टिकटक : यसका सकारात्मक तथा नकारात्मक प्रभावहरू « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टिकटक : यसका सकारात्मक तथा नकारात्मक प्रभावहरू


३ मंसिर २०८०, आइतबार


विषय प्रवेश:
आजको युग विश्वव्यापीकरण, उदारीकरण, विविधीकरण, बजारीकरणको युग हो । विश्वव्यापीकरण प्रमुख पाच पक्ष मध्य प्रविधि एक पक्ष हो । विश्वमा प्रविधिको विकास र विस्तार सँगै सामाजिक सञ्जालको प्रयोगमा वृद्धि भएको देखिन्छ । सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट विश्वका सम्पूर्ण व्यक्ति, सङ्घ संस्था तथा मुलुकहरूलाई एक आपसमा जोडने वेव पेज तथा एप्लिकेसनहरूलाई सामाजिक सञ्जाल भन्ने गरिन्छ । विश्वका मुलुकहरू आर्थिक, सामाजिक सांस्कृतिक, राजनैतिक पारस्परिक निर्भरता सम्बन्ध कायम सामाजिक सञ्जालले गर्दछ । सामाजिक सञ्जाल अन्तरगत फेसबुक, ट्वीटर, टिकटक, इन्टाग्राम, ह्वाट्सएप, इमो आदि पर्दछन् ।  

टिक-टक
लिप-सिङ्क(ओठ समक्रमण), सुखान्त, मनोरञ्जन तथा प्रतिभा सङ्ग्रहित भिडियोहरू सम्पादन, प्रकाशन गर्न मिल्ने सामाजिक सञ्जाल नै टिक-टक हो ।प्रख्यात चिनियाँ भिडियो साझेदारी गर्ने सामाजिक सञ्जाल सेवा हो जुन जुजि थाआदोङ (बाइटडान्सः अनुवादित शीर्षक) नामक चिनियाँ प्रविधि कम्पनिको स्वामित्वमा रहेको छ । चीनको राजधानी बेइजिङमा मुख्यालय रहेको यस सेवाको स्थापना सन २०१२ मा झाङ यिमिङले गरेका थिए । यसको आधिकारिक अनुप्रयोग सन २०१७ सेप्टेम्बर मा आयओएस र एन्ड्रोइडको लागि चीन बाहिरका बजारहरूको लागि सुरु गरिएको थियो । बाइटडान्सले यस अधि २०१६ सेप्टेम्बर २० मा चिनियाँ बजारका लागि दोउयिन(टिक-टक) सुरु गरेको थियो। टिक-टक र दोउयिन  समान छन तर चिनियाँ इन्टरनेट नियन्त्रण विधि प्रतिबन्धहरूलाई पालना गर्न छुट्टा छुट्टै सेवकहरूमा सञ्चालित छन। अनुप्रयोगले ३ लेखि १५ सेकेन्ड सम्मको श्रव्य दृश्य सार्वजनिक गर्न अनुमति दिन्छ भने यसले छोटो दोहोरिँदो भिडियोको लम्बाइलाई ३ देखि ३० सेकेन्ड सम्ममा सीमित गरेको छ । टिक-टक प्राय विश्वका सम्पूर्ण भू-भागमा लोकप्रिय बन्न सफल भएको छ ।

टिक-टकको सफलता:
·        सन २०१८ अक्टोबरमा टिक-टक अमेरिकामा सर्वाधिक डाउनलोड गरिएको अनुप्रयोग बन्न सफल भएको थियो, उक्त सफलता प्राप्त गर्ने यो पहिलो चिनियाँ अनुप्रयोग हो ।

·        सन २०१८ मा यो विभिन्न देशका १८० भन्दा बढी बजारहरूमा र ८५ भाषामा उपलब्ध गएको थियो ।

·        सन २०१९ फ्रेब्रुअरीमा देउयिन सहित टिकटकले चीनमा एन्ड्रोइड स्थापनाहरू बाहेक विश्वव्यापी रूपमा एक अरब डाउनलोड पार गरेको थियो ।

·        सन २०१९ मा टिकटकले सन २०१० देखि २०१९ सम्मको दशकको ७औँ सर्वाधिक डाउनलोड गरिएको मोबाइल अनुप्रयोग बनेको घोषणा गरेको थियो ।

·        सन २०२३ मा आइपुग्दा टिक-टक प्रयोगकर्ता १५० करोड जनसङ्ख्या पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६% बढेको देखिन्छ ।

टिकटक लाई प्रतिबन्ध गरेका केही मुलुकहरुः
टिकटक विश्वभरि धेरै प्रख्यात र प्रचलनमा आएको सामाजिक सञ्जाल हो । यसले लुकेका प्रतिभाको उजागर, मनोरञ्जन, व्यापार प्रवर्धन गरी लोकप्रिय बन्दै गएको देखिन्छ । यद्यपि विश्वका केही मुलुकहरूले यसलाई प्रतिबन्ध समेत गरेको छ।

·        इन्डोनेसिया: सन २०१८ जुलाइ ३ मा टिकटकलाई इन्डोनेसियामा प्रतिबन्ध गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसमा धेरै नराम्रा सामग्री रहेको जसले समाजमा हानि गर्ने भन्दै प्रतिबन्ध गरेको थियो ।

·        भारत: सन २०१९ अप्रिल ३ मा पद्रास उच्च न्यायालयले एक जनहितकारी कानुनको सुनुवाइमा भारत सरकारलाई यसले अश्लील सामग्रीलाई प्रोत्साहन गरेको भन्दै अनुप्रयोग प्रतिबन्ध गर्न आग्रह गरेको थियो ।  भारतको सम्प्रभुता र सुरक्षाको निम्ति खतरा भएको भन्दै चीनसँग सम्बन्धित चिनियाँ कम्पनीको स्वामित्वमा रहेका विभिन्न ५८ वटा अनुप्रयोगहरूलाई प्रतिबन्ध गरेको थियो ।

·        अमेरिकाः सन् २०१९ डिसेम्बर १७ मा अमेरिकी नैसेनानी मोबाइल उपकरणहरूमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

·        अफगानस्थानः अफगानस्थानका तालिबानले इस्लामिक कानुनसँग मेल नखाएको भन्दै सन २०२२ अप्रिलमा टिकटक प्रतिबन्ध लगाएको थियो ।

·        अस्ट्रेलियाः अस्ट्रेलिया गृह विभागले उठाएको सुरक्षा चिन्तालाई उद्धत गर्दै संघीय सरकारको स्वामित्वमा रहेका सबै उपरकणहरुमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो।

·        बेल्जियम: बेल्जियम सरकारी अधिकारीहरूको काममा प्रयोग हुने फोनबाट टिकटकलाई प्रतिबन्ध लगाइएको थियो ।

·        क्यानडा क्यानडाले यस वर्षको फ्रेब्रुअरीमा सबै सरकारी मोबाइल उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाएको थियो ।

·        न्युजिल्याण्डः न्यूजिल्याण्डको संसदले सबै कर्मचारीका उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाएको थियो ।

·        डेनमार्क डेनमार्क रक्षा मन्त्रालयले गत मार्चमा कर्मचारीहरूको कामा प्रयोग हुने उपकरणहरूमा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लगाएको थियो

टिकटक माथि प्रतिबन्ध लगाएका अधिकांश देशले राष्ट्रिय सुरक्षा, गोपनीयता, अश्लील सामग्री प्रदशण, चोरी लगायतका कारण मानेका छन ।

नेपालमा टिक-टक
नेपालका करिब तीन करोड जनसङ्ख्या मध्ये करिव २२ लाख जनसङ्ख्याले टिकटक प्रयोग गरेको  पाइन्छ । विगतका ४ वर्षमा १६०० वटा मुद्दा टिकटक सँग सम्बन्धित साइबर अपराध दर्ता भएको देखिन्छ । नेपालमा टिकटकको गलत प्रयोग, सामाजिक सद्भाव बिग्रिएको, अश्लील सामग्री प्रदर्शनमा वृद्धि भएकोले नेपाल सरकार मन्त्रिपरिषद्ले २०८० कार्तिक २७ गतेको निर्णयले टिकटक माथि पूर्ण प्रतिबन्ध लगाएको हो । यस अघि पनि गृह मन्त्रालयले २०८०/०२/१९ सम्पूर्ण निकायमा पत्राचार गरी कार्यालय समयमा कार्यालय परिसर भित्र कर्मचारी पोशाकमा भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्न, सरकारी सवारी साधन प्रयोग गरी टिकटक सामग्री खिचेर सामाजिक सञ्जालमा नराख्न भनी परिपत्र समेत गरेको थियो ।

नेपालमा टिकटकले पारेको सकारात्मक प्रभाव
नेपाल सरकारले टिकटक प्रतिबन्ध गरेता पनि नेपाली समाजमा यसले पुर्‍याएको योगदान, सकारात्मक प्रभाव, फाइदाहरू निम्न अनुसार रहेका छन्-

·        नयाँ किसिमका रोजगारीको सृजना भएको छ ।

·        वैदेशिक मुद्रा अर्जन भएको छ ।

·        भौगोलिक विकटताले पिछडिएका स्थानको पहिचान भएको छ ।

·        लुकेका प्रतिभाहरूलाई विश्वसामु उजागर गरेको छ ।

·        व्यापार व्यवसायको सहज रूपले विज्ञापन भएका छन ।

·        नयाँ अवशर/खोजको सृजना,

·        जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन,

·        विश्व एक गाउँको रूपमा रूपान्तरण भएको छ।

·        विश्वव्यापीकरण सहयोग भएको छ ।

·        सामाजिक अभियानहरू सञ्चालन भएका छन ।

नकारात्मक प्रभावहरु
·        साइबर अपराधमा वृद्धि भएको छ

·        सामाजिक सांस्कृतिक पक्षमा असर पारेको देखिन्छ ।

·        चोरी, चारित्रिक हत्या जस्ता घटना बडेका छन ।

·        कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको सार्वजनिक तथा त्यसको दुरुपयोग भएका छन ।

·        राष्ट्रिय शान्ति सुरक्षामा  गम्भीर प्रश्न उठेको छ ।

·        निरन्तर प्रयोगले मानवीय स्वास्थ्य जोखिम बडेको देखिन्छ ।

·        अश्लील सामग्रीको प्रदर्शन हुने गरेको पाइएको छ ।

·        निजामती कर्मचारी तथा राष्ट्रसेवक कर्मचारीले यसको अधिक प्रयोगबाट सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती भएको देखिन्छ ।

·        सुशासनको अवधारणालाई प्रतिकुल असर पारेको देखिन्छ ।

अन्त्यमा
कुनै पनि विषयमा समस्या देखा परेमा त्यो विषयलाई अन्त्य गरिनुभन्दा त्यसमा रहेका समस्याहरूको पहिचान गरी समाधानतर्फ जानु उत्तम उपाय हो । नेपालमा टिकटकले जन्माएको नकारात्मक असरलाई पहिचान गरी त्यसको विभिन्न विधि, पद्धतिबाट समाधान गरी त्यस्तो नकारात्मक पक्षलाई सकारात्मक पक्षमा रूपान्तरण गरी सूचना प्रविधियुक्त राष्ट्रको रूपमा विकास गर्नु आजको आवश्यकता हो ।

Tags :
प्रतिक्रिया दिनुहोस