सय रुपैयाँभन्दा बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिन आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सय रुपैयाँभन्दा बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिन आग्रह


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । सय रुपैयाँ भन्दा बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिन आग्रह गरिएको छ।

बुटवल उद्योग वाणिज्य सङ्घले सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ता लक्षित उक्त नीतिलाई निरन्तरता दिन आग्रह गरेको हो ।  

सङ्घलगायत यस क्षेत्रका व्यावसायिक सङ्घ-संस्थाहरुको पहलमा हालैदेखि भन्सारमा कडाइ गरिएको थियो। नाकामा कडाइ गरेपछि सीमावर्ती नेपाली बजार पनि गुल्जार हुन थालेको र सरकारको राजश्व असुलीमा पनि प्रगति भएको भन्दै सङ्घले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर सीमानाका कडाइलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्यसमेत रहेका बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बिगतदेखी गरिएको पहल तथा पैरवीका कारण भन्सार बिन्दुमा खुद्रा उपभोग्य वस्तुमा समेत भन्सार महसुल लिने कार्यको थालनी पछि स्थानीय बजारमा सकारात्मक असर देखिन थालेको बताए। व्यवसायीका अनुसार भन्सारमा कडाइ गर्न सुरु भएपछि बुटवल बजारमा कपडाको व्यापारमा ३५ प्रतिशत तथा कस्मेटिक तथा मोटरपार्टसमा १० प्रतिशतले वृद्धि भएको उनले बताए। त्यस्तै, अन्य बस्तुको व्यापारमा पनि तुलनात्मक रूपमा वृद्धि भएको कसजुको भनाई छ।

Tags :
प्रतिक्रिया दिनुहोस