निरन्तर घट्दै अल्पकालीन ब्याजदर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निरन्तर घट्दै अल्पकालीन ब्याजदर


१८ असार २०८०, सोमबार


काठमाडौँ । अल्पकालीन ब्याजदर निरन्तर घट्दै गएको छ । २८ दिन अवधिको ट्रेजरी बिलको भारित औसत डिस्काउन्ट रेट ४.७३८८ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार नेपाल राष्ट्र बैंकले ५ अर्बको नयाँ र करिब २४ अर्ब ६७ करोड बजारको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको छ ।

जसमध्ये २८ दिन अवधिको ट्रेजरी बिलको भारित औसत डिस्काउन्ट रेट ब्याजदर करिडोरको तल्लो सीमाबाट तल झरेको हो । मौद्रिक नीतिले ब्याजदर करिडोरको तल्लो सीमा अन्तरगतको निक्षेप सङ्कलन दर ५ प्रतिशत कायम गरेको छ । अन्तरबैंक ब्याजदर ५ प्रतिशत भन्दा तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत तरलता खिच्ने गर्छ । तर, अहिले तरलता नखिची ट्रेजरी बिलको बोलकबोल गर्दा त्यसले पनि ट्रेजरी बिलको भारित औसत डिस्काउन्ट रेट घटाएको हो ।

बैंकहरुमा अधिक तरलता भएर अन्तरबैंक ब्याजदर घट्दै जाँदा अल्पकालीन ब्याजदर पनि घट्दै गएको हो । गत ७ असार र १० असारमा गरेर राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता बैंकिङ रिभर्स रिपो मार्फत प्रणालीबाट खिचेको थियो ।

१७ असारमा १० अर्बको रिपोको म्याद सकियो भने १७ असारमा २० अर्बको रिभर्स रिपोको पनि अवधि पूरा भएको छ । जसले गर्दा बैंकिङ प्रणालीमा अधिक तरलता भएको बेलामा बोलकबोल भएको ट्रेजरी बिलको डिस्काउन्ट रेट पनि घटेको हो ।

नेपाल सरकारले १ वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरण ट्रेजरी बिल हो । सोमबार २८ दिन अवधिको ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएको छ । जसको भारित औसत डिस्काउन्ट रेट ४.७३८८ प्रतिशत काय भएको राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिलमा बैंकहरुले न्यूनतम ३.९८७६ प्रतिशत र अधिकतम ४.९९९५ प्रतिशतसम्म बोलकबोल गरेका हुन् ।

सोमबार नै ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएको छ । जसको भारित औसत डिस्काउन्ट रेट ६.०५६७ प्रतिशत कायम भएको छ । नेपाल सरकारले सोमबार नै १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ । जसको भारित औसत डिस्काउन्ट रेट ६.७१३० प्रतिशत कायम भएको छ ।

यस्तै सोमबार ३६४ दिन अवधिको करिब ८ अर्ब ९२ करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएको छ । जसको भारित औसत डिस्काउन्ट रेट ७.०४५४ प्रतिशत कायम भएको छ ।

यसअघि ११ असारमा भएको बोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको भारित औसत डिस्काउन्ट रेट ५.६१२८ प्रतिशत थियो । यस्तै ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत डिस्काउन्ट रेट ६.८०३० प्रतिशत, १८२ दिन अवधिको ट्रेजरी बिलको भारित औसत डिस्काउन्ट रेट ६.८९७१ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको भारित औसत डिस्काउन्ट रेट ७.१९२२ प्रतिशत कायम भएको छ । गत साताको भन्दा यो साता चार वटै अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट घटेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस