सुदन किरातीले भने-चालु वर्षमै १० वटा जहाज थप्छौँ, दसैँअघि प्रक्रिया सुरु हुन्छ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदन किरातीले भने-चालु वर्षमै १० वटा जहाज थप्छौँ, दसैँअघि प्रक्रिया सुरु हुन्छ


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् ।

आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए ।

उनले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गरे । दसैँअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने उनले बताए । मन्त्री किरातीले आजैदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैभर सञ्चालन गर्ने प्रतिबद्धता गरे ।

उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए । उनले सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस