सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने


२८ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ ।

चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक मुलुक हो । उसले आफ्नो विद्यमान २०६० लक्ष्यको तुलनामा धेरै नै महत्त्वाकाङ्क्षी कार्बन तटस्थताको लक्ष्यको मागलाई पन्छाएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले सन् २०२३ र सन् २०५० को बीचमा विद्यमान जीवाश्म इन्धन सम्पत्तिहरूबाट वैश्विक उत्सर्जनको ४५ प्रतिशत हिस्सा चीनको हुने अनुमान गरिएको बताएको छ ।

बेलायतस्थित जलवायु साइट कार्बन ब्रिफले सोमबार जारी गरेको विश्लेषणमा चीनले पनि नवीकरणीय ऊर्जा क्षमतालाई अत्यन्त तीव्रताका साथ स्थापना गरिरहेको बताइएको छ । चीन एक्लैले सन् २०२३ मा स्थापना गरेको नयाँ सौर्य ऊर्जाको मात्रा अमेरिकामा पूरै स्थापित क्षमताभन्दा दुई गुणा छ ।

“सन् २०२३ मा स्थापना गरिएको नयाँ सौर्य ऊर्जा, वायु ऊर्जा, जलविद्युत् र आणविक क्षमताले मात्र प्रतिवर्ष अनुमानित ४२३ टेरावाट घन्टा (टीडब्लूएच) उत्पन्न हुनेछ, जुन फ्रान्सको कूल विद्युत् खपतको बराबर हो,” सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरको लौरी माइलीभिर्ताको प्रतिवेदनमा भनिएको छ ।

नवीकरणीय ऊर्जा स्थापनामा ठूलो मात्रामा बढोत्तरी र खडेरी कम कम हुँदै जाँदा जलाशय फेरि भरिएका कारण जलविद्युत्मा अनुमानित वृद्धिले सन् २०२४ मा जीवाश्म–इन्धन बिद्युत् उत्पादन र कार्बनडाइअक्साइडको उत्सर्जनलाई कम गर्ने प्रत्याभूति गरेको प्रतिवेदनमा उल्लेख छ ।

तर, चीनले आफ्नो कोइला शक्ति क्षमताको विस्तारलाई जारी राखेको छ । यसले चीनको परम्परागत र नयाँ उदीयमान स्वार्थ समूहहरूबीचको द्वन्द्वका लागि स्थिति तयार गरिरहेको प्रतिवेदनले चेतावनी दिएको छ ।

नवीकरणीय ऊर्जाको वृद्धिले कोइला उद्योग र स्थानीय सरकारहरूको हितलाई उच्च जोखिममा पार्ने कार्बन ब्रिफले बताएको छ । “यी सरोकारहरूले सम्भावित अवरोध गर्न सक्ने चिन्ता बढाएको छ, जसको प्रतिरोध गर्ने अपेक्षा गर्न सकिन्छ,” कार्बन ब्रिफले भनेको छ ।

चिनियाँ र अमेरिकी जलवायु अधिकारीहरूले यसै महिना हुने कोप–२८ सम्मेलनमा वार्ता गर्न यसै साताको सुरुमा भेट गरेका थिए । भेटमा दुवै पक्षले रचनात्मक वार्ता भएको भन्दै प्रशंसा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस