सदाचार आत्मानुभूतिको आन्तरिक आत्मानुशासन सम्बन्धी विज्ञान र अन्तरवोध  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सदाचार आत्मानुभूतिको आन्तरिक आत्मानुशासन सम्बन्धी विज्ञान र अन्तरवोध 


११ श्रावण २०८०, बिहिबार


कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यताको समष्टि नै नैतिक आचरण हो । यसले के ठिक हो र के बेठिक हो ? के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ ।प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । 

सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ ।नैतिक आचरण (मोरल) भनेको ठिक वा बेठिक, असल वा खराब चालचलन बताउने सिद्धान्त वा व्यवहार हो । कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिक आचरण को समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो ? के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ । 

नैतिक आचरण  भनेको सुविचार, असल वा उत्तम आचरण, असल व्यवहार, स्वच्छता, निष्पक्षता, इमानदारी एवं सकारात्मक सोच हो । नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार भ्रष्टाचार हो।  नैतिक आचरण  र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारीमाथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन् । यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन । नीति, नियम र व्यवहारप्रति उच्च सतर्क रही गरिने उदाहरणीय चरित्र नैतिक आचरण  हो । नीति मार्ग अवलम्बन गरी लाभकारी हुनु नैतिक आचरण  हो । बुद्ध धर्मले सम्पत्ति र शक्तिको सञ्चयबाट जीवन सफल नहुनेतर्फ संकेत गर्दै नैतिक आचरण लाई शान्ति र सुख प्राप्तिको मूल भनेको छ ।त्यसैगरी एक प्रसङ्गमा पूर्वीय दर्शनका कूटनीतिज्ञ चाणक्यलाई भेट्न एक पटक चिनियाँ यात्री उनको कुटीमा पुगेका बखत चाणक्य एकान्त कुटीमा टुकी बत्ती बालेर सरकारी कामकाज गरिरहेका थिए ।

चाणक्यले काम सकेर अतिथिलाई स्वागत गर्न लाग्दा दोस्रो बत्ती सल्काए । चाणक्यको व्यवहार अतिथिले अचम्म मान्दै सोधे तपाईँले भर्खरसम्म अर्को बत्ती बालिराख्नु भएकोमा किन त्यो बत्ती निभाएर अर्को बाल्नुभयो ? चाणक्यले मुस्कुराउँदै जवाफ फर्काए– मित्र अनौठो मान्नु पर्दैन, भर्खरसम्म म राज्यको काम गर्दै थिएँ अनि राज्य कोषबाट किनिएको बत्ती र तेल प्रयोग गरिरहेको थिएँ। तपाईँसँगको भेट मेरो निजी भएकोले दोस्रो बत्ती सल्काएको हुँ। सदाचार र नैतिक आचरण को शक्तिशाली तस्बिर यस महान् आदर्श भनाइबाट पुष्टि हुन्छ । नैतिक आचरण नै जीवनको महत्त्वपूर्ण पक्ष हो । 

नैतिक आचरण ले नै मानिसलाई उच्च मूल्याङ्कन हुने अवसरको सिर्जना गर्दछ । त्यसको लागि मनबाट उब्जने प्रसन्नताले ल्याउने अनुभूतिलाई सकारात्मक चिन्तनतर्फ ध्यान आकृष्ट गर्ने प्रवृत्तिको विकास गर्ने अभ्यास गरिरहनु पर्छ । मनले इच्छाएको कर्मलाई मनको पवित्रतासँगै उजागर हुने नैतिक आचरण र कर्ममा विश्वास बढाउनु पर्छ ।यसको लागि जस्तोसुकै कठिन परिस्थिति पर्दा पनि धैर्य र सहनशील भई मनलाई स्थिर राखी मनमा आउन सक्ने कलुषित विचारलाई हटाउनेतर्फ सधैँ सचेत रहनु पर्छ । 

मन नपरेको र गर्न नहुने कर्मतर्फ मनलाई जबरजस्ती स्विकार्ने वातावरण बनाउनु हुँदैन । खुसी बाँड्न सके धेरै उत्तम हुन्छ । यदि खुसी बाँड्न सकिएन भने पनि आफूभित्रको पवित्र मन सधैँ खुसी र उमङ्ग राख्न नैतिक आचरण र चरित्रलाई एकाकार गरी बाह्य आवरणमा देखाउने अभ्यास गरिरहनु पर्छ । नैतिक आचरण  मानवलाई उसको आचरणको मूल्याङ्कन गर्ने बलियो आधार पनि हो ।हामी कसैलाई प्रेम गर्छौँ र अझ बढी त्यसप्रति आशक्ति जगाउँछौँ भने त्यसले कहिल्यै तृप्ति दिँदैन । किनकि मानव चाहना एकपछि अर्को गर्दै बढिरहेको हुन्छ । यही तृप्तिको चाहनाभित्र रुमलिँदै जाने हो भने मानिस सधैँ अपवित्रतातर्फ उन्मुख भइरहने अवस्था सिर्जना हुन पुग्छ । 

इच्छासँगै प्राप्तिको अभिलाषा बढ्नु भनेको सत्यबाट विचलित भई असत्यतर्फ आकृष्ट हुनु हो ।मनमा लागेको गर्ने मानवीय स्वभाव तथा आफूभित्र जागृत इच्छा प्राप्ति गर्नु कुनै अव्यवहारिक पक्ष होइन । इच्छा प्राप्ति सबैको चाहना पनि हो । तर पनि चाहना हुँदैमा सामाजिक मर्यादा र आफ्नो जिम्मेवारीलाई स्वार्थपरक चिन्तनतर्फ प्रवाह हुने गरी आचरण र व्यवहारलाई कहिल्यै प्रदर्शन गर्नु हुँदैन । यसले नैतिक आचरण मा प्रश्न उठाउन सक्छ । तसर्थ, यसको लागि सकारात्मक भाव जागृत हुने र समाजमा नयाँ परिस्थिति ल्याउने सोच र चिन्तनलाई आफ्नो इच्छा र चाहनाको सेरोफेरोमा कुशलतापूर्वक प्रदर्शन गर्न सक्ने मानवीय चरित्र हुनुपर्छ । सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो । यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जबाफदेही हुने हुन्, तर पनि आदर्श आचारसंहितामा सहमति बन्न सकेन । 

आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पुर्‍याउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् । तर, सार्वजनिक क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन् । व्यक्तिगत, साङ्गठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू स्खलित भएका छन् । यसैले अहिलेको सबैभन्दा चाहिएको विषय नै सदाचार हो, जसले सुशासनलाई दिगो बनाउन सक्छ । 

व्यक्ति आचारच्यूत किन हुन्छ भन्ने विषयमा उत्तर पाइन्न । तर, घटनाक्रम र प्रवृत्तिको विश्लेषणले केही हदमा उत्तर खोज्न भने सकिन्छ । जन्मले मानिस असल हुन्छ, कोही पनि खराब हुँदैन, कर्मले मात्र मानिस खराब वा असल भनिने हो । पारिवारिक, सामाजिक परिवेश, अभिमुखीकरण, रहनसहन, मूल्य, संस्कृतिजस्ता पक्षहरूले व्यक्तिलाई खराब वा असल बनाउँछ । जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सत्कर्मी बन्छ, नैतिक बन्छ । मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ ।

सबै व्यक्तिहरू सार्वजनिक ओहोदा लिनका लागि योग्य हुँदैनन् । सार्वजनिक जीवन निर्वाहका लागि सीप र दक्षता त चाहिन्छ नै । त्यति मात्र पर्याप्त हुँदैन । उ, नैतिक, इमानदार र सदाचार रूपमा योग्य हुनुपर्छ । जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जबाफदेही हुनुपर्छ । उसका हरेक व्यवहारले नैतिक आचरण  र औचित्यको पुष्टि गर्न सक्नुपर्छ, सर्वसाधारणको मन जितेको हुनुपर्छ । सङ्गठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ । जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ । 

लोकतन्त्र, शान्ति, सुशासन, अनुशासन र समृद्धिको आधार भूमि सदाचार हो । सामाजिक–आर्थिक एवं राजनीतिक क्षेत्रमा सदाचारले सर्वोच्च स्थान ओगटेको हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सुशासन अनिवार्य शर्त हो । लोकतन्त्र विनाको सुशासन र सुशासन विनाको लोकतन्त्र फस्टाउन सक्दैन । देशको शासन व्यवस्था सक्षम, प्रभावकारी र सफल हुन सार्वजनिक प्रशासनमा नैतिक आचरण, समर्पण भाव, पारदर्शिता, अधिकार प्रत्यायोजन, उत्तरदायित्व, स्वच्छता, जबाफदेही र आर्थिक सदाचार रहनुपर्छ । 

राम्रो आचरण, असल चालचलन र सकारात्मक व्यवहार सदाचार हो । सुशासनको एक महत्त्वपूर्ण खम्बा भनेको सदाचारलाई लिन सकिन्छ । सदाचार भनेको नीति, नियम र व्यवहारप्रति उच्च सतर्क रही कार्य गर्ने सुविचार, उत्तम आचरण, स्वच्छता, निष्पक्षता एवं इमानदारी हो। सदाचार सैद्धान्तिक विषय नभएर यो आत्मानुभूतिको आन्तरिक आत्मानुशासन सम्बन्धी विज्ञान र अन्तरवोध गर्ने विषय  हो ।

सदाचार र नैतिक संस्कृति विकास गर्न पदाधिकारीको कार्य जिम्मेवारीको परिभाषा, कार्यसम्पादन सूचकको स्थापना, सेवा बडापत्र, नागरिक पृष्ठपोषण, प्रोत्साहन र मूल्याङ्कन प्रणाली र नागरिक दबाब जस्ता संयन्त्रहरू अपनाउने सामान्य प्रचलन छ । नागरिक चेतनाको स्तर, समाजको लोकतान्त्रीकरण र प्रविधिको प्रसारले पनि सार्वजनिक प्रशासनलाई नैतिक, व्यावसायिक र सदाचारी बनाउन बल पुर्‍याएका छन्। सर्वसाधारणले सरोकार राख्ने विषय भनेको सार्वजनिक सेवा वितरण हो । 

सेवा वितरणका खास मान्यता र सिद्धान्त छन्, जसलाई अवलम्बन गरेरै सार्वजनिक संस्थाहरू नैतिक बन्न र सेवाग्राहीको विश्वास जित्न सक्छन् ।नैतिक आचरण , आचरण र सदाचारले कर्मचारीमा आत्म नियन्त्रण र स्व उत्प्रेरणा वृद्धि गर्दछ । यसले सार्वजनिक सेवालाई राजनीतिबाट तटस्थ, निष्पक्ष बनाई सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापरबाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्दछ । सेवाग्राहीको सरकार तथा सार्वजनिक सेवा प्रतिको विश्वास अभिवृद्धि गर्नमा नैतिक आचरण, आचरण र सदाचारले महत्त्वपूर्ण भूमिका खेल्दछ । त्यसैगरी यसले सरकारी काम, कारबाहीलाई छिटो, छरितो गराउन सघाउँछ ।महत्त्वपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम गर्ने तथा संरक्षण गराउन नैतिक आचरण , आचरण र सदाचारले अक्सिजनको काम गर्दछ । सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन कायम गरी जनविश्वास अभिवृद्धि गर्नमा नैतिक आचरण , आचरण र सदाचारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।

हाम्रो देशमा भएको युगान्तकारी परिवर्तन सँगसँगै आम जनतालाई परिवर्तनको अनुभूति दिलाउने गरी विद्यमान संरचना , नियम, कानुन परिवर्तन गरिएको छ । हाम्रा संस्कार, कार्यशैली , आचरण र व्यवहारमा रूपान्तरण गर्न नसक्दा आम जनतामा निराशा उत्पन्न भएको अवस्था विद्यमान छ । फलस्वरूप आम जनताको प्रशासन संयन्त्रप्रति मात्र होइन सिङ्गो शासन व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको देखिएकोले माथि उल्लेख गरिएका लगायतका सुझावहरूलाई ग्रहण गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, सदाचारयुक्त, नागरिकमैत्री, भ्रष्ट्राचारमुक्त र नैतिकवान् बनाई सुशासन कायम गर्नु आजको टड्कारो आवश्यकता रहेको छ । यसका लागि शासकीय व्यवस्थापनका पात्रहरूको उचित समन्वय, सहकार्य र संवादको माध्यमबाट नैतिक पुर्वाधारहरुको विकास गर्न जरुरी रहेको छ ।

(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)

Tags :
प्रतिक्रिया दिनुहोस