मिटरब्याजसम्बन्धी पुरानै विधेयक संसदबाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मिटरब्याजसम्बन्धी पुरानै विधेयक संसदबाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


३० असार २०८०, शनिबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा रहेको मिटरब्याजीविरुद्धको विधेयक नै अघि बढाइने बताएका छन्।

शनिबार चितवनमा प्रेस सेन्टर नेपालले  आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसदमा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको बताए।

‘हामी  मिटरब्याजविरुद्धको पुरानो विधेयकलाई नै अघि बढाउन लागिरहेका छौँ, छिट्टै विधेयक पारित गर्ने स्थितिमा सरकार पुग्छ,’ उनले भने।

संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उल्लेख गर्दै उनले अब संसद् सञ्चालन हुने बित्तिकै यसलाई पारित गरिने बताए।

‘प्रतिपक्षी पनि विधेयकको पक्षमा हुनुहुन्छ । यसलाई हामी चाँडै संसद्बाट पारित गर्छौँ,’ उनले भने। सरकारले संसद्मा दर्ता गराएको विधेयकको विषयमा दलहरुसँग छलफल भइरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

मिटरब्याजी विरुद्धको उजुरी नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उनको भनाइ छ।

विधेयकलाई ऐनका रुपमा लैजान मिल्दैन कि भन्ने चर्चा परिचर्चा भइरहेको उल्लेख गर्दै उनले संवेदनशील मुद्दामा विधेयक चाँडो पास गर्नुपर्ने बताए।

‘संवेदनशील मुद्दामा कानुनी ग्याब लामो राख्न नमिल्ने भएकाले संसद् खुल्दा पारित हुने गरी काम अघि बढेको छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने।

उनले ललिता निवास जग्गा प्रकरणमा तथ्य र प्रमाणका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए।

‘कसलाई पहिला पक्राउ गर्ने, पहिला कस्लाई अनुसन्धान गर्ने, अभियोजन दर्ता गर्ने भनेर व्यक्ति हेरेर किटान गर्ने र प्रक्रिया अघि बढाउने गर्दैनौँ,’ उनले भने।

उक्त प्रकरणमा प्रहरीले स्वतन्त्र ढङ्गले अनुसन्धान गरिरहेको बताए। ‘अनुसन्धानका लागि प्रहरी संयन्त्रलाई दबाब दिन मिल्दैन र दिँदैनौँ,’ उनले भने,  ‘उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामीले हस्तक्षेप मुक्त भएर अनुसन्धान गरेर अपराधीलाई दायरामा ल्याउन भनेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस