एउटै सडकमा तीनथरी मापदण्ड, सबैमा अन्योल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एउटै सडकमा तीनथरी मापदण्ड, सबैमा अन्योल


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ ।  मुग्लिन-पोखरा सडक खण्ड पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वार हो । यहाँ पछिल्लो समय चार लेनको बनाउने गरी सडक विस्तार र स्तरोन्नति हुँदैछ ।  सङ्घीय राजधानी काठमाडौँ र गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने उक्त सडक विस्तार र स्तरोन्नतिको काम एसियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिन-पोखरा सडक सुधार आयोजनाअन्तर्गत भइरहेको छ ।

सुस्त गतिमा काम अघि बढ्दा सडक आसपासका व्यवसायी तथा सर्वसाधारण दिक्क छन् । पोखरा आउजाउ गर्ने यात्रुपनि सडकको धुलो र हिलोले हैरान छन् । सडकमा पानी पर्दा हिलो तथा अरु बेला धुलो नै धुलो हुन्छ । ठाउँ ठाउँमा पहिराका कारण यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । पोखरा-काठमाडौंको पाँच घण्टाको यात्रा १०-१२ घण्टासम्म लम्बिने गरेको छ । 

सडक स्तरोन्नति सुस्त गतिमा हुँदा पोखराको पर्यटन व्यवसाय प्रभावित बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायाण श्रेष्ठ बताउछन् । विगतमा कोभिड-१९ लगायत कारणले थलिएको पोखराको पर्यटन व्यवसाय पोखरा-मुग्लिन सडकको अवस्थाले झन् थला परेको उनले बताए ।

“सडकको काम समयमै सम्पन्न गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ”, उनले भने-“चाँडो काम सम्पन्न गर्ने व्यवस्था मिलाएर आवतजावत सहज बनाउनुपर्छ ।” थलिएको पर्यटन बिस्तारै अघि बढे पनि मुग्लिन-पोखरा सडक खण्डका कारण समस्या भएको अध्यक्ष श्रेष्ठ बताउछन् । सडक स्तरोन्नति र विस्तार आवतजावतलाई असर नगर्ने ढङ्गले गर्नुपर्ने  उनको भनाइ छ ।

पोखरा-मुग्लिन सडक खण्डलाई आँबुखैरेनी र जामुने तथा जामुने-पोखरा गरी दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ । आँबुखैरेनी-जामुने खण्डमा हालसम्म ३१ प्रतिशत र जामुने-पोखरा खण्डमा आठ प्रतिशत मात्र काम भएको छ । विदेशी तथा स्वदेशी पर्यटक घण्टौँ सडकमा बस्न बाध्य छन् । सडककै कारण बिरामी र अशक्त यात्रुलाई समस्या भएको अध्यक्ष श्रेष्ठले बताए ।

सम्झौता अनुसार उक्त सडक खण्डको स्तरोन्नति अबको आठ महिनामा सम्पन्न गर्नुपर्ने छ । दुई वर्षमा आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा ३१ प्रतिशत मात्रै काम भएको छ । जामुनेदेखि पोखरासम्मको खण्डमा आठ प्रतिशत काम भएको छ । पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी छ । मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअघि मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम थालिने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

यस खण्डमा पाँच सय पाँच घरटहरा भत्काउनुपर्नेमा हालसम्म तीन सय ५० घरटहरा भत्काइसकिएको छ । घरटहरा भत्काउँदा रु. २६ करोड मुआब्जा निर्धारण भएकामा हालसम्म रु. १७ करोड ५० लाख मुआब्जा वितरण गरिएको उनले बताए । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्र गर्न थालिएको छ । झण्डै ४२ किमि यो खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यसको म्याद २०८१ वैशाखसम्म रहेको प्रमुख सुवेदीले बताए ।

विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चार लेनको बनाउन थालिएको हो । पूर्वी खण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाखमा तथा पश्चिम खण्डको ठेक्का रु. सात अर्ब ४० करोड ४६ लाखमा गरिएको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको हो । 

यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ भदौसम्म रहेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

काम ढिलाइले अर्थतन्त्र मारमा

निर्माणधीन सडक खण्डको ढिलाइले समग्र अर्थतन्त्र मारमा पारेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी बताउछन् । काम सन्तोषजनक नदेखिएको उल्लेख गर्दै उनले यसप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।

मुग्लिन पोखरा सडकखण्डको कामको ढिलाइका कारण बन्दीपुरको पर्यटन व्यवसाय प्रभावित बन्न पुगेको क्षेत्रीय होटेल सङ्घ बन्दीपुरका सभापति सङ्गीता प्रधानले बताए । उनले भने, “चितवनबाट आउने पर्यटक मुग्लिनबाटै काठमाडौँ फर्किन्छन् । बाटोकै कारण बन्दीपुरमा पर्यटकको आगमन घटेको छ । यहाँका व्यवसायी मारमा परेका छन् ।”

धुलाम्य र हिलाम्य बाटोका कारण पर्यटक बन्दीपुर उक्लिन गाह्रो मान्ने गरेको अवस्था रहेको उल्लेख गर्दै प्रधानले पोखरा आएका पर्यटक सडक मार्ग भन्दा हवाई मार्गबाट काठमाडौँ जाने गरेका बताए ।  उनले भने, “सडक राम्रो हुन्थ्यो भने बन्दीपुर आएर एकरात भए पनि पर्यटक बस्ने अवस्था थियो । बन्दीपुरको मुख्य व्यवसाय होटेल पर्यटन भए पनि अहिले हामी मारमा छौँ ।”

तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष बैकुण्ठनाथ मिश्र सडक धुलाम्य र जलाम्य हुँदा ज्यानै जान सक्ने खतरा रहेको बताउछन् । उनले भने, “काम सुस्त छ, प्रदूषणले गर्दा ज्यानै जान सक्ने खतरा बढेको छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।” मिश्रले राजमार्गकै कारण व्यापार व्यवसाय चौपट भएको गुनासो गरे । 

तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले एउटै सडकमा तीनथरी मापदण्डले सबैमा अन्योल रहेको बताए । उनले भने, “सडक फराकिलो हुने कुरामा सबै खुसी छौँ, काममा ढिलाइ भइरहेको छ । तर मापदण्ड एउटै छैन । यसले अन्योलता बढायो ।”

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले सडकको काम तीव्र गतिमा गर्नका लागि आयोजनालाई ध्यानाकर्षण गराइएको बताए । 

मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले काम सन्तोषजनकरुपमा भइरहेको बताए । उनका अनुसार हालसम्म ३२।५ प्रतिशत भौतिक प्रगति भएको छ । भदौदेखि कालोपत्रको काम सुरु गर्न निर्माण कम्पनीले सबै व्यवस्थापन गरिसकेको उनको भनाइ छ । उक्त खण्डमा १४ साना पुल सम्पन्न भइसकेका छन् । तीन वटा निर्माणको चरणमा छन् । बजार क्षेत्रमा छ तथा अन्यत्र चार लेनको सडक बनाउने योजना छ । 

जिल्लाका विभिन्न पालिका प्रमुखले आयोजनाको काममा सहजीकरण गर्दै आएको बताएका छन् । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले कामको गति सुस्त हुनुमा ठेकेदारको कमजोरी रहेको बताए । 

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडकको कामको गति बढाउनुपर्ने बताए । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले काममा ढिलाइ गर्नेलाई कारबाही र छिटो गर्नेलाई पुरस्कारको व्यवस्था गरिनुपर्ने बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सडक निर्माणको ढिलाइले प्रदेशको अर्थतन्त्रमा असर पुगेको र त्यसबाट बन्दीपुरको पर्यटन क्षेत्र पनि प्रभावित बन्न पुगेको  बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस