प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान 


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका हुन् । 

आइतबार मध्याह्न साढे १२ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको सचिवालयको अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले अवरुद्ध संसद् खुलाउने विषयमा राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफलका लागि बैठक आह्वान गरिएको हो । 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले शनिबार मात्रै पनि आइतबारदेखि संसद् चल्ने दाबी गरेका थिए । आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । तर बैठक सञ्चालन हुने वा नहुने भन्ने कुनै निश्चित छैन ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले संसद्‌मा रहेको अवरोध खुलाउनेबारे सर्वदलीय बैठक बोलाएर समाधानका लागि पहल गर्न लागेका हुन् । यसअघि सत्ता गठबन्धनले संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग संवाद गरेर सदन खुलाउन पहल गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस