कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा


२३ आश्विन २०८०, मंगलबार


मलेखु । गजुरी गाउँपालिका-२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् ।

विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरू अब भने सहयोगको आशा मारिसकेका छन् ।

विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका-२, चामबास गाउँ नै पहिरोमा पर्‍यो । जमिन चिरा पर्‍यो। घर र वस्तुभाउ बाँध्ने गोठहरू पनि भत्किए । एक्काइस परिवार विस्थापित भए । त्यति बेलादेखि नै चामबासका पहिरो विस्थापितहरू बाह्रबिसेमा बस्दै आएका थिए । चार वर्षसम्म सरकारको निर्णय पर्खेर बसेका विस्थापितहरू त्रिपालमा बालबच्चा र वृद्ध वृद्धाको बिचल्ली सहन नसकेर ‘मरे घरैमा मर्छौ’ भन्दै भत्किएकै बस्ती नै फर्किन थालेका छन् ।

हर्कबहादुर तामाङ, मानबहादुर तामाङ, राजन तामाङ परिवारसहित पुरानै घर फर्किएका छन् । उनीहरू भन्छन्, “त्रिपालभित्र बालबच्चा र वृद्ध वृद्धा जोगाउन साह्रै कठिन भयो, बजारमा कोठा लिएर बस्न सक्ने अवस्था पनि रहेन । मरे पनि बरु घरमै मरौँ भनेर फर्कियौँ ।” बाहिर हिँडडुल गरेर कमाउन सक्ने जहान भएका १२ परिवारले गजुरी र बिहानी पम्प आसपासमा कोठा भाडामा लिएर बस्न थालेका छन् ।

बिहान कमाएर बेलुकाको छाक टार्नुपर्ने बाध्यतामा रहेका विस्थापित परिवारले कोठा भाडामा लिए पनि सजिलैसँग भाडा तिर्न सक्ने अवस्थामा छैनन् । कोठा भाडा तिर्ने आँट गर्न नसकेका र पुरानै घर भत्किएका छ घर अझै त्यही छ । “घर नभत्किएकाहरू जोखिमपूर्ण बस्ती नै फर्किए र कमाउन सक्नेहरू कोठा भाडामा बस्न गए”, अहिले पनि त्रिपालमै बस्दै आएकी ६६ वर्षीय सेतीमाया तामाङ भन्छिन्, “मेरो कोही छैन म कहाँ जाउँ ।”

तेल, चामल खाएको उधारो तिर्न नसक्दा सेतीमायालाई पीडा थपिएको छ । “छोराछोरीको जन्म भएन । पाँच वर्षअघि श्रीमान् बिते । भएको घरजग्गा पहिरोले लग्यो । यो त्रिपालमुनि अब कति बाँचुला र”, सेतीमायाले सुनाइन्।

चार वर्षदेखि टेन्टमा रातदिन बिताइरहेका विस्थापित परिवारलाई सरकारले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न नसक्दा उनीहरूमा निराशा बढेको हो । सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि हारगुहार गर्दै यहाँका विस्थापितले यसअघि वडा, गाउँपालिकादेखि जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालयमा पटक-पटक ज्ञापन पत्र बुझाइसकेका थिए ।

यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरूले पनि पटक पटक प्रत्यक्ष देखेका छन् । तर, स्थायी प्रबन्ध मिलाउन सकेका छैनन् । आशैआशमा गुजारा गरिरहेका छन् । अस्थायी बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् । टेन्ट र जस्तापाताबाट छिरेको पानीले ओछ्यान भिजाउँछ भने विस्थापित भएसँगै खाद्यान्न अभाव पनि भोगिरहेका छन् । भएका जग्गाजमिनमा पनि फर्केर खेती गर्न जान नसकेपछि विस्थापितहरूमा खाद्यान्नको अभाव खड्किएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस