गुमनाम कर्मयोगीको सम्झनामा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गुमनाम कर्मयोगीको सम्झनामा


१८ आश्विन २०८०, बिहिबार


जन्मस्थल छाडेपछिका चार दर्जन वर्षहरू अनेकौं आरोह, अवरोह, प्राप्ति र गुमाइमा बिते । कहिले खुसी, कहिले पीडा, कहिले मिलाप, कहिले शोक र कहिले विछोडका अविरल अनुभूतिहरू । घुमियो, जानियो र किञ्चित दुनियाँ पनि देखियो । परन्तु जहाँ पुगेर जे देखे पनि आफ्नो माटोप्रतिको अनुराग अर्कै हुने । पवनको सुवास र वनको आकर्षण नै अर्कै हुने । निरन्तर माटोमै खेलिरहेकालाई माटो पनि दिनचर्या जस्तै लाग्ला । परन्तु म जस्तो थलो छाडेर हिँडे पनि मानसिक स्तरमा झनै माटोमा आबद्धलाई भने भिन्न ढङ्गको अनुभूति हुँदो रहेछ । 

माटोमा नखेलेका , हिलोमा नपछारिएका र मुखभित्र परेको गोधूलीको किरिङ किरिङ स्वादको अनुभव नगरेकाले यो भावनालाई आत्मसात गर्न कठिन छ । अनि पानी पँधेरो, खेत, खलिहान, वन र बुट्यानमा अनेकौं कौतुक नगरेकालाई पनि यो बुझ्न कठिनै होला । अझै भोक, नग्नता र अभाव थाहा नहुनेहरूलाई त यस्तो भावना अर्थहीन नै प्रतीत होला ।

अविरल यात्राको थकानले लखतरान बटुवाले शीतल छहारी खोजे झैँ जीवनको यो मुकाममा सबैभन्दा ज्यादा सम्झना बाल्यकालकै आउँदो रहेछ । एकान्त या अनिद्राको समयमा अतीतको यादले मिठास पस्किरहेको हुन्छ । त्यो मिठासकै सिलसिलामा लागेको निद्राबिच देखिने सपनाले पनि बचपनमै पुर्‍याउँछ ।

हिउँदको समय पारेर मेरो गाउँ पाल्पा माथिल्लो खस्यौलीमा अवस्थित सानीकाफ्लीको चौपारीमा अर्घाखाँचीतिरबाट सालिन्दा दस -बाह्र जना चित्रे ( बाँसको चोयाबाट भकारी , ठुइँला , मान्द्रा , डोका आदि बुन्नेहरू ) आएर बस्थे । त्यो समूहमा करिब पाँच जना बाँस ओसार्ने र चित्रा बुन्ने पुरुष , त्यत्ति नै संख्यामा महिला एवं केही केटाकेटी हुन्थे ।

शिशिर ऋतुको मर्लान्त ठण्डीमा खुला आकाशमुनि ऋषिमुनि झैँ बस्थे उनीहरू । ओड्ने बिछ्याउने कपडा पनि लायकका हुँदैनथे । मनग्य दाउराको अभाव थियो । अहो त्यो चरम गिरिबी र दारुण दरिद्रता  ! त्यो भोक , ती चिथरा पहिरेका मानुषी शरीरहरू । राजनीतिको नाममा देशमा एउटा राजा हुन्छ भन्ने मात्र थाहा थियो उनीहरूलाई  । न भक्ति, न निन्दा, न केही राहतको आशा र न त कुनै गुनासो । उनीहरूको भोक, नग्नता र गरिबी देखेर कसैको छाती पोल्ने भए पो सम्झनु या कृतार्थ हुनुको पनि अर्थ हुन्थ्यो ।

एक बाल्टी  पानीमा हतगोडा  धोए त्यो फोहोर हुन्छ । परन्तु तिनै  फोहोरी हातगोडा  बग्दो गण्डकीमा धोए गण्डकी मैलो हुँदैन, बरु फोहोर पानी समेत पवित्र हुन पुग्दछ । निरन्तर प्रवाहवान कालीगण्डकी जस्तै पावन थिए चित्रे काका । हरेक विभेद र वञ्चनालाई पचाएर मुस्कुराउन सक्नु उनको अद्भुत विशेषता थियो । उनी अभाव, नग्नता, भोक र दरिद्रतालाई हृदयभित्र लुकाएर अविरल कर्ममा सरिक हुन्थे । सायद यस्तै मानिसलाई दिलदार भनिन्छ । स्थूल मांसपिण्डले निर्मित दिल होइन , भावना र अनुभूतिको अतल गहिराइमा विद्यमान दिल ।

शरीरभरि दागै दाग भए तापनि पनि चन्द्रमा निर्दोष हुन्छ रे । चित्रे काकाको शरीरभरि पनि हँसिया र बन्चराले काटेका अनेकौं दाग थिए । परन्तु उनी मैत्री, करुणा र शीतलताका निर्दाग प्रतिमूर्ति थिए । मनको वेदनालाई मनभित्रै थुनेर  प्रसन्न देखिने अद्भुत क्षमताका धनी थिए उनी । सहनशीलता उनको शृङ्गार थियो । परन्तु उनको त्यो महानताबाट कसैले पनि सिक्न चाहेन । कसैले पनि सिक्न चाहेन, किनकि उनी एक अकिञ्चन र गुमनाम दलित थिए ।

उनीहरू अनेकौं गाउँ डुलेर बाँस बोकेर ल्याउँथे । बुनिएका चित्राहरू आधा बाँस धनीका र आधा चित्रेका हुन्थे । त्यसैमा पनि किचकिच गर्दै मोलतोल गर्ने मानिसप्रति साह्रै खिन्न हुन्थे काका । खुकुरी जस्तो देखिने हतियारले चोया काट्दै टाढा क्षितिजतर्फ हेर्दथे उनी । निराश हुँदै बोल्थे, ‘निधारमा जति नै चन्दन घसे पनि यी बाजेको छातीभित्र हरिको वास  रहेनछ ।’

अविवेकी त्यसलाई भनिदैन, जसमा विवेकबारेको अज्ञान छ । अविवेकी त्यसलाई भनिन्छ, जसले जानेर पनि विवेकको कदर गर्दैन । यहाँ कोही अद्वैत भन्छन् भने कोही द्वैताद्वैत । कोही शुद्धाद्वैत भन्छन त कोही विशिष्टाद्वैत । यहाँ कोही द्वैत भन्छन् त कोही अचिन्त्य भेदाभेद । कोही शिवको दुहाई दिन्छन् त कोही महाकालीको । अस्तित्ववादी दार्शनिकहरू जीवनलाई अर्थहीन र विसङ्गत मान्छन् भने भौतिकशास्त्रीहरू फगत एक संयोग मात्र । आजको जमानामा पनि कोही तत्त्वज्ञानको खोजीमा वनतिर जान्छन् एकान्तमा । तर पनि मानिसमा करुणा , विवेक र परोपकारको भावना प्रायः कमै रहेको पाइन्छ । परन्तु चित्रे काका दारुण दरिद्रताबिच नित्यसिद्ध तत्त्वज्ञानी थिए । उनी घनघोर अपूर्णताभित्र पनि सम्पूर्ण थिए ।

केही वर्ष काशीतिर मजदुरी गरेर फाकामस्तीमै समय गुजारेका उनी अस्ताउँदो सूर्यतिर हेर्दै सन्त कबीरको दोहा गाउँथे , ‘सुखिया सब संसार है, खावे और सोवे । दुखिया दास कबिर है , जागे और सोवे ।’ अनुकूल उमेर हुनेहरूबिच त्यतै कतै खुला आकाशमुनि गर्भादान संस्कार हुन्थ्यो र अर्को साल त्यही गर्भ नवजात शिशुको रूपमा आमाको पिठिउँमा बोकिएर त्यही चौपारीमा  आई पुग्थ्यो ।

 शिशुलाई तताउने असफल प्रयत्न गर्दै चित्रे काकाकी बुहारी झासझुस बाल्थिन् । रुखको हाँगामाथि बसेको चरो धुवाँको प्रभावले पल्लो हाँगामा सर्थ्यो । चौध वर्षको उमेरमै गर्भवती बनेकी किशोरी । लाग्दथ्यो फटाफट बाँचेर चोला समाप्त पार्न आतुर थियो कलिलो जीवन । सधै डराए झैँ र तर्से झैँ आश्चर्यचकित आँखाहरू ।  आफैमा हराए झैँ संकोचपूर्ण भङ्गिमा । बोलूँ कि नबोलूँ , लुक्न जाऊँ कि देखिऊँको ऊहापोहमय सलज्ज अभिनय ।  बाँसका आधा सुकेका छेस्काहरू ढुङ्ग्रोले फुक्दा बल्थे र तुरुन्तै निभ्दथे । अनिन्द्य सुन्दरी युवतीका साँवला गालामा अडिएका धुवाँसृजित आँसुका डल्लाहरू मटमैलो पछ्यौरीले पुछेको दृश्य नलेखिएको महाकाव्य झैँ प्रतीत हुन्थ्यो ।

अकस्मात घनघोर रातको नीरवतालाई छिचोल्दै चित्रे काका मेरै सामुन्ने  ठिङ्ग उभिएको आभास भयो । साक्षात बोधिसत्व जस्ता लाग्ने उनी एउटा पठित विद्वान झैँ बोलिरहेका थिए । ‘समयको पक्षी निरन्तर उडिरह्यो र यही एउटा जिन्दगी हजारौं ठाउँमा उभियो । परन्तु यसको आधारस्तम्भ कहाँ छ भन्ने कुराको ज्ञान कहिल्यै भएन । आफ्नो जीवन आफ्नै चयनबाट चलिरहेछ भन्ने बहाना गरियो । किन्तु आफैलाई प्रश्न गर्छु , के यो जिन्दगी चयनमा छ ? आफ्नो भाग्यको आधारशिला आफैले खडा गरेको हो कि फगत संयोग र नियमित आकस्मिकता मात्र  ?  जीवनको अर्थ खोज्दाखोज्दै अब त उल्टै जीवनले नै खोज्नेको अर्थ खोज्न थालेको महसुस हुन्छ । कहिलेकाहीँ त लाग्दछ, सायद जीवनको अर्थ नै  यसको अर्थ जान्ने असफल प्रयास मात्र हो ।’  म झसङ्ग हुँदै जुरुक्क उठेर उभिएँ । त्यो वाणी चित्रे काकाको थियो कि स्वयं स्वप्नदर्शी भागवतको ? म टोलाइरहेको थिएँ ।

उनी अगाडि भन्दै गए, ‘तपाईंहरू  अरुको नजरमा सुन्दर र व्यक्तित्वशाली बन्ने प्रयासमा राम्रा लुगा, गहना, क्रिम,  पाउड, जुत्ता र टाईसुट पहिरेर निस्कनुहुन्छ, किन्तु अर्कोले मुन्टो बटार्छ  । तपाईंहरू नाम उज्यालो बनाउन भव्य पार्टीको आयोजना गर्नुहुन्छ, परन्तु अर्कोले धनको तुजुक देखाएको आरोप लगाउँछ । तपाईंहरू ‘किन फोकटमा खर्च गर्ने’ भावमा कमाएको सारा धन सँगालेर राख्नुहुन्छ, किन्तु  अर्कोले मक्खीचुस भनेर बदनाम गर्छ  । तपाईंहरूलाई  सदैव  स्याबासीको चाहना  हुन्छ , तर त्यो अत्यन्त दुर्लभ बनिदिन्छ ।’

हाम्रो मस्तिष्कमा साठी प्रतिशतभन्दा धेरै बोसो हुन्छ रे । वैज्ञानिकहरूलाई मानव मस्तिष्कबारे कति जानियो भन्ने थाहा छ , परन्तु कति जान्न बाँकी छ भन्ने ज्ञान छैन । सारा शरीरको सञ्चालक र नियन्त्रक मस्तिष्क हो , तर यसको सञ्चालक को हो भन्ने कसैलाई ज्ञान  छैन । मस्तिष्क  एक अपरम्पार र आश्चर्यजनक अङ्ग हो । सायद त्यसैले नै यसलाई ब्रह्माण्ड पनि भनिन्छ । वैज्ञानिकहरूले मस्तिष्कबारे बुझ्न चाहनेले क्वान्टम मेकानिक्स बुझ्नु पर्ने आवश्यकता औंल्याएका छन् ।

सायद मेरो दाहिने मस्तिस्क ज्यादा चतुरो ( स्मार्टर ) र बायाँ  मस्तिस्क कमजोर छ । त्यसैले म शिल्पको काम गर्न सक्दिन । विज्ञान मेरो समझभन्दा बाहिर छ । ममा प्रविधि बुझ्ने क्षमता साह्रै न्यून छ । किन्तु चित्रे काकाका देब्रे र दाहिने दुबै मस्तिष्क टाठा थिए । दाहिने मस्तिष्क तगडा हुनाले उनी कबीरको दोहा मात्र होइन ,  स्वरचित कवितासमेत सुनाउँथे । बायाँ मस्तिष्क टाठो हुनाले क्षितिजतिर हेर्दै , गफ गर्दै र गाना गाउँदै चोया काड्न र डोको बुन्न सक्थे ।

मलाई ‘कपुरी क’  र बाह्रखरी सिक्न महिनौं लाग्यो । तर उनको मेरै उमेरको निरक्षर छोरो ज्यान पाल्न सक्नेगरी आत्मनिर्भर बनिसकेको थियो । हाम्रो संस्कृतिले ‘क ख’  लाई मात्र शिक्षा मान्यो र प्रविधिलाई भने अपहेलना गरिरह्यो । हाम्रो संस्कृतिले वैज्ञानिकलाई निमुखा बनायो । प्राविधिक दक्षताको काम गर्ने विशेषज्ञलाई अछूत बनायो ।

के भयावह गरिबीमा पनि आमोद र राम रमाइलोको गुन्जायस छ ? चित्रे काका र उनको परिवारको जिन्दगी हेर्दा लाग्दथ्यो , अवश्य गुन्जायस छ । खुसी धनवानको मात्र पेवा होइन । सधनतामा खुसी नै खुसी र निर्धनतामा शोक नै शोक हुन्छ भन्ने सोच गलत छ । निर्धनताको आमोदमा पनि त्यही आनन्द छ, जुन सधनताको आमोदमा । चित्रे काका बेला मौकामा सपरिवार मदिराको आमोदमा हुन्थे ।  त्यहाँ आपसमा केही व्यङ्ग्य, केही अनुराग  र केही दिल्लगीको छनक हुन्थ्यो । गोधुलीको समयमा सारा कामबाट विश्राम लिंदै  उनी मुजुरा बजाउन थाल्दथे । काका असार जीवनलाई सारवान बनाउने कलामा कुशाग्र थिए । सायद खुसीको सम्भावनाको समूल समाप्ति नै दु:ख हो ।

कथित पुस्तकीय ज्ञान हासिल गर्न अवश्य ‘क ख’  पढ्नु पर्छ । परन्तु मानवताको दियो जलाउन कुनै अक्षरीय ज्ञानको दरकार पर्दैन । चित्रे काका कति शान्त र सौम्य भने न कसैको आलोचना न त निन्दा नै । न उपहास, न त अनावश्यक खिसी टिउरी । को के गर्छ र कहाँ जान्छ कुनै सरोकार थिएन । अधियामा बुन्न ल्याएका सामानको ताकेता गर्न आउने पठित ब्राह्मण चित्रे काकालाई पौराणिक साहित्यमा वर्णित जडभरतको कथा सुनाएर थाक्दैनथे । परन्तु ती ब्राह्मण चित्रे काकारूपी अनुद्विग्न जडभरतको दर्शन गर्न असमर्थ थिए । त्यहाँ ब्राह्मणको अन्तश्चेतना र विवेक शून्यप्रायः प्रतीत हुन्थ्यो , किनकि चित्रे काका कङ्गालीमा जीवन बिताइरहेका ‘अछूत’  थिए ।

जीवनरूपी भारीलाई बाँधेर नफुक्ने बनाउन एउटा जुइनु चाहिन्छ । जीवनका जुइनुहरू हाँम्रा खुसी, रोदन, आँसु र हाँसो न हुन् । कुटुम्ब, चाडपर्व, भेटघाट, खानपान र परिहास हाम्रो जीवनलाई कसिलो राख्ने बन्धन हुन् । आफ्ना दु:खमा या आफ्नो इमानमाथि अरुको बेइमानी,  हेपाइ र गुमाइमा रुन या क्रोधित हुन त सजिलो छ,  परन्तु आफ्नो मूर्खता र बेइमानी स्वीकार गर्न अत्यन्त कठिन । मनुष्यमा निहित स्वार्थ , बेइमानी र निर्दयता देखेर साह्रै नै दु:खी हुन्थे चित्रे काका । दुष्ट प्रवृत्तिका कसैलाई लक्षित गर्दै उनी बोल्दथे, ‘बिग्रेको बुढो मान्छे सबैभन्दा बदमास हुन्छ । ऊ मरेर प्रेत भएको हैन , ऊ त जीवनमै प्रेत थियो । तैपनि ऊ मर्दा सबैले श्रद्धाञ्जली दिए ।’

मानिसहरू तीन किसिमका बिमारीले पीडित हुन्छन् , शारीरिक मानसिक र आध्यात्मिक । चित्रे काकालाई शारीरिक बिरामी हुने फुर्सद थिएन । मानसिक बिरामी हुन ठोस र सुदृढ मन तयार थिएन । आध्यात्मिक बिरामी हुनेगरी  आत्मा, परमात्मा, मृत्यु र जीवनबारे सोचेर दिमाग खराब गर्नुको प्रयोजन थिएन । जो मृत्युबाट त्रसित हुँदैन ऊ विगत, आगत र अनागतबारे पनि बेपर्वाह र निस्पृह नै रहन्छ ।

जन्म, मृत्यु ज्ञान, अज्ञान, सुख र दु:खबारे सोच्नु त के,  सरोकार राख्नुको पनि प्रयोजन थिएन त्यहाँ । जन्म के हो, मृत्यु के हो, सुख के हो र दु:ख के हो जस्ता अन्तहीन र अनर्गल कुरा सोच्दै प्रश्न गर्नमा लागेर श्रम गर्ने समय खेर फाल्नुको पनि अर्थ थिएन । भगवान कृष्ण प्रणीत  ‘सुख दु:ख समेकृत्वा लाभालाभौ जयाजयौ’ जस्ता उपदेश त अर्जुन जस्ता  जीवनको मार्ग पहिल्याउन नसकेर अलमलमा परेकालाई हो । जो नामहीन चित्रे काका झैँ स्वयं सिद्ध तवरले ज्ञानभन्दा माथि हुन्छ, उसलाई के अर्ति के उपदेश ।

प्रतिक्रिया दिनुहोस