मध्यपहाडी केन्द्रित अभियान अन्तर्गत झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ओली आफैँ खट्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मध्यपहाडी केन्द्रित अभियान अन्तर्गत झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ओली आफैँ खट्ने


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । पार्टी सुदृढीकरण अभियान चलाइरहेको नेकपा एमालेले मध्यपहाडी राजमार्गकेन्द्रित अभियानको तयारी थालेको छ ।

भदौमा सिरहामा बसेको सचिवालयको बैठकको निर्णयअनुसार एमालेले मंसिरमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियान चलाउने भएको हो ।

अभियानको बाटो अवलोकनका लागि दुई उपमहासचिव अहिले खटिएका छन् । उनीहरूले जिल्ला-जिल्ला पुगेर त्यहाँको पार्टी नेतृत्व, जनवर्गीय सङ्गठनसँग अन्तरक्रिया र सुझावसमेत सङ्कलन गर्नेछन् । अहिले उपमहासचिव प्रदीप ज्ञवाली पाँचथरको चिवाभञ्ज्याङ पुगेका छन् । सो भूमि पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु र नेपाल तथा भारतको सिक्किम राज्यको सिमाना पनि हो ।

अर्का उपमहासचिव विष्णु रिमाल भारतसँगको सीमा नाका बैतडीको झुलाघाट नाका पुगेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बैतडीको झुलाघाट नाकाबाट अभियानको थालनी गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार अहिलेसम्म अभियानको मिति भने घोषणा भइरहेको छैन ।

उनले भने, ‘अब अभियानको मिति केन्द्रीय कमिटीको बैठकले घोषणा गर्छ । त्यसअघि यही २२र२३ गते सचिवालयको बैठक बस्छ । सचिवालय बैठकले केन्द्रीय कमिटीमा प्रस्ताव लैजान्छ । सोहीअनुसार त्यो बैठकको अभियानको घोषणा गर्छ ।’

केन्द्रीय कमिटीको बैठक मंसिर दोस्रो सातामा बस्ने तयारी रहेको उनले बताए । अभियान बैतडीको झुलाघाटबाट सुरु हुने उनको भनाइ छ ।

एमालेले गत मंसिरको निर्वाचन लगत्तै मिसन ०८४ लाई केन्द्रमा राखेर पार्टी सङ्गठनलाई सक्रिय बनाएको छ । यसअघि गत फागुनदेखि तीन महिने मिसन ग्रासरूट अभियान चलाएको थियो । पार्टी अध्यक्ष ओलीले ०८४ मा पार्टीले एकल बहुमत ल्याउनुपर्ने भन्दै पार्टीपंक्तिलाई सोही अनुसार खट्न निर्देशन समेत दिइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस