मुख्यमन्त्री पाण्डे र सीपीसीका सचिवबीच तिब्बती नाका, पोखरा विमानस्थलबारे छलफल « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

मुख्यमन्त्री पाण्डे र सीपीसीका सचिवबीच तिब्बती नाका, पोखरा विमानस्थलबारे छलफल


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखाको तिब्बती नाका नियमित सञ्चालन गरी प्रदेशवासीको दैनिकीलाई सहज बनाउन सहयोग गरिदिन अनुरोध गरेका छन् । कोरोला नाकामा नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन, कोरोला-पोखरा जोड्ने दुई लेनको द्रुतमार्ग निर्माण, तनहुँमा सय शय्याको अस्पताल निर्माणमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पाण्डेले सीपीसीका सचिव वाङलाई जानकारी गराए ।

तिब्बतसँगको सम्बन्ध अहिले मात्र नभई इतिहासदेखि प्रगाढ रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले भृकुटीले स्थापित गरेको नेपाल–तिब्बत सम्बन्धको स्मरण गरे । १२ औँ शताब्दीतिर अरनिकोले नेपाल-चीनको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउँदै उनले भने, ‘घनिष्ठ र हार्दपूर्ण सम्बन्ध कायम राख्दै उत्कृष्ट द्विपक्षीय सम्बन्धलाई सदियौँदेखि निरन्तरता दिइरहने मित्र राष्ट्र नेपाल र चीन पनि हो ।’

भेटमा सीपीसीका सचिव वाङले कोरोला नाका कात्तिक २७ गतेदेखि खोल्ने योजना रहेको बताए । उनले पोखरा विमानस्थलमा चीनको शहरबाट सिधा उडान गर्ने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै प्राविधिक टिमलाई यसबारे अध्ययन गर्न पठाउने जनाए । गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताउँदै सचिव वाङले मुख्यमन्त्री पाण्डेलाई चीन र तिब्बतको भ्रमणको निम्तो दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस