पढाइसँगै नौमती बाजा बजाउन सिकाइँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पढाइसँगै नौमती बाजा बजाउन सिकाइँदै


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । व्यास नगरपालिका-१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्यार्थी हिजोआज नियमित कक्षा लिनाका अलावा विद्यालयमा बाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् । 

विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन विद्यालयले नौमती बाजा बजाउने तालिम दिएपछि अहिले विद्यालयका छ विद्यार्थी, सोही सङ्ख्यामा शिक्षक र तीन अभिभावक गरी १६ जना नियमित नौमती बाजा बजाउने अभ्यासमा व्यस्त हुने गरेका छन् । गत साउन १८ गतेदेखि बागलुङका नौमती बाजा प्रशिक्षक प्रकाश थापाले दमाहा, सहनाई, नरसिंह, ढोलक, झ्याली, ट्याम्को बजाउने तालिम दिएपछि सहभागी बजाउन सक्ने भएका हुन् । तालिम पहिलो चरणमा एक महिनासम्म सिकाइने विद्यालयले जनाएको छ । 

“यति छिट्टै बजाउन सकिएला भन्ने लागेको थिएन”, तालिमको दौरान ट्याम्को बजाउँदै गरेका कक्षा १० का विद्यार्थी आश्रुत लामिछानेले भने , “सुन्दा आनन्द लाग्ने धुन निकाल्न बढी नै मेहनत चाहिने रहेछ ।” नौमती बाजा बजाउने तालिममा लामिछानेसहित कक्षा ७ का साहिल नेपाली, सफल विक, कक्षा ८ का पुरन थापा, सुमन नेपाली र निम दोर्जे शेर्पा, शिक्षकहरू नेत्रबहादुर दरै, सञ्जीता दरै, शान्तिकुमारी दरै, रमा दरै, अस्मिता आले, भरतबहादुर श्रेष्ठ र गोपाल थापा, अभिभावकहरूमा नेत्रप्रसाद पौडेल, दुर्गा सापकोटा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास रिजाल रहेका छन् । 

आफूले तालिममा सहभागी विद्यार्थी, शिक्षक र अभिभावकलाई नौमती बाजाको ताल र चरणका बारेमा जानकारी गराएको प्रशिक्षक थापाले बताए । सहभागीले सबै बाजा बजाउन १० दिनमै सिके पनि सहनाइ र नरसिंह बजाउन भने करिब तीन महिनाको समय लाग्ने प्रशिक्षक थापाको भनाइ छ । 

“तालिममा सहभागीहरूले निकै अभिरुचिका साथ बाजा बजाउन सिक्नुभएको छ”, प्रशिक्षक थापाले भने, “सहनाई र नरसिंह बाजा बजाउन भने अझै समय लाग्छ ।” यसअघि आफूले विभिन्न समुदायलाई नौमती बाजा बजाउने तालिम दिए पनि विद्यालय स्तरका बालबालिका, शिक्षक र अभिभावकलाई तालिम दिएको यो दोस्रो भएको प्रशिक्षक थापाले बताए । विद्यालयस्तरकै बालबालिकालाई यसरी नौमती बाजा बजाउन सिकाउनुले संस्कृतिको संरक्षणमा टेवा पुग्ने आफूले ठानेको उनले बताए ।   

नियमित कक्षालाई असर नपर्ने गरी अतिरिक्त कक्षाका रूपमा आफूहरूले विद्यार्थी, शिक्षक र केही अभिभावकलाई नौमती बाजा बजाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए। लोप हुँदै गएको बाजालाई विद्यालय तहबाटै संरक्षण गर्नुपर्ने ठानेर आफूहरूले एक महिने तालिम दिएको उनको भनाइ छ । 

तालिममा सहभागीले बाजा बजाउन सिकेर नौमती बजाउन इच्छुक अन्य विद्यार्थीलाई समेत सिकाउँदै लैजाने योजना विद्यालयको रहेको प्रधानाध्यापक कोइरालाले बताए । नौमती बाजाका अलावा विद्यालयले नृत्य शिक्षकसमेत राखेर विद्यार्थीलाई नृत्य प्रशिक्षण दिँदै आएको जनाएको छ । नौमती बजाउने तालिमका लागि करिब रु एक लाख खर्च हुने विद्यालयले जनाएको छ । 

“नौमती बाजा लोप हुँदै गएको छ, अब विद्यालय तहबाटै संरक्षण गर्नुपर्छ भनेर नै हामीले तालिम प्रदान गरेका हौँ”, उनले भने, “यो तालिम दिएपछि सबैतिरबाट अहिले सकारात्मक प्रतिक्रियाले झनै हौसला मिलेको छ ।” तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न आफूहरूले तिहारमा खेलिने देउसी भैलो, विभिन्न सांस्कृतिक पर्व र विद्यालयका अतिरिक्त क्रियाकलापमा विद्यार्थीबाट नौमती बजाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजालले बताए । 

“सिकेको सीपलाई त्यसै खेर जान दिइने छैन”, उनले भने, “नौमती बाजाको संरक्षणका लागि हाम्रा विद्यार्थी अग्रसर भएका छन् भन्ने सन्देश दिन आवश्यक छ ।” विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त बैठक बसी नौमती संरक्षण गर्न अग्रसर रहने प्रतिबद्धता गरी तालिम दिने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजालले जानकारी दिए । उक्त विद्यालयमा हाल दुई सय १२ विद्यार्थी र २१ शिक्षक कार्यरत छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस