म्यानमारमा बन्धक बनाइएका नेपालीहरूको कहिले होला उद्धार ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

म्यानमारमा बन्धक बनाइएका नेपालीहरूको कहिले होला उद्धार ?


१३ श्रावण २०८०, शनिबार


काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढ्दो छ । रोजगारीमा जानेहरु ठगीने मात्र होइन, उनीहरुलाई बन्धी बनाएर काम लगाउने गरेको पाइएको छ । 

राम्रो रोजगारीको प्रलोभनमा म्यानमार पु¥याइएका नेपालीहरुलाई आपराधिक समूहले बन्धी बनाई काम लगाउने गरेको हो । म्यानमारस्थित नेपाली दूतावास र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बन्दी बनाइएको भन्दै उद्धारका लागि निवेदन आएका छन् ।

म्यानमारमा बन्दी बनाइएकाहरुले दूतावसमा इमेलमार्फत उद्धारका लागि आग्रह गरेका छन् । २५ जनाले उद्धारका लागि निवेदन दिएको दूतावासले जनाएको छ । यसैगरी मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पनि म्यानमार पुगेका १३ जनाका परिवार तथा आफन्तले हाम्रो मान्छेलाई बन्धक बनाएर जबरजस्ती काममा लगाएको भन्दै उद्धारका लागि निवेदन दिएका छन् ।

महिनौँदेखि चिनियाँ आपराधिक समूहले बन्धक बनाई यातना दिन थालेपछि उनीहरुले उद्धारका लागि हारगुहार गरेका हुन् । आफ्नो दाजुलाई क्याम्पमा बन्धक बनाएर काम लगाउने गरेको र तलब नदिएको काठमाडौं कोटेश्वरका निरज खड्काले बताए । दाजुको उद्धारका लागि मानव बचेविखन अनुसन्धान व्यूरोमा निवेदन दिएको उनले बताए ।

म्यानमार पुगेका नेपालीहरुले चिनियाँको अनलाइन स्क्यामिङमा काम गरिरहका छन् । सुरुमा कम्प्युटरमा डाटा इन्ट्रीको काम भनेर हस्ताक्षर गराउने, तर पछि अनलाइन ठगीको काम गराउने गरेको उनीहरुले बताएका छन् । 

यसरी ठगीमा पर्नेको यकीन तथ्याङ्क भेटिँदैन । कोही नेपालबाट भारतको कोलकत्ता, थाइल्यायण्ड हुँदै म्यानमार पुगेका छन् भने कोही युएइबाट थाइल्याण्ड हुँदै म्यानमार पुगेका छन् । थाइल्याण्डको भिजिट भिसा र विजनेश भिसामा गएको पाइएको छ । वैदेशिक रोजगारीमा जानेहरु, सामाजिक सञ्जालमा आउने विज्ञापन, आफन्त, वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी लगायतबाट ठगीएका छन् ।

ठगीको तारगेट पुरा नगरे यातना : प्रहरी

आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई म्यानमार पु¥याई अवैध अनलाइन स्क्याम (ठगी)मा लगाइएको र चरण शोषण गरिएको गुनासो प्रहरीमा आएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोमा थाइल्याण्ड भनेर म्यानमार पुगेका र म्यानमार नै भनेर गएकाहरुका १३ जना आफन्तले हाम्रो मान्छेलाई बन्धक बनाएर जबरजस्ती काममा लगाएको भनेर निवेदन दिएका छन् । यसैगरी म्यानमारबाट फर्केर आएका २ जनाले जाहेरी दर्खास्त पनि दिएका छन् ।

नेपाल फर्किन पनि सहज छैन । फर्किनेले फिरौती बुझाउनु पर्ने वा चारपाँचजना व्यक्ति त्यहाँ बोलाउनु पर्ने प्रस्ताव उक्त समूहले राख्ने गरेको छ । फर्किएकाहरुले १३ लाखदेखि १५ लाख रुपैयाँसम्म फिरौती बुझाएका छन् । अहिलेसम्म ६ जना नेपाली म्यानमारबाट नेपाल फर्किएका छन् ।

प्रहरीले अनुसन्धानको क्रममा एकजना चिनियाँ नागरिक (पुरुष) र एकजना नेपाली नागरिक (महिला)लाई पक्राउ गरेको छ । उनीहरु माथि अनुसन्धान जारी रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

फर्केर आएकाले दिएको जानकारी अनुसार नेपालबाट कलकत्ता, कलकत्ताबाट थाइल्याण्ड र थाइल्याण्डबाट म्यानमार पु¥याइएको छ । थाइल्याण्डसम्म जहाजमा र थाइल्याण्डबाट करिब १३ घण्टासम्म गाडीमा राखेर म्यानमार पु¥याएको हो । म्यानमार पुगेपछि राहदानी नियन्त्रणमा लिने र कम्पाउण्ड भएको घरमा राखेर काम लगाउने गरिएको छ । अनलाइन स्क्यामिङमा लगाउने र तारगेट पुरा नगरे यातना दिने गरेको निवेदन परेको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

‘पीडितका अनुसार म्यानमारमा धेरै नेपालीलाई यसरी नै यातना दिएर काम लगाउने गरिएको छ,’ उनले भने, ‘उनीहरुको उद्धारका लागि नेपाल प्रहरी, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयबाट प्रयास भइरहेको छ ।’ 

सोधिखोजी गरिरहेका छौं : राजदूत घिमिरे

म्यानमारस्थित नेपाली दूतावासका अनुसार थाइल्याण्डको सीमा नजिक म्यानमारको म्यावडीमा नेपालीहरु ठगीमा परेको जानकारी प्राप्त भएको छ । २०७९ मंसिर दोस्रो साता नै ठगीमा परेको जानकारी दूतावासमा आएको थियो । 

आफूहरु ठगीमा परेको भन्दै १० जना नेपालीले इमेलमार्फत उद्धारका लागि आग्रह गरेका थिए । यसबारेमा म्यानमार सरकारका अधिकारीहरुसँग छलफल भएको दूतावासले जनाएको छ । म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेका अनुसार म्यानमारका गृह मन्त्री, सीमा मामिला मन्त्री, अध्यागमन मन्त्री, परराष्ट्र मन्त्रालयका कन्सुलर विभाग हेर्ने महानिर्देशकसँग यस विषयमा छलफल भएको छ । 

उक्त स्थानमा नेपाल लगायत ३० देशका ठूलो संख्यामा नागरिकहरुलाई रोजगारीका नाममा गैरकानूनी धन्दामा लगाउने गरेको पाइएको छ । द्वन्द्वग्रस्त क्षेत्र भएकाले उद्धारका लागि कठिनाई रहेको राजदूत घिमिरेले जानकारी दिए । पछिल्लो समय ठूलो संख्यामा नेपालीलाई बन्धक बनाएको खबर आएपछि दूतावासको ध्यानाकर्षण भएको र सोधिखोजी गरिरहेको राजदूत घिमिरेले बताए । ‘औपचारीकरुपमा २५ जना नेपालीले उद्धारका लागि अनुरोध गर्नु भएको छ,’ राजदूत घिमिरेले भने, ‘दूतावासमा प्राप्त जानकारीमा सोधिखोजी गर्दा एउटै क्याम्पमा ५०÷६० जनासम्म कार्यरत रहेको पाएका छौं ।’ 

युएइका कम्पनीमा काम गरिरहेका र विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपालीहरु अनलाइन फारम भरेर रोजगारीका लागि आएको पाइएको छ । उनीहरु श्रम स्वीकृत नलिइ त्यहाँ पुगेका हुन् । पीडितहरुले दूतावासलाई दिएको जानकारी अनुसार आफूहरुलाई मौखिक रुपमा राम्रो जागिर छ, कम्प्युटरमा डाटा इन्ट्री गर्ने हो भनेर ल्याइएको हो, तर त्यो प्रकारको काम नभएर अहिले अनलाइन ठगीको काममा लगाइएको छ । पाउनुपर्ने तलब पनि नपाएको र तार्गेटमा काम नभए यातना दिने गरेको उनीहरुले बताएका छन् । 

राजदूत घिमिरेका अनुसार कम्प्युटर इन्जिनियरिङ गरेका विद्यार्थीहरुलाई आकर्षक तलब दिने भनेर फसाइएको छ । ‘उहाँहरु थाइल्याण्डको भिसामा आउनु भएको छ । म्यानमारको भिसा छैन ।’ उनले भने, ‘म्यानमारको अध्यागमनमा नेपालीहरु म्यानमार प्रवेश गरेको तथ्यांक भेटिदैन । म्यानमार सरकारले भिसा दिएको पनि तथ्यांक छैन ।’

ल्याउँदा ठूलो रकम खर्चेको भन्दै फर्किन चाहेका नेपालीसँग ती कम्पनीले ठूलो रकम माग गर्ने गरेका छन् । १० हजारदेखि २० हजार डलरसम्म माग्ने गरेको बन्धक बनाइएकाहरुले जानकारी गराएका राजदूत घिमिरेले बताए । 

द्वन्द्ग्रस्त क्षेत्र भएकाले उद्धारका लागि पहुँच र च्यान नै नभएको सरकारी अधिकारीहरुको भनाइ छ । तर, दूतावासले उद्धारका लागि आग्रह गरिरहेको छ । ‘उद्धारका लागि ठूलो चुनौती छ । अवैधानिक रुपमा आएका कारण नेपालका निकाय यसमा सक्रिय हुनसक्ने अवस्था छैन,’ घिमिरेले भने ।

अहिलेसम्म दूतावासको सहयोगमा म्यानमार तर्फबाट १३ जना र थाइल्याण्डतर्फबाट ३० जना नेपालीको उद्धार गरिएको छ ।

उद्धारमा चुनौती : परराष्ट्र

परराष्ट्र मन्त्रालयले म्यानमारको म्यावडी क्षेत्रमा बन्धक बनाइएका नेपालीहरूको उद्धारमा चुनौती रहेको जनाएको छ । म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकोले उद्धार गर्न चुनौती पूर्ण रहेको मन्त्रालयले जनाएको हो ।

म्यावडी क्षेत्रमा नेपालीहरुलाई बन्दी बनाई अवैध काम गर्न बाध्य पारिएको विषयमा जानकारी आएपछि मन्त्रालयले थाइल्याण्ड र म्यानमार यात्रा सम्बन्धी ट्राभल एड्भाइजरी जारी गरेको हो । मन्त्रालयले शुक्रबार जारी गरेको ट्राभल एड्भाइजरीमा विदेशमा रोजगारी गर्न जाँदा पर्यटक÷भिजिट भिसामा नगई प्रचलित नेपालको कानूनबमोजिम श्रम स्वीकृति लिएर मात्र विदेश जान अनुरोध गरेको छ । 

‘थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलब÷सुविध प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको र तलब÷सुविधा पनि नदिइएको जानकारी प्राप्त भएको छ,’ मन्त्रालयले जारी गरेको ट्राभल एड्भाइजरीमा भनिएको छ, ‘यस्तो प्रलोभनमा परी आउने नेपालीहरूलाई गैरकानूनी रूपमा थाइल्यान्डबाट स्थल मार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजाने र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२–१३ घण्टासम्म अनलाइन ठगीलगायतका गैरकानूनी काममा लगाउने गरेको बुझिन आएको छ ।’

म्यानमारको म्यावडी क्षेत्रमा बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरूले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावासहरू बैंकक तथा यांगुनमा सम्पर्क गर्ने गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकोले उद्धार गर्न चुनौती पूर्ण रहँदै आएको छ ।

नक्कली रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकोले यस्ता झूटा आश्वासनमा नपर्न नेपाली नागरिकहरूलाई मन्त्रालयले अनुरोध गरेको छ । रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्नहुन र आफैंले समेत सम्बन्धित कम्पनी/रोजगारदाताको बारेमा वेवसाइट/टेलिफोन/इमेल मार्फत सम्पर्क गरी जाँचबुझ गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस