सरकारले युवालाई विदेश पलायनबाट रोक्न विशेष कार्यक्रम मार्फत सम्बोधन गर्न ढिला भइसक्यो : उपाध्यक्ष बस्नेत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले युवालाई विदेश पलायनबाट रोक्न विशेष कार्यक्रम मार्फत सम्बोधन गर्न ढिला भइसक्यो : उपाध्यक्ष बस्नेत


२७ श्रावण २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय युवा परिषद्का उपाध्यक्षले सरकारले युवाको लागि तय गरेको नीति तथा विभिन्न कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसक्नुको प्रमुख कारण सरकारले यो क्षेत्रमा छुट्याएको अति न्यून बजेटलाई देखाएका छन् । उनले हाल राज्यमा भएको ऊर्जावान्, दक्ष युवा जनशक्तिलाई विदेश पलायनबाट रोकेर तीनै तहका सरकारले समन्वयात्मक रूपमा युवा लक्षित विशेष कार्यक्रम ल्याई उनीहरूलाई सम्बोधन गर्न ढिला गर्न नहुने बताएका छन् । २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतसँग गरिएको कुराकानी

विश्व युवा दिवसको तयारी के कस्तो गर्नु भएको छ ?

हामी २४ औं अन्तराष्ट्रिय युवा दिवसको भव्य तयारी गरिरहेका छौ । नेपालमा पनि २००४ देखि खासगरि गैर सरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरियो । अगष्ट १२ अर्थात् साउन २७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा राष्ट्रिय सभा गृहमा मूल समारोह आयोजना गर्ने छौ । त्यसै गरि युवाका क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरूसँग सम्बन्धित युवाहरूको सहभागितामा ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ,नवप्रवर्द्धन र उद्यामशिलतामा सिप विकास’ भन्ने नाराका साथ मार्चपास गर्छौ ।

हामीले साथाव्यापी रूपमा रक्तदान कार्यक्रम, युवा र उद्यामशिलताको विषयमा बहस लगायतका विभिन्न कार्यक्रमको आयोजनागरी सप्ताव्यापी रूपमा विभिन्न कार्यक्रमका आयोजना गरेका छौं र यो दिवसलाई भव्य रूपमा मनाउँदै छौ ।

जस्तो तपाईँले पृष्ठभूमिको कुरा गर्नुभयो,सन् २००० मा युवा मन्त्रीहरूको सक्रियतामा आवाज उठाएर यो दिवस मनाउन सुरु गरिएको छ । यो विगतको र आजको सन्दर्भमा हेर्दा अहिलेका युवा र उनीहरूको लागि गरिएको कामलाई लिएर तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ ?

सन् १९९९ सयमा विश्वभरिका युवा मामिला हेर्ने मन्त्रीहरूको शिखर सम्मेलनले अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउन सिफारिस गर्‍यो र उक्त सिफारिसलाई संयुक्त राष्ट्र संघले अनुमोदन गरेपश्चात् सन् २००० बाट अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाइँदै आइयो । नेपालमा अब युवाहरूको जागरण, सशक्त, क्षमता विकास, नेतृत्व विकास, उद्यामशिलताको विकासको लागि यो छुट्टै युवा मन्त्रालय चाहिन्छ भन्ने आवाज त्यहीबाट उठ्न थाल्यो । त्यो सँगै वि.स २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भयो र २०६६ सालमा राष्ट्रिय युवा नीतिको प्रारम्भिक ड्राफ्ट बन्यो । त्यसपछि २०७२ सालमा आई पुग्दा राष्ट्रिय युवा परिषद् ऐन २०७२ जारी भयो । त्यो परिमार्जित ऐनल १६ देखि ४० वर्षको उमेर समूहको जनसंख्यालाई हाम्रो देशमा युवाको रूपमा परिभाषित गरेको छ ।

२०७८ सालको जनगणना अनुसार यस्तो जनसंख्या ४२. ५६ प्रतिशत अर्थात् अहिले १ करोड २४ लाख युवाहरू नेपालमा हुनुहुन्छ । यति ठूलो ऊर्जावान् युवाहरू हुनुलाई जनसाङ्ख्यिक लाभको रूपमा लिइएको छ । त्यो जनशक्तिको लाभ लिनको लागि ती युवाहरूलाई स्वदेशभित्रै भाग्य, भविष्य, आशा र भरोसा देखाउनको लागि नेपाल सरकारले, युवा तथा खेलकुद मन्त्रालयले, राष्ट्रिय युवा परिषद् र युवाको क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला संस्थाहरूले एकीकृत रूपमा देशभित्रै युवाहरूलाई उद्यामशिलताको क्षेत्रमा,नवप्रवर्द्धनको क्षेत्रमा अग्रसर गराउनको लागि विभिन्न प्रयास र पहल कदमीहरु गर्दै आएका छौ । र यो अन्तर्राष्ट्रिय युवा दिवसको सप्तालाई हामीले युवा जागरणको, सशक्तिकरणको, नेतृत्व विकासको, आत्मनिर्भर बनाउने सप्ताहको रूपमा मनाउने गरेका छौ ।

तपाई युवा अवस्थादेखि नै राजनीतिसँग एकदमै धेरै नजिक रहेर युवाहरूसँग हरेक क्षेत्रमा जोडिएर आजको अवस्थामा आई पुग्नु भएको छ । तर, आजका युवाहरू विदेश पलायन हुने संकेत गर्नुभयो, राजनीतिक क्षेत्रमा केही हदसम्म युवाहरूको प्रवेश भए पनि देशमा युवाले प्राथमिकता नपाएको अवस्थामा तपाइँहरुलाई चुनौती छ जस्तो लाग्दैन् ?

अवश्य पनि नेपालमा पछिल्लो तथ्याङ्क हेर्दा ६ लाखभन्दा बढी मानिसहरू गएको आर्थिक वर्षमा बिदेसिनु भएको छ । अनौपचारिक हिसाबले त झनै ५० देखि ६० लाख युवाहरू विभिन्न देशमा कामको सिलसिलामा रहेको पाइन्छ । देश भित्रै युवाहरूलाई राख्ने, देशभित्रै रोजगारी दिने परिस्थिति निमार्ण हुन सकेको छैन । राजनीतिमा पनि युवा वितृष्णा उत्तिकै छ ।
पछिल्लो चरणको स्थानीय तहको निर्वाचन हाम्रो लागि सन्तोषजनक विषय छ । किनभने ४० वर्षमुनिका ४१.१४ प्रतिशत जनप्रतिनिधिहरू स्थानीय तहमा निर्वाचित हुनु भएको छ । यो पक्कै सकारात्मक कुरा हो । तर, त्यसको तुलनामा प्रतिनिधि सभामा जन्म ३३ जना मात्र सदस्यहरू हुनुहुन्छ । त्यो जम्मा १२ प्रतिशत मात्रै हो । प्रदेश सभामा ११० जना प्रदेश सांसदहरु निर्वाचित हुनुभएको छ । यो २० प्रतिशत हो । यसैले देशमा युवा जनसङ्ख्याको जति प्रतिशत उपस्थिति छ त्यति नै प्रतिशत युवाहरू राज्यका हरेक निकाय, संवैधानिक अङ्ग, राजनीतिक दलहरूमा पनि समाष्टि हुनुपर्छ । भन्ने आवाज हामीले निरन्तर उठाउँदै आएका छौ । पहिलो कुरा राजनीतिमा पनि युवाहरूलाई उचित मात्रामा स्थान नदिँदा वितृष्णा बढेको र युवाहरूले स्थान नपाएपछि अ नेत्र जाने गरेको पनि हामी देख्छौ । त्यसैले नीति निर्माण तहदेखि कार्यान्वयनको तहसम्म युवाहरूको सहभागितालाई अधिकतम रूपले बढुवा दिनु जरुरी छ ।

दोस्रो कुरा विदेशमा ठूलो जनशक्ति गएको छ, त्यहाँबाट सिकेको ज्ञान, सिप, कला, क्षमता र आर्जन गरेको थोरै पूजीलाई मुलुकभित्र लगानी गरेर एउटा उद्यामशिलताको नयाँ मार्गमा राष्ट्रव्यापी रूपमा युवाहरूलाई परिचालित गर्न राज्य, सरकार र हामी जस्ता निकायहरूले पहल कदमी गर्नुपर्छ । यस वर्षलाई युवा उद्यामशिलताको वर्षको रूपमा सरकारले घोषणा गरेको छ । यो पक्कै सकारात्मक कुरा छ र त्यसलाई नतिजामुखी बनाउनुपर्छ । युवाहरूलाई अध्ययन सकिसकेपछि नेपालमा नै सम्भावना देखाउन, भविष्य देखाउन अब ढिला गर्नु हुदैँन् ।

२ दशकपछि नेपाल आश्रितहरूको बहुसंख्या भएको देश हुनेछ र हामीलाई जानसांख्कि लाभ गुमाउने छौ । त्यो हुनुभन्दा अगाडि नै राज्यले, सरकारले, योजना आयोगले, अर्थ मन्त्रालयले र सबै सम्बन्धित निकायहरूले युवाहरूलाई उद्यामशिलतामा जोड्नका लागि विशेष योजनाका साथ अगाडि बढ्नुपर्छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समन्वयात्मक ढङ्गले आम रूपमा युवाहरूलाई राष्ट्रव्यापी अभियानका साथ उद्यामशिलतामा जोड्नु पर्छ,यो आजको आवश्यकता हो । 

तपाई जिम्मेवार पदमा हुनुहुन्छ । तपाईँले भनेका कुरा कार्यान्वयनका लागि कहाँ साँच्चीकै समस्या छ भन्ने देखिन्छ ? राज्यले युवाहरूबाट किन लाभ लिन सकेन ? 

यूवाको महत्त्व आवश्यकता पछिल्लो समयमा क्रमशः जिम्मेवार निकायले अनुभूत गर्दै गएको पाउँछौ । युवा नीति बनेको छ । युवा परिषद् ऐन बनेको छ । यूथ भिजन २०२५ बनेको छ । स्टार्टअपको कार्यविधि उद्योग मन्त्रालयले जारी गरेको छ । श्रम रोजगार मन्त्रालयले युवा शसक्तीकरणको लागि विभिन्न कार्यक्रम ल्याएको छ । कृर्षि मन्त्रालयले युवाहरूलाई जोड दिएर कुनै कुनै रूपमा कार्यक्रम ल्याएकै छ । 

अझै युवाहरूको अपेक्षाको तुलनामा राज्यको वा सरकारको वा हामी जस्ता निकायको पहल कदमी अझै सन्तुष्ट हुने गरी पुग्न सकेको छैन । विगतमा त्यति धेरै ध्यान पनि पुगेन तर अब पछिल्लो चरणमा आई पुग्दा यूवाको तागत र महत्त्व के हो ?रेमिटेन्सले मात्र जिजिविसा धान्ने कुरा होला निर्वाहमुखी अर्थतन्त्र चल्ला तर मुलुकले समृद्धि हाँसील गर्न सक्र्दैन् । त्यसैले देशभित्र नै ब्रेन गेन गरेर युवाहरूमा भएको तागत, क्षमता र दक्षतालाई मुलुक भित्र नै सदुपयोग गरेर जनसांख्किीक लाभांश खाडी मुलुकले हैन आफैँले देशभित्र उठाउनु पर्छ । उत्तर र दक्षिणमा रहेको विशाल बजारमा हामीले कृर्षि,पर्यटन,उद्यम मार्फत हाम्रो युवालाई त्यो विशाल बजारसँग जोडेर उत्पादनलाई निर्यात गर्न सक्यौँ भने विकास र समृद्धिको खिर खान हामी नेपालीलाई समय लाग्दालाग्दै । यसको लागि अठोट र सङ्कल्प चाहिन्छ । 

राज्यले सही र ठोस् नीति बनाउनुपर्छ । त्यसको प्रभावकारी कार्यान्वयन र नतिजा हासिल गर्ने कुरामा हामी सबै दृढतापूर्वक रूपमा युवालाई मूल विन्दुमा राखेर काम गर्नुपर्छ ।  

भिजन सबै राम्रौ देखिन्छ तर, युवा नीति तथा कार्यक्रमको कार्यान्वयनमा फितलोपन र नीति कार्यान्वयनमा के कारण चुक्यौँ त हामी ?

हाम्रो केही नीति र संरचनाहरू बनेका छन् । युवाको क्षेत्रमा यो पक्कै राम्रो हो । तर,बनेका नीति कार्यक्रमको कार्यान्वयन चरणमा पुग्दा नतिजाको खोजी हुँदा सन्तोषजनक परिणाम नआउनुमा बजेटको अभाव हुनु नै मुख्य समस्याको श्रपमा देखिएको छ । 

नीति छ तर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने र नतिजा हासिल गर्ने प्रयाप्त बजेट छैन सबैभन्दा ठूलो चुनौती यही हो । पर्याप्तताको कुरा छोडौँ । अत्यन्तै न्यून बजेट मात्र छ,जसले लक्षित समुदायमा पुग्ने अवस्था रहँदैन । स्वरोजगार बनाउन चाहिने तयारीको पाटो त्यसले पुग्दैन । त्यसैले नीति छ कानुन छ तर कार्यान्वयन गर्ने प्रभावकारी संयन्त्र र बजेट छैन । 

प्रधानमन्त्रीले पनि युवालाई उद्यमशीलतामा जोड्न प्राथमिकताकासाथ पूर्ण जोड दिनुभएको छ । यो वर्षलाई युवा उद्यमशीलताको वर्षका रूपमा सरकारले घोषणा गरेको छ । ठोस कदम सहित सरकारको तर्फबाट सबै सस्ताहरू र निजी क्षेत्र गैरसरकारी क्षेत्र सबैले एकीकृत भएर लाग्नुपर्छ । 

हरेक वर्ष यो दिवस मनाउँछौँ युवाहरूमा यो दिवसको महत्त्व बुझेर भोलीबाट युवाहरूमै परिवर्तन आउँनेगरी कसले के गर्नुपर्ला ?

अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भ भनेको युवाहरूले आफूलाई चिन्ने कुरा पनि हो । राज्यले वा सरकारले युवालाई चिनोस् भनेर घचघच्याइने पनि हो । युवाका समस्याहरू के छन्, चाहाना र आवश्यकता के छन् बुझ्ने पनि हो । समस्या पहिचान भएपछि समाधानको उपाय र मार्ग के हो नीति र कानूनको क्षेत्रमा बाटो पहिल्याउने पनि हो  । त्यति भएपछि समस्या समाधान हुन्छ युवा नै देशका मेरुदण्ड हुन् सारथी हुन् । युवाले नै देशलाई काँधमा बोक्न सक्छन् । मुलुकको काँचुली फेर्न सक्छन् । त्यो हिसाबले प्रवर्द्धन गर्न जरुरी छ । देशलाई विकास गर्न युवाहरू जुट्नुपर्छ र त्यही युवाहरूलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस