पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आजदेखि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आजदेखि


८ कार्तिक २०८०, बुधबार


दमौली । तनहुँको भिमाद नगरपालिका-५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । 

मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गर्न लागिएको हो । 

तेस्रो नेत्र युवा संस्थाको आयोजनामा आजदेखि ११ गतेसम्म आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । 

मेलाकै अवसरमा जुनियर पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ । 

मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको संस्थाका सचिव अमृत थापाले जानकारी दिए । उनले भने, “दसैँका बेला गाउँमा रमाइलो वातावरण हुन्छ, विभिन्न ठाउँबाट दसैँ मनाउन गाउँ फर्किएकाको उत्साह छ, प्रत्येक वर्ष संस्थाले दसैँको अवसर पारेर मेला आयोजना भइरहेको छ ।”

मेलाको अवसरमा मिछुर्लुङ होमस्टे अवलोकन, मिछुर्लुङ भ्यु टावरबाट दृश्यावलोकन, मगर लाफा भिलेजको अवलोकनसमेत गराइनेछ । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. ३० हजार, रु. २० हजार र रु. १० हजार पुरस्कार प्रदान गरिनेछ । 

मिछुर्लुङ गाउँका अतिरिक्त यही नजिकै रहेको मगर भिलेज रिसोर्ट पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भइरहेको छ । उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । 

मगर भिलेज पर्यटकीय तथा अध्ययन केन्द्रको रूपमा विकास हुन थालेको सञ्चालक राना मगरले जानकारी दिए । उनले भने, “प्रकृति, संस्कृति र मगर संस्कारलाई प्रवर्द्धन गर्दै मगर भिलेज रिसोर्ट सञ्चालनमा छ । 

यहाँ दिनदिनै आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।” सञ्चालक रानाका अनुसार प्रकृतिको सुन्दर दृश्यावलोकन, मगरको संस्कार र संस्कृति अध्ययन गर्न आन्तरिक पर्यटक आउने गरेका छन् ।

रिसोर्टमा ढिकी, जाँतोजस्ता पुराना सामग्री राखिएको छ । 

अहिलेका पुस्तालाई पुरातात्त्विक तथा धार्मिक महत्वका सामग्रीबारे बुझाउन विभिन्न सामग्री राखिएको र अहिले त्यही हेर्न विद्यालयबाट पनि विद्यार्थी आउने गरेको उनले बताए । 

यहाँ दृश्यावलोकन केन्द्रसमेत बनाइएको छ । 

ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको हो । 

देश तथा विदेशमा रहेका नेपालीहरूबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो 

मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहनुभएका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थियो । 

कूल रु. ३८ लाख चार हजार नौ सयको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको बताइएको छ ।

मगर समुदायको कौरा, झ्याउरे, प्राङ्गारिक परिकार मिर्छुलुङको विशेषता हो । 

प्राकृतिक सौन्दर्यले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । 

उक्त झरनामा एक पटक क्यानोनिङ समेत सञ्चालन गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस