जाजरकोट पुगेर कार्यालयका प्रमुखहरूलाई मन्त्रीहरूले भने- ‘पीडितहरूलाई सरकारको आभास होस्’ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जाजरकोट पुगेर कार्यालयका प्रमुखहरूलाई मन्त्रीहरूले भने- ‘पीडितहरूलाई सरकारको आभास होस्’


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । जाजरकोट भूकम्पबाट पीडितहरूलाई राहत र घाइतेको उपचार व्यवस्थापन गर्न सदरमुकाम खलङ्गा पुगेका संघीय सरकारका मन्त्रीहरूले पीडितहरूले सरकारको अभिभावकत्व महसुस गर्ने गरी राहत र उपचारको व्यवस्थापन गर्न निर्देशन दिएका छन् । जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँग ब्रिफिङ र निर्देशन दिनेक्रममा मन्त्रीहरूले पीडितको गाँस, बास, आवास र उपचारमा कुनै कमजोरी हुन नदिन निर्देशन दिए ।

भूकम्पपछिको राहत तथा उपचार व्यवस्थापनको अनुगमन र प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत खलङ्गा पुगेका छन् । जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुखहरूसँगको छलफलमा उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले पीडितहरूलाई खाना, आवास र लत्ता कपडाको यथोचित प्रबन्ध गर्न निर्देशन दिए ।

उनले सरकारकातर्फ पीडितहरूलाई त्रिपाल, म्याट्रेस र खानेबस्ने व्यवस्था गर्न निर्देशन दिए । त्यसक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले घाइतेहरूको उपचारका लागि उपयुक्त व्यवस्था गर्न निर्देशन दिएका छन् भने भौतिक योजनामन्त्री प्रकाश ज्वालाले जिल्लाको सडक, पुललगायत भौतिक पूर्वाधारको सञ्चालनको अवस्थाबारे जानकारी लिँदै यथाशीघ्र सुचारु गर्न निर्देशन दिएका छन् ।

सो क्रममा भूकम्पपछि जिल्लाको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले ब्रिफिङ गरेका थिए । उनका अनुसार शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ३ हजार ६ सय ५० घरमा क्षति पुगेको छ भने १०५ जनाको ज्यान गएको छ ।

मानवीय हिसाबले नलगाड नगरपालिकामा सबैभन्दा धेरै क्षति पुगेका पाइएको छ भने भेरी नगरपालिकामा सबैभन्दा धेरै भौतिक क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार भेरी नगरपालिकामा मात्रै ३४४ वटा घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । भने नलगाडमा मात्रै ५५ जनाको मृत्यु भएको छ ।

त्यस्तै, मृत्यु हुनेमध्ये भेरी नगरपालिकाका ३८, छेडागाड नगरपालिकामा १, कुशे गाउँपालिकामा ७ र बारेकोट गाउँपालिकाका ४ जना छन् ।

त्यस्तै, भौतिक क्षतिका हिसाबले नलगाड नगरपालिकामा २०० घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् भने छेडागाड नगरपालिकामा १००, कुशे गाउँपालिकामा ९५, बारेकोट गाउँपालिकामा १६०, शिवालय गाउँपालिकामा १ र जुनिचाँदे गाउँपालिकामा ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस