्णय गरेका छौँ । त्यो ऐन संशोधनपछि लालपुर्जा वितरण वा वनले रोकेको विकास निर्माणका काम हुन्छ । त्यो खुल्नेवित्तिकै ठूलो क्रान्ति हुन्छ भन्ने मेरो विश्वास छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस