साइबर अपराध : समस्या, चुनौती र समाधान « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

साइबर अपराध : समस्या, चुनौती र समाधान


१४ आश्विन २०८०, आइतबार


वर्तमान समय सूचना तथा सञ्चार प्रविधि युक्त समयको रूपमा विकास हुँदै गएको युग हो। सूचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकासले विश्व एउटा सानो ग्लोबल भिलेजका रूपमा रूपान्तरण हुँदै गएको छ । सूचना प्रविधिमा भएको तीव्र विकाससँगै सामाजिक सम्बन्ध र अन्तरक्रिया, सार्वजनिक सेवा एवं सूचना प्रवाहमा आमूल परिवर्तन भएको पाइन्छ। सूचना प्रविधिको समुचित प्रयोगले देशको शिक्षा, स्वास्थ्य, सञ्चार, प्रशासनिक, आर्थिक, प्राविधिक, सांस्कृतिक लगायतका क्षेत्रको विकासमा ठुलो योगदान पुर्‍याउँदै आएको भएता पनि कतिपय अवस्थामा यस प्रविधिको नकारात्मक प्रयोग मार्फत गम्भीर प्रकृतिका फौजदारी र सङ्गठित अपराधहरू हुने गरेको पाइन्छ।

सामान्य अर्थमा विद्युतीय अपकरणहरूको उपयोग तथा प्रयोग मार्फत गरिने आपराधिक गतिविधिहरू साइबर क्राइम हुन् ।यसलाई विश्वव्यापी रूपमै फैलिएको एउटा सङ्गठित अपराधका रूपमा लिने गरिन्छ। सूचना प्रविधि उपयोग मार्फत अनधिकृत पहुँच स्थापित गरी व्यक्तिगत, संस्थागत र सार्वजनिक सुरक्षामा गम्भीर खलल पार्ने विषय साइबर प्राइम हो । कम्प्युटरसँग सम्बन्धित वा विद्युतीय उपकरणहरुलाई माध्यम बनाएर कानुनले निषेध गरेका क्रियाकलापहरू गर्ने कार्यलाई साइबर प्राइम भनिन्छ । साइबर प्राइम कम्प्युटर, नेटवर्क, इमेल, इन्टरनेट सामाजिक सञ्जालको प्रयोग मार्फत गरिने फौजदारी र सङ्गठित अपराध हो। यस प्रकृतिको अपराधमा कुनै किसिमको भौगोलिक वा क्षेत्रगत सिमा नरहने हुँदा यसलाई विश्वव्यापी अपराधमा रूपमा समेत लिन सकिन्छ । साइबर अपराध त्यस्तो प्रकृतिको अपराध हो जसले कम्प्युटर वा विद्युतीय उपकरणलाई माध्यम बनाई वा अर्काको कम्प्युटरमा अनधिकृत पहुँच स्थापित गरी आपराधिक मानसिकताबाट अरुलाई दुःख दिने वा हानी नोक्सानी पुर्‍याउने एउटा सामाजिक अपराध हो।

नेपालमा साइबर अपराध विभिन्न स्वरूपमा हुँदै आएको छ। विशेष गरी महिला, बालबालिका, विद्यार्थीहरू र डिजिटल साक्षरता कम भएका मानिसहरुलाई लक्षित  गरी आपराधिक क्रियाकलापहरू सञ्चालन गर्न र प्रभावित पार्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। बढ्दो आधुनिकता, विश्वव्यापीकरण र शहरीकरण सँगसँगै सूचना प्रविधिको आमूल परिवर्तन र विकास सँगै सूचना प्रविधिको प्रयोगमा वृद्धि हुँदै जाँदा नेपालमा समेत साइबर प्राइम  घटनाहरू बढ्दै जाँदा साइबर सुरक्षाका विषयमा समस्या र चुनौती समेत थपिँदै गएका छन् ।

समस्या र चुनौती:-

सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास, विस्तार र उपयोग सँगै समस्या र चुनौती पनि बढ्दै गएको छ। सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत गरिने आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्नु प्रमुख चुनौतीका रूपमा रहेको छ । सूचना तथा सञ्चार प्रविधि प्रणालीहरूमाथिको साइबर आक्रमणको जोखिम दिनानुदिन बढ्दै गइरहेको अवस्था छ।  साइबरसँग सम्बन्धित आपराधिक गतिविधिमा वृद्धि हुँदै गएकाले व्यक्तिगत तथा संस्थागत विवरणहरूको गोपनीयता एवं तथ्याङ्क लगायतका सूचना प्रविधि प्रणालीको सुरक्षा गर्ने कार्य जटिल बन्दै गएको छ। साइबर सुरक्षाको लागि प्रभावकारी कानुनी व्यवस्था तथा संस्थागत संरचना, भौतिक तथा प्राविधिक पूर्वाधारको कमी, अनुसन्धान तथा दक्ष जनशक्तिको कमी, साइबर सुरक्षाका विषयमा सचेतना र पैरवी नहुनु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा साइबर सुरक्षा सम्बन्धी समन्वयको अभाव, सूचना प्रविधिको प्रयोग र यस बाट उत्पन्न, प्रविधिको विकास सँगसँगै डिजिटल साक्षरताका क्षेत्रमा राज्यको न्यून लगानी हुन आदि समस्याहरू रहेका छन् ।

सूचना तथा सञ्चार प्रणाली माथि हुने साइबर आक्रमणको जोखिम न्यूनीकरणका लागि राष्ट्रिय संवेदनशील पूर्वाधार (नेशनल क्रिटिकल इन्फ्रास्टक्चर) को पहिचान एवं संरक्षण गर्नु, सार्वजनिक, व्यावसायिक र व्यक्तिगत सूचना तथा तथ्याङ्कमा अनधिकृत पहुँच नियन्त्रण मार्फत सूचनाको दुरुपयोग हुन सक्ने खतरालाई नियन्त्रण गर्नु, सार्वजनिक सेवालाई विश्वसनीय डिजिटल सिष्टममा रूपान्तरण गर्न, सेवा सुरक्षा र नागरिकको व्यक्तिगत गोपनीयताको सुरक्षाको प्रत्याभूति कायम गरी सेवा प्रणालीलाई सरल, सहज र नागरिकमैत्री बनाउँदै,  हरेक नागरिकमा डिजिटल साक्षरता अभिवृद्धि गर्नु चुनौतीका रूपमा रहेको छ।

समस्या समाधानको बाटो:-

बढ्दो साइबर अपराध न्यूनीकरण र साइबर अपराधको सामना गर्नका लागि समय सापेक्ष कानुनी र संस्थागत विकासमा जोड दिने (भएका कानुनहरूको पुनरावलोकन गर्ने, नयाँ कानुनको निर्माण गर्ने, कार्यान्वयनमा जोड दिने, उपलब्ध संस्थाहरूको सबलीकरणमा जोड दिने, आधुनिक, नवीनतम र प्रविधि मैत्री संस्थागत संरचनाको विकास र विस्तारमा जोड दिने,) डिजिटल सेक्युरिटीका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने, साइबर अपराध र न्यूनीकरणका लागि संवेदनशील राष्ट्रिय पूर्वाधारको विकास र विस्तार गर्ने, साइबर स्पेसलाई सशक्त र सुदृढ बनाउन साइबर सुरक्षाका क्षेत्रमा अध्ययन अनुसन्धान, जनशक्ति उत्पादन एवं कार्यगत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, साइबर सुरक्षा सम्बन्धी जोखिम न्यूनीकरणका लागि द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहकार्य गर्ने, आम नागरिकलाई सूचना प्रविधिको प्रयोगका सम्बन्धमा सुसूचित गर्नका लागि डिजिटल साक्षरताका सम्बन्धमा कार्यक्रमहरू सञ्चालन गर्ने आदि कार्यहरू मार्फत साइबर अपराधलाई न्यूनीकरण गर्न सकिन्छ।

उपसंहार:-

सूचना तथा सञ्चार प्रविधिको विश्वव्यापी विकाससँगै कम्प्युटर तथा विद्युतीय प्रणालीमार्फत अनधिकृत रूपमा अरूको ईमेल, वेवसाईट ह्याकिङ गर्ने, पासवर्ड ह्याक गरेर गोपनीयता भङ्ग गर्ने, डाटा चोरी गर्ने ब्ल्याकमेलिङ गर्ने, लगायत सूचना प्रविधिको प्रयोग मार्फत गरिने साइबर अपराधको रोकथाम र नियन्त्रणका लागि साइबर अपराधको रोकथाम तथा अभियोजन प्रणालीको विकास गर्दै, साइबर अपराधको पहिचान, रोकथाम र प्रतिरक्षा प्रणाली (डिजिटल सेक्युरिटी सिस्टम ), डिजिटल साक्षरताको विकास विस्तार र पहुँच स्थापित लगायतका क्षेत्रमा विशेष कार्य गर्नु आवश्यक छ।  

Tags :
प्रतिक्रिया दिनुहोस