ललिता निवास प्रकरणमा पक्राउ परेकाको रिट भट्टराई र फुयाँलको इजलासमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ललिता निवास प्रकरणमा पक्राउ परेकाको रिट भट्टराई र फुयाँलको इजलासमा


१९ असार २०८०, मंगलबार


काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा परेको छ।

मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीश भट्टराई र फुयाँलको इजलासमा सुनुवाइ हुन लागेको हो।

ललिता निवासको सरकारी कागजात कीर्ते गरी जग्गा हडपेको आरोपमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह र धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए।

हदम्याद गुज्रिसकेको घटनामा गैरकानुनी रूपमा आफूहरूलाई पक्राउ गरेको भन्दै गत बुधबार उनीहरूले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए।

अहिलेसम्म केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा ९ जनालाई पक्राउ गरिसकेको छ।

गुरुङ, शाह, र गौतमसँगै पूर्वमालपोत कार्यालयका कर्मचारी गोपाल कार्की, काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पक्राउ परेका हुन्।

यस्तै, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई सोमबार पक्राउ गरेको हो।

ब्युरोले यसअघि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई पनि पक्राउ गरेको थियो। उनीहरूले पहिल्यै स्टेअर्डर लिइसकेकाले सिआइबीले त्यही दिन छाड्न परेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस