शैलुङ घुम्ने विदेशी पर्यटकको संख्या बढ्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शैलुङ घुम्ने विदेशी पर्यटकको संख्या बढ्दै


२ मंसिर २०८०, शनिबार


रामेछाप । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ ।

रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङ घुम्न केही वर्ष यतादेखि बाह्रै महिना पर्यटकहरू आउने गरेका छन् । वर्षा याममा भन्दा हिउँदमा शैलुङबाट रमणीय दृश्यावलोकन गर्न पाइने भएको कारण शैलुङ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्धन समितिका अध्यक्ष दावासङ्बु शेर्पाका अनुसार गएको हिउँददेखि यस पटकको दशैँ तिहारसम्म करिब ५० हजार पर्यटक शैलुङ घुम्न आएका छन् ।

यो वर्ष पर्यटकको संख्या दोब्बर हुने अनुमान शेर्पाको छ । उनले होमस्टे सधैँ नै भरिने गरेको सुनाए ।

‘आज पनि शैलुङका सबै होमस्टे प्याक छन् । तीज, दशैँ, हिउँदमा हिउँ परेको बेला तथा नयाँ वर्षमा मानिसहरूको ठुलो भिड लाग्ने गर्दछ । त्यति बेला त मेला जस्तै हुन्छ, टेक्ने ठाउँ हुँदैन’, शेर्पाले भने ।

सुन्दर हिमालको दृश्यावलोकनका साथै हिउँ खेल्न र चौँरी हेर्न पर्यटकहरू शैलुङ पुग्ने गर्दछन् । चैत–वैशाखमा फुल्ने विभिन्न थरिका गुराँसले शैलुङलाई मनमोहक बनाउने गर्दछ । त्यस्तै वर्षामा फुल्ने विभिन्न जातका भुईँ फूलले पर्यटकलाई त्यतिकै लोभ्याउँछ । यस बाहेक हिन्दु र बौद्धधर्मालम्बीहरु शैलुङको धार्मिक यात्रामा जाने गर्दछन् । शैलुङलाई यी दुवै धर्मावलम्बीले तपोभूमिको रूपमा लिने गर्दछन् ।

शैलुङसम्म पुग्ने सडक निर्माण र प्रचार बढ्दै गएपछि पर्यटक बढेका छन् । अहिले शैलुङमा नेपालका अधिकांश भागका साथै विदेशी पर्यटक पनि आउन लागेका शेर्पाले बताए ।

‘विदेशी पनि बाक्लै आउँछन्, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे लगायतका जिल्लाबाट आउनेको संख्या अधिक छ । तराई र इण्डियाबाट पनि मानिस आउँछन्’, शेर्पाले भने ।

सय लुङ अर्थात् सय वटा थुम्काबाट शैलुङको नामाकरण भएको हो । प्राकृतिक रूपमा उत्पत्ति भएका एक सय भन्दा बढी थुम्का शैलुङमा छन । थुम्काहरूमा गलैँचा ओछ्याएझैँ दुबोले ढाकाको छ । हिउँदमा ती थुम्कालाई हिउँले ढाक्दा अझ मनोरम देखिन्छ ।

समुन्द्री सतहदेखि ३३ सय मिटर उचाइमा रहेको शैलुङमा सधैँ चिसो हुन्छ । हिउँदमा हिउँ पर्ने शैलुङमा बर्खामा पनि चिसो हावा चल्छ । त्यही चिसो मौसममा चौँरी चरेको दृश्य निक्कै मनमोहक देखिन्छ ।

अहिले शैलुङजान काठमाडौँबाट बीपी मार्गको नेपालथोक वा सित्खा हुँदै छिर्ने छोटो बाटो छ । रामेछापको सदरमुकाम मन्थली वा सिन्धुपाल्चोकको मुढे बजारबाट घुमेर आउने बाटो पनि छ ।

Tags :
प्रतिक्रिया दिनुहोस