कानून मिचेर हवाइ भाडा वृद्धि गरे कारबाही गर्ने मन्त्री किराँतीको चेतावनी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कानून मिचेर हवाइ भाडा वृद्धि गरे कारबाही गर्ने मन्त्री किराँतीको चेतावनी 


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री किरातीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नियमभन्दा बाहिर जान कसैलाई पनि छुट छैन । बजारमा भएको अनियन्त्रित भाडालाई नियन्त्रण गर्नको निम्ति नै, हस्तक्षेप गर्नको निम्ति नै नेपाल वायु सेवा निगममा जहाज चाहिन्छ । त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौँ, त्योभन्दा अन्यथा हुँदैन ।’

उनले नियमभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताए । उनले निजी कम्पनीहरूलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उनले निजी कम्पनीहरू ऐन, कानूनभन्दा बाहिर जान पनि नपाउने बताए ।

‘निजी कम्पनीहरूलाई हामीले बढी नियन्त्रण गर्दा पनि फेरी निजी कम्पनीमैत्री हामी हुन सक्दैनौँ । तर उनीहरू पनि ऐन, कानूनभन्दा बाहिर जान पाउँदैनन्, ‘ उनले भने, ‘मनपरी उठाउन कसैले पाउँदैन । स्वेच्छाचारी हुन कसैलाई छुट छैन । कानूनभन्दा बाहिर गएमा कारबाही हुन्छ । ऐन, कानूनभन्दा बाहिर छ भने म आजै एक्सन गर्छु ।’

कानून भन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गरेमा कारबाही गरिने चेतावनी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस