एक वर्षमा सेनाले बेच्यो साढे २२ करोड बराबरको विस्फोटक पदार्थ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एक वर्षमा सेनाले बेच्यो साढे २२ करोड बराबरको विस्फोटक पदार्थ


९ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेपाली सेनाले मकवानपुरस्थित सुनाचुरी इमल्सन प्लान्टबाट एक वर्षमा २२ करोड ३८ लाख रुपैयाँ बराबरको विस्फोटक पदार्थ बिक्री गरेको छ ।

सैनिक कल्याणकारी कोष अन्तरगत सञ्चालित प्लान्टबाट आर्थिक वर्ष ०७९-०८० मा २२ करोड ३८ लाख १६ हजार ५५५ रुपैयाँ बराबरको विस्फोटक पदार्थ विक्री भएको हो ।

कोषका अनुसार, आर्थिक वर्ष ०८०-०८१ मा ७१ करोड ६१ लाख १४ हजार रुपैयाँ बराबरको विस्फोटक पदार्थ विक्री गर्ने लक्ष्य राखिएको छ ।

‘यसपटक कच्चा पदार्थ र एसोसरिजहरु समयमै प्राप्त भएर उपकरणमा कुनै खराबी नआए ७१ करोडभन्दा बढीको विक्री गर्ने लक्ष्य लिइएको छ’, सैनिक कल्याणकारी निर्देशनालयको कल्याणकारी भिजनमा भनिएको छ, ‘नियमित उत्पादन भए लक्ष्य बराबरको आम्दानी हुनेछ ।’

बेलाबेला कच्चा पदार्थ नपाइँदा सेनाका लागि विस्फोटक पदार्थ उत्पादन चुनौतीपूर्ण बन्ने गरेको छ । हाल सेनाले आवश्यक कच्चा पदार्थ भारत, चीन लगायतका देशबाट आयात गर्दै आएको छ ।

हाल इमल्सन प्लान्टको वार्षिक उत्पादन क्षमता २४ सय मेट्रिक टन छ । यो प्लान्टबाट विकास आयोजनलाई सेनाले विस्फोटक पदार्थ उपलब्ध गराउँदै आएको छ । समयमा विस्फोटक पदार्थ उपलब्ध नगराएको भन्दै सरोकारवालाले गुनासो समेत गर्ने गरेका छन् ।

सैनिक अधिकृतहरु पछिल्लो वर्षहरूमा सुनाचरीमा विस्फोटक पदार्थ उत्पादन क्षमतालाई दोब्बर बनाएर २४ सय मेट्रिक टन पुर्‍याइएको भन्दै नेपालको माग पूर्ति गर्ने लक्ष्यमा रहेको बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस