बिक्री नहुने डरले काँचै स्याउ बेच्छन् डोल्पाका किसान « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बिक्री नहुने डरले काँचै स्याउ बेच्छन् डोल्पाका किसान


९ भाद्र २०८०, शनिबार


जाजरकोट । डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको गाउँबस्ती ​अहिले लटरम्म स्याउले रंगिएका छन्।

त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुँ, जिउँ, वडा नम्बर ४ को रङ्गमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन्। त्यस्तै वडा नम्बर ७ मा पर्ने जुफाल, ८ र ९ मा पर्ने डाँगीबाडा वडा नम्बर ४, ५ र ११ मा पर्ने लोचा, थाला, तिप्ला र रह गाउँमा प्रशस्त स्याउ उत्पादन हुने गरेको छ। बोटमा राम्रोसँग नपाक्दै ५० प्रतिशत स्याउ बिक्री गरिसकेको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ। प्रत्येक वर्ष कृषकले उत्पादन गरे जतिको सबै स्याउ बिक्री नहुने भएकाले काँचै स्याउ बिचौलिया व्यापारीलाई प्रतिकिलो २० देखि ३० रुपैयाँमा बेच्न बाध्य भएको कार्यालयको भनाइ छ।

जिल्लामा स्याउको राजधानीको रूपमा परिचित रङ्ग गाउँमा ‘एक घर, एक स्याउ बगैँचा’ छ। प्रत्येक वर्ष एउटै घरमा न्यूनतम दश क्विन्टलसम्म स्याउ फल्ने गरे पनि व्यापारीले सबै खरिद नगर्ने कृषकको गुनासो छ। स्याउ बगानमा तीन वर्षयतादेखि नेपालगञ्ज, सुर्खेत, जाजरकोट, रुकुमलगायत जिल्लाबाट स्याउ किन्न व्यापारी घरमै पुग्ने गरेका छन्। नपाक्दै बोटमै व्यापारी आइपुग्ने रङ्गका कृषक तारा बुढाले बताए। बजार अभाव, सडकको असुविधा, ढुवानी समस्यालगायत समस्याका कारण नपाक्दै सस्तो मूल्यमा व्यापारीलाई जिम्मा लगाउन बाध्य हुने स्थानीय स्याउ कृषक हरि बुढाले जानकारी दिए।

‘स्याउ राम्रोसँग भदौ अन्तिममा पाक्छ, तर व्यापारी कृषकको समस्याको फाइदा उठाउन साउन अन्तिममै गाउँमा आइपुग्छन्, कृषक बाध्य भएर मात्र रु २० देखि ३० मा स्याउ बगैँचा जिम्मा लाउन बाध्य हुनुपर्छ’, उनले दुःखेसो पोखे, ‘राम्रोसँग पाकेको स्याउको स्वादै मिठो हुन्छ। यहाँबाट सस्तो मूल्यमा लिएको काँचै स्याउ पनि व्यापारीले नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत सहरमा प्रतिकिलो २०० रुपैयाँभन्दाबढीमा बेच्ने गर्छन्।’

अर्का कृषक रुद्री बुढाले यस वर्ष ११ क्विन्टल स्याउ जम्मा ३५ हजारमा बेचेको गुनासो गरे। ‘मेरो बगैँचामा तीन सय बोट स्याउ छन्, पछि बिक्री हुँदैन कि भन्ने चिन्ताले साउन अन्तिममा नै सस्तो मूल्यमा स्याउ बगैँचा नै जिम्मा लाइसकेँ’, बुढाले थपे, ‘व्यापारीले बोटमै प्रतिकिलो५० रुपैयाँसम्म पाए कृषकलाई केही राहत हुन्छ, तर व्यापारीले बढीमा ३० रुपैयाँ भन्दा धेरै हाल्न मान्दैनन्, बेचौँ घाटा छ, नबेचौँ पछि बिक्री गर्न समस्या हुन्छ।’ बिचौलिया व्यापारीले डोल्पाबाट लिएको स्याउबाट पाँच गुणाभन्दा पनि धेरै फाइदा खाने गरेको उनको भनाइ छ।

अहिले स्याउका बोटमा हाँगा, फेदबाट बोक्रा निस्कने र त्यसपछि स्याउका बोटै सुक्न थालेको कृषक बताउँछन्। नगरपालिकाले कृषि प्राविधिक पठाएर कृषकको समस्या समाधान गरिदिन आग्रह गरेका छन्। त्यसैगरी वडा नम्बर ३ जिउँका कृषक रामबहादुर गुरुङले पनि तीन सय बोट स्याउ रोपेका छन्। उनको बगैँचामा प्रत्येक वर्ष तीस क्विन्टलसम्म स्याउ फल्छ।, तर उनलाई उत्पादित सबै स्याउ बिक्री नहुने चिन्ताले पिरोल्ने गर्दछ।

‘बगैँचा नै राताम्य हुने स्याउ फलेको छ, डोल्पामा सबै स्याउ खपत हुने ठूलो बजार छैन, जिल्ला बाहिरका बजारमा लैजान कच्ची बाटो र ठाउँ ठाउँमा पुल नहुँदा एक दर्जनभन्दा धेरै ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ, यसरी लैजाँदा स्याउको मूल्यभन्दा ढुवानी रकम धेरै हुन्छ’, उनले भने, ‘डोल्पासम्म सडकको राम्रो सुविधा भएको भए बर्सेनि लाखौँ रुपैयाँ डोल्पाली कृषकले कमाउँथे, जिल्ला बाहिरबाट काँचै स्याउ सस्तो मूल्यमा किन्ने व्यापारी त आएका छन्, भने जतिको मूल्य नपाइने भएकाले बिक्री गरेको छैन।’

सोही गाउँका स्याउ कृषक जसमान केसीले पनि सात रोपनी क्षेत्रमा स्याउ लगाएका छन्। उहाँलाई पनि उत्पादन भएको सबै स्याउ बिक्रीको चिन्ता छ। गाउँका धेरैजसो कृषकले २० देखि ३० मूल्यमा काँचै स्याउ बिक्री गरे पनि आफूले बिक्री नगरेको उनले बताए। कृषकले वर्षभरि दुःख गरेर उत्पादन गरेको स्याउ राम्रोसँग पाकेपछि भदौ अन्तिममा मात्र बेच्न पाउने समय निर्धारण गरी मूल्य तोकिदिएको भए धेरै राहत हुने त्रिपुरासुन्दरी नगरपालिका–४ का अध्यक्ष रञ्जित बुढाले बताए

नगरपालिकाले मूल्य निर्धारणमा चासो नराख्दा कृषक मारमा र बिचौलिया व्यापारी फाइदामा भएको उनको भनाइ छ। उत्पादन भएजतिको सबै स्याउ उचित मूल्यमा बिक्री हुने हो भने स्याउबाट मात्रै डोल्पामा प्रत्येक वर्ष लाखौँ रुपैयाँ भित्रने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ।

डोल्पाबाट नेपालगन्ज, सुर्खेतसम्म सीधा गाडी पुग्ने व्यवस्था नहुञ्जेलसम्म स्याउ कृषक सधैँ मारमा पर्ने कार्यालयको भनाइ छ। डोल्पामा ४१२ हेक्टर जमिनमा स्याउ खेती गरिएको र प्रत्येक वर्ष तीन हजार दुई सय ९६ मेट्रिक टन स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए।

त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकालाई काँचो स्याउ बिक्री–वितरणमा रोक लगाउन भने पनि चासो नदिएको उनको भनाइ छ। यस वर्षदेखि त्रिपुरासुन्दरी नगरपालिकाले व्यापारीबाट प्रतिकिलो एक रुपैयाँ ५० पैसा ढुवानी कर लगाउन शुरु गरेको छ। डोल्पामा स्थानीय जातको रेड, गोल्डेन स्याउ उत्पादन हुन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस