सभामुख घिमिरेसँग रूसी राजदूतको शिष्टाचार भेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सभामुख घिमिरेसँग रूसी राजदूतको शिष्टाचार भेट


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आज सिंहदरवारमा शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदानलगायतका विषयमा छलफल भएको छ ।

सभामुख घिमिरेले रुसी महासङ्घ नेपालको पुरानो मित्र भएको बताउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे । उनले नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको बताउँदै रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे ।

सभामुख घिमिरेले सन् २०१५ को भूकम्पको समयमा राहत र उद्धार तथा भूकम्पपछिको पुनर्निर्माणमा प्राप्त भएको रुसी सहयोग र कोभिड १९ संक्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकोमा रुसी महासङ्घलाई धन्यवाद दिए ।

राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदान प्रदानका लागि महत्त्वपूर्ण रहेको बताए । उनले अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस