कञ्चनजङ्घा क्षेत्रमा बढ्न थाले पदयात्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कञ्चनजङ्घा क्षेत्रमा बढ्न थाले पदयात्री


११ कार्तिक २०८०, शनिबार


काठमाडौँ । दसैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दसैँ तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो ।

गत साता ईशा लिम्बू ताप्लेजुङको सदरमुकामदेखि कञ्चनजङ्घा क्षेत्र आइन् । प्राकृतिक सुन्दरताको आनन्द लिदै हिमालको दृश्य अवलोकन गर्नका लागि उनी धरानदेखि कञ्चनजङ्घा क्षेत्र आएकी हुन् ।

स्नातक तहमा अध्ययनरत उनले भनिन्, ‘दसैँ तिहारका लागि स्कुल बिदाको समयमा यस क्षेत्रमा घुम्न आएको हो । बिदाको समयमा कञ्चनजङ्घा क्षेत्रमा घुम्न आएको हुँ ।’ लिम्बूसँगै धरान, झापा, पाँचथर जिल्लाबाट १६ आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्रमा रहेको कुम्भर्कण (फक्ताङलुङ) क्षेत्रको अवलोकन गर्न आएका थिए ।

सन्तकुमार नेम्बाङले यस वर्षको दसैँ हिमालतिरै बिताए । फूलपातीको दिन ताप्लेजुङको सदरमुकामदेखि लिम्बुको टोली कञ्चनजङ्घा क्षेत्र प्रवेश गरेको थियो । लिम्बूको टोलीले कञ्चनजङ्घा क्षेत्रमा १० दिनसम्म घुमघाम गर्ने योजना बनाएर दसैँको समय परेर पाँचथर जिल्लाबाट कञ्चनजङ्घा क्षेत्र आएको लिम्बूले बताए । ग्रिस्टोन माउन्टेन कम्पनी काठमाडौँबाट १७ जान बाह्य पर्यटक लिएर गाइड धनकुमार राई गत टीकाको दिन कञ्चनजङ्घा प्रवेश गरेका थिए । अहिले उनीहरू कञ्चनजङ्घा आधार शिविर क्षेत्रतिर छन् ।

घुमघामका लागि आन्तरिक तथा बाह्य पर्यटकका लागि कञ्चनजङ्घा क्षेत्र रोजाइमा पर्दै गएको छ । दसैँको समयमा कञ्चनजङ्घा क्षेत्रमा बाह्य पर्यटकको चहलपहल भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजङ्घा कञ्चनजङ्घा प्रवेशद्वारमा अवस्थित घुन्साका होटेल व्यवसायी पेमा शेर्पाले बताए । विश्वको तेस्रो कञ्चनजङ्घा हिमाल प्रवेशद्वार घुन्सा बस्तीमा पर्यटकको चहलपहल बढ्दै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय घुन्सा चेकपोष्टका पर्यटन सहायक टासी तेन्जिङले बताए ।

बाह्य पर्यटकले घुन्सा चेकपोष्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नु पर्छ । तर आन्तरिक पर्यटकले भने आफ्नो विवरण दर्ता गर्नु पर्दैन, त्यसैले कञ्चनजङ्घा क्षेत्रमा कति आन्तरिक पर्यटकले अवलोकन गरे भन्न तथ्याङ्क अहिलेसम्म कसैसँग छैन । तर प्रत्येक वर्ष कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटकको पनि आगमन बढ्दै गएको पर्यटन व्यवसायीको भनाइ छ ।

घुन्सा चेकपोष्टका तथ्याङ्कअनुसार असोजयता अमेरिका, क्यानडा, कोरिया, जापान, फ्रान्स, जर्मनी, अस्टेलियालगायतका देशबाट ३५० जना बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्रमा अवलोकन गर्न पुगेका छन् । असोज, कात्तिक र मङ्सिर गरी तीन महिना यस क्षेत्रमा पर्यटक आउने गर्दछन् ।

विश्वको अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा अवलोकन गर्न आउने बाह्य पर्यटकको चहलपहल सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएको उनले बताए । मौसम खुलेपछि कञ्चनजङ्घा हिमशृङ्खला टाढैबाट मनमोहक देखिन थालेको छ । बेसक्याम्प क्षेत्र झनै सुन्दर छ । हिमाली क्षेत्रको पदयात्रा गर्ने याम सुरु भएसँगै यो क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोनाको प्रकोप हुनुपूर्व बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा हरेक वर्ष बढोत्तरी हुँदै गएको थियो । कोरोनाकालका केही वर्षपछि यो याममा ठूलो सङ्ख्यामा पर्यटक आइपुग्ने अपेक्षा गरिएको घुन्साका पर्यटन व्यावसायिक पेमा शेर्पा बताउँछन् ।

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासँगै अन्य हिमशृङ्खला, हिमाली जनजीवन, यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ । सुन्दर र उपयुक्त गन्तव्य हुँदाहुँदै पनि कम प्राथमिकतामा परेको कञ्चनजङ्घा अबको महत्त्वपूर्ण गन्तव्य हुने देखिन्छ ।

‘घुम्न आउने सिजन सुरु भएको छ । कोरोना महामारीपछि योपल्ट धेरै पर्यटक आउने अपेक्षा स्थानीयको छ । आन्तरिक र केही विदेशी पर्यटक आउन थाल्नुभएको छ’, घुन्साका पर्यटन व्यवसायी धर्के शेर्पाले भने, ‘करिब १८–१९ दिनमा सर्किट नै पूरा गर्न सकिन्छ । घुम्ने अत्यधिक ठाउँ भएकाले यहाँ आउने पर्यटक निकै रमाउनु हुन्छ ।’

पदयात्राका लागि यो क्षेत्र निकै महत्त्वपूर्ण र रोचक रहेको छ । कञ्चनजङ्घाका उत्तरी र दक्षिणी बेसक्याम्प, फक्ताङ्लुङ हिमाल यहाँको अत्यन्त महत्पूर्ण क्षेत्र हो । प्राकृतिक सौन्दर्यता, हिमाली संस्कृतिमा रमाउनका लागि महत्त्वपूर्ण छ ।

कञ्चनजङ्घासहित हिमाल, यहाँको हावापानी, ताल, पोखरी, हिमाली जनजीवन मुख्य विशेषता हुन् । यस क्षेत्र जाने पर्यटकलाई लक्षित गरेर पदमार्गलाई व्यवस्थित गरिएको छ । होटेल, टि हाउस भएकाले कञ्चनजङ्घा अवलोकन गर्न सहज हुने पर्यटन व्यवसायीको भनाइ छ । यस क्षेत्रमा सडक निकै टाढा भएकाले पदयात्रा गर्न उपयुक्त छ । विदेशीहरुले यही भएर बढी रुचाएका छन् । क्रमशः पर्यटकको वृद्धि हुने अपेक्षा कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्ले राखेको छ ।

बस्नका लागि होटेल सुविधा रहेको छ । आन्तरिक पर्यटकका लागि पनि महत्त्वपूर्ण गन्तव्य बनाउन सकिने बताउँछन् ट्रेकिङ गाइड फुङ्सो जवेगु । आन्तरिक पर्यटकलाई घुमाउन पटकपटक पुगेका उनी धेरै सम्भावना भए पनि यो क्षेत्र केही ओझेलमा परेको बताउँछन् ।

कञ्चनजङ्घा क्षेत्रमा उत्तरी र दक्षिणी बेसक्याम्प रहेका छन् । केही पदयात्री उत्तरतर्फ र दक्षिणतर्फ मात्र पुगेर फर्किन्छन् भने कोही सेसेले पास गरेर फर्किन्छन् । आठ हजार पाँच सय ८६ मिटरको हिमालको बेसक्याम्प क्षेत्र घुम्न उत्तिकै रोचक, रमाइलो, उत्साहप्रद हुन्छ । उत्तरतर्फ पाङपेमा र दक्षिण तर्फ ओक्ताङ बेस क्याम्प रहेको छ । घुन्सा र चेराम भन्ने ठाउँ जोड्ने सेलेले पास छ । यही पास गरेर दुवै बेसक्याम्प क्षेत्र घुम्न सकिन्छ ।

ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म गाडीमा गएर उत्तर तर्फ यात्रा गर्न सकिन्छ । दक्षिणतर्फ याम्फूदिनसम्म गाडी पुगेको छ । यहाँबाट पदयात्रा गर्न सकिन्छ । उत्तरतर्फ लिम्बू समुदायको पवित्र धार्मिकस्थलका रुपमा मानेको फक्ताङ्लुङ (कुम्भकर्ण) हिमाल पर्छ । हेर्दा निकै आकर्षक देखिने यो हिमालको महत्त्व निकै रहेको पाइन्छ ।

काठमाडौँदेखि टाढा पर्ने, ताप्लेजुङको सुकेटारको विमानस्थलको भर नपर्ने हुँदा कम पर्यटक आएका हुन सक्छन् । कञ्चनजङ्घा हिमालका साथमा अन्य हिमशृङ्खला रहेका छन् । कञ्चजनजङ्घा मध्य, कञ्चनजङ्घा दक्षिण, फक्ताङ्लुङ, यलुङ्काङ, काङवाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभाराजस्ता हिमालहरु रहेका छन् ।

साँझमा ठाउँ ठाउँमा पोखरीमा हिमाल टल्किन्छ । कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमाल हेर्नलाई अति सुन्दर छन् । बिहानदेखि साझसम्मका हिमालका बद्लिरहने हिमालका दृष्य लोभलाग्दा छन् । बाटोभरि हिमाली संस्कृति, रहनसहन देखिन्छ । हिमालको काखमा चौँरी रमाएका देखिन्छन् । हिमाललाई पृष्ठभूमि बनाएर चौँरीको तस्बिर खिच्ने उत्तिकै देखिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस