शान्ति र आनन्द प्राप्तिका लागि लुम्बिनी घुमौँ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शान्ति र आनन्द प्राप्तिका लागि लुम्बिनी घुमौँ


९ कार्तिक २०८०, बिहिबार


लुम्बिनी । नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्त्वपूर्ण गन्तव्य बनेका छन् । 

शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्तस्थल हो । 

यहाँ बर्सेनि लाखौँको सङ्ख्यामा आन्तरिक एवं वाह्य पर्यटक, तीर्थालु, तथा अध्येताहरु सो स्थानमा आउँछन् ।

बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी महत्त्वपूर्ण पवित्र तीर्थस्थल हो । 

बुद्ध जन्मस्थल लुम्बिनीमा मुख्यतया मायादेवी मन्दिरलगायत, बेबी बुद्धको मूर्ति राखिएको 

स्थान, शान्तिदीप, विश्वशान्ति स्तूपलगायत दर्जन बढी गुम्बा र विहार रहेका लुम्बिनी पुगेपछि घुम्नुपर्ने क्षेत्र हुन । 

लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । 

ई पू ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको हो ।

भगवान गौतमबद्धले जन्म लिएको यही स्थानमा अहिले सुन्दर कलात्मक शैलीको मायादेवी मन्दिर रहेको छ । 

मायादेवी मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्म मूर्ति पनि भन्ने गरिन्छ । 

चौँथो शताब्दीमा निर्मित यो मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ । 

मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाँहिने हातले रुखको हाँगा समातेको र देब्रेपट्टी उनकी बहिनी प्रजापति र देवगण भगवानको 

स्वागतका लागि तयारी अवस्थामा देखिएका छन् । 

त्यही नवजात बुद्धको मूर्ति पनि बीचमा रहेको छ । 

मायादेवी मन्दिरभित्र गौतमबुद्ध जन्मेपछिको पहिलो पाइला छ । 

यही मन्दिरको अवलोकन गर्न र गौतम बुद्धको जन्मका बारेमा जानकारीका लागि पनि हरेक वर्ष लाखौँको सङ्ख्यामा बौद्ध तीर्थालु, अध्येता र पर्यटक पवित्र लुम्बिनी भ्रमणमा आउँछन् ।

त्यस्तै मन्दिर परिसरमा बाहिर उत्तरतर्फ शान्तिदीप छ, जुन २४ घण्टा नै बलिरहन्छ । 

शान्तिदीप पानी पर्दासमेत निभ्दैन । दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटक डुङ्गा चढेर पनि रमाउने गर्छन् । 

लुम्बिनी गुरुयोजना अन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटर दुरीसम्म बनाइएको नहरमा डुङ्गा चल्ने गर्दछ । 

यहाँ आउने पर्यटकलाई लुम्बिनी घुमेर मात्र पुग्दैन । 

पर्यटक बुद्धसँग सम्बन्धित लुम्बिनी वरिपरिका क्षेत्र घुम्न पनि उत्तिकै महत्त्वपूर्ण ठान्छन् । 

जापानी प्राकेन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजना ३ वर्ग माइल क्षेत्र ओगटेको छ । 

यस क्षेत्रलाई प्रत्येक एक वर्ग माइल क्षेत्र विभाजन गरी गुरुयोजना अनुसार लुम्बिनी क्षेत्रको निर्माणकार्य भइरहेको छ । 

गुरु योजना अनुसार तीन क्षेत्र सेक्रेट गार्डेन, स्तूप क्षेत्र र नयाँ लुम्बिनी गाउँको रूपमा विभाजन गरी विभिन्न देशले आकर्षक स्तूप बनाएका छन् । 

लुम्बिनी पुग्ने हरेक पर्यटक ती स्तूपहरूमा नपुगे लुम्बिनी भ्रमण अधुरै रहन्छ । 

यहाँका घुम्नुपर्ने स्थानहरू यस प्रकारका छन् ।  

लुम्बिनी पवित्र उद्यान क्षेत्र: लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्य रूपमा आध्यात्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसा झल्किने 

वातावरणको सिर्जना गर्नुका साथै संसारभरि नै भगवान गौतमबद्धका सन्देश प्रतिविम्बित गर्नु हो । 

पवित्र उद्यान क्षेत्रमा पुरातात्त्विक तथा ऐतिहासिक धरोहर रहेका छन् यिनलाई बगैँचा र सुन्दर पोखरीले थप मनमोहक बनाएको छ । 

यस क्षेत्रमा रहँदा हरेकलाई शान्ति र आनन्द महसुस हुनेगर्छ ।

बिहार क्षेत्र: लुम्बिनी क्षेत्रको पूर्वी बिहार क्षेत्रमा १३ प्लट थेरवादीहरुका लागि र पश्चिम क्षेत्रमा २९ महायानी बौद्धमार्गीका लागि छुट्टाइएका छन् । 

सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सूचना केन्द्र र सङ्ग्रहालय रहेका छन् । 

यसबाट बौद्ध धर्मसम्बन्धी अध्ययन र अनुसन्धानमा सहयोग पुगेको छ ।

नयाँ लुम्बिनी ग्राम: गुरुयोजनाको उत्तरी क्षेत्र नयाँ लुम्बिनी ग्रामको रूपमा विकास भइरहेको छ । 

यात्रु तथा पर्यटकका लागि यस क्षेत्रमा होटेल तथा रेस्टुरेन्ट लगायतका सुविधा यस क्षेत्रमा निर्माण भएका छन् । 

यस क्षेत्रमा दुर्लभ पक्षी सारस संरक्षण केन्द्र पनि स्थापना गरिएको छ । 

जापानको धार्मिक सङ्गठनद्वारा स्थापित विश्व शान्ति स्तूप र लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयसमेत यसै क्षेत्रमा छन् ।

पहिलो दिन लुम्बिनी घुमेपछि दोस्रो दिन बुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तु जिल्लाको तिलौराकोट घुम्न सकिन्छ । 

लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ । 

कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित तिलौराकोटसँगै गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ । 

बुद्धसँग सम्बन्धित ती क्षेत्रमा घुम्नका लागि आम पर्यटक पनि ती ठाउँमा पुग्ने गर्दछन् ।

तिलौराकोट: बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी बुद्धधर्मका अनुयायी तिलौराकोट पुग्छन् । 

विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्त्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ । 

बुद्धजन्मस्थल लुम्बिनीबाट कपिलवस्तु सदरमुकाम तौलिहवा हुँदै जाँदा करिब २८ किलोमिटरको दूरीमा तिलौराकोट रहेको छ । 

कपिलवस्तु सदरमुकाम तौलिहवादेखि उत्तर वाणगङ्गा नदीको किनारमा अवस्थित तिलौराकोट ई पू। 

एघारौँ शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्त्विक भग्नावशेषका साथै प्राचीन दरबारको पूर्वी तथा पश्चिमीद्धार यहाँ अवलोकन गर्न सकिन्छ । 

यहाँ पटक-पटक विश्व प्रसिद्ध पुरातत्वविदहरुले उत्खनन् गरेको र त्यसबाट तीन हजार वर्ष अघिका संरचना फेला परेका छन् ।

कुदान: कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दुरीमापर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । 

यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि प्राचीन कपिलवस्तुको राजा एवं बुद्धले आफ्ना पिता शुद्धोधन, रानी प्रजापति गौमती, श्रीमती तथा राजकुमारी यशोधरा र छोरा राहुललाई पहिलो भेट गरेको स्थल हो । 

पुरातात्त्विक एवं धार्मिक महत्वको यस स्थानमा हाल तीनवटा स्तूप, एक पोखरी र एउटा इनार रहेका छन् । 

बुद्धसँगै आएका तीनसय भिक्षुकाले यस बगैँचामा रहेको पोखरीमा नुहाएको र आफ्नो साथमा आएर भिक्षुलाई बुद्धले उपदेश दिएका थिए । 

निग्लिहवाः कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर दूरीमा पर्ने निग्लिहवा शाक्यमुनि बुद्धपूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रूपमा लिइन्छ । 

यहाँ सम्राट अशोकले ई पू २४९ मा शिला निर्माण गरेका थिए अहिले उक्त पिलर ढलेको छ । 

तिलौराकोटबाट तीन किमीको यात्रापछि निग्लिहवा पुगिन्छ । 

गोटिहवाः क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि पुगिन्छ । 

क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्धत्व प्राप्ति गरेपश्चात् पहिलो पटक बुबासँग भेट भएको पवित्रस्थलको रूपमा गोटिहवालाई लिइन्छ । 

इपूको तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्रस्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तूप निर्माण गरेका थिए । 

सगरहवाः शाक्यमुनी बुद्धको जीवनको अन्त्यतिर शाला राज्यका राजा बिरुढकले प्राचीन कपिलवस्तु राज्यका शाक्यहरूको सामूहिक बध गरेको स्थानको रूपमा सगरहवालाई चिनिन्छ । 

लुम्बू सागरको नामलेसमेत परिचित यो पोखरीको हालको लम्बाइ १०५९ र चौडाइ २२५ रहेको छ । 

जगदिशपुर ताल : मानव निर्मित सबैभन्दा ठूलो जलाशय जगदिशपुर ताल हो । 

यो तिलौराकोटदेखि १० किलोमिटर उत्तरमा रहेको छ । 

विश्व रामसार सूचीमा सुचीकृत यस तालमा एकै पटक हजारौँको सङ्ख्यामा विभिन्न जातका चराको अवलोकन गर्न पाइन्छ । 

यसको नजिकै थारु बस्ती रहेको र परम्परागत जीवनशैली, थारु जातीको प्रयोग गर्ने भाँडाकुँडा र खानपान आकर्षण हुन । 

देवदहः देवदह प्राचीन कोलिय राजधानी हो । यो बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब ६७ किलोमिटर पूर्वमा रहेको छ । 

यस ठाउँमा शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छीआमा प्रजापति र श्रीमती यशोधराको माइती गाउँको रूपमा मानिन्छ । 

शाक्यमुनि बुद्धले बाल्यकालका कैयन समय कान्छी आमाको साथमा यहाँ बिताएको मान्यता रहेको छ । 

बुद्धले आफ्नो ज्ञान प्राप्तीको सातौँ वर्षमा सहयोगीका साथमा देवदहको भ्रमण गरेको विभिन्न बौद्ध ग्रान्थमा लेखिएका छन् । 

यस क्षेत्रको भ्रमणबाट आध्यात्मिक पर्यटकका लागि भनानीपुर, कन्यामाई, बैरिमाइ मन्दिर तथा मायादेवी, प्रजापति र यशोधराको माइती क्षेत्रको अवलोकन भ्रमण गर्न सकिन्छ । 

प्राचीन कोलिय कालखण्डको पाकरी वृक्षका समेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ । 

रामग्रामः पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारबाट करिब तीन किलोमिटर दक्षिणबाट केही पूर्व झरही खोलाको किनारामा ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक रामग्राम स्तूप रहेको छ । 

करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ समतल मैदानमा देखिने थुम्को नै रामग्राम स्तूप हो ।

सम्राट अशोकले जम्बुदीपमा ८४ हजार स्तूप निर्माण गर्दा पनि रामग्रामको अस्तु लैजान नसकेको हुँदा बौद्ध धर्म र संस्कृतिको दृष्टिले यसको विशेष महत्त्व मानिन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस