२३ क्विन्टल सुन रातारात बाहिर पठाइएको सूचना हामीसँग छ : गोकुल बास्कोटा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२३ क्विन्टल सुन रातारात बाहिर पठाइएको सूचना हामीसँग छ : गोकुल बास्कोटा


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफूहरूले उच्चस्तरीय छानबिन आयोगको माग गरेपछि २३ क्विन्टल सुन रातारात बाहिर पठाइएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ठूलो मात्रामा सुन बाहिर पठाएर एक क्विन्टल सुन समातिएको बताए ।

उनले भने, ‘यो फगत नौटङ्की हो वा खास कारणले समातियो, यसको पनि पर्दा खुल्दै जाला । अब हामी एउटा आयोग बनाउने कुरा गरेपछि त्यसको प्रतीक्षामा छौँ ।’

लोकतन्त्रमा प्रतिपक्षको आवाज रोक्न खोजेपछि संसद अवरोध भएको बास्कोटाले बताए । उनले स्टन्ट छाडेर सत्य तथ्य कुरा बाहिर ल्याउन चुनौती दिए ।

सांसद बास्कोटाले पूर्व देखाएर पश्चिम हान्ने माओवादीको नीतिप्रति संकेत गर्दै जलहरी र ३३ किलो सुनको हल्ला सदनमा चलाएर सरकारले एयरपोर्टमा क्विन्टलका क्विन्टल सुन तस्करी गरेको आरोप लगाए ।

उनले नेकपा एसका मेटमणी चौधरी,माओवादी केन्द्रका राजन दाहाल,काँग्रेसका रामहरि खतिवडाहरूप्रति संकेत गर्दै फलानो फाइल खोलेर फलानो नेतालाई थुन्छौँ भन्ने हावादारी कुरा नगर्न चेतावनी दिए ।उनले सबै फाइल खोल्न चुनौती समेत दिए ।

बास्कोटाले भने–सत्तापक्षले रुखको हाँगामा बसेर पात हल्लाउने कुरा नगर्नुस् । स्टन्टबाजी होइन जरासम्म पुग्ने हिम्मत देखाउनुस् । सत्तापक्षका सांसदले फलानो विपक्षी दलको नेता फलानो मितिमा जेल जान्छ भन्ने ? लैजानुस् न पाता कसेर,कसले रोकेको छ ? ललकार्ने,तर्साउने किन ? यस्ता हावादारी वाहियात कुरा नगर्नुस्, जनताको नेताको अपमान गर्ने कुरा स्वीकार्य छैन ।

बास्कोटाले हालै प्रधानमन्त्रीले बालुवाटारमा सम्पादकहरूलाई बोलाएर कसले निर्णय गरिरहेको छ आफूलाई थाहा हुन छाडेको भनेर लाचारी व्यक्त गरेकोमा समेत आपत्ति जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस