आर्थिक अवस्था कमजोर भएका परिवारका लागि वरदान बनेको प्रधानमन्त्री रोजगार कार्यक्रम « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

आर्थिक अवस्था कमजोर भएका परिवारका लागि वरदान बनेको प्रधानमन्त्री रोजगार कार्यक्रम


१२ असार २०८०, मंगलबार


रामधुनी  । सुनसरीको रामधुनी नगरपालिका ५ की शर्मिला चौधरीले जीवनमा निकै उतार चढाव झेलिन् ।घरमा श्रीमान भएपनि काम गर्ने र त्यो पैसा अन्यत्रै खर्च गर्थे। घरमा एक छोरा र छोरी हुर्काउनुपर्ने निकै कष्टकर थियो उनको जिवन। छोरा पनि अपाँग थिए। जेनतेन उनले मजदुरी गरेर छोराछोरी हुर्काउदै आएकी थिइन्। रक्सीको लतमा फसेका श्रीमान बिरामी भए । उपचार गर्दा गर्दै उनको निधन भयो। बस्ने घर थिएन भाडाको घरमा उनले आफ्ना छोराछोरी पाल्दै आएकी थिइन्। गाउँमै उनी लेवरको काम गर्दै हिँड्ने गर्थिन। घर खर्च चलाउन निकै कठीन थियो। छोरा पनि २० वर्षको उमेर बित्यो। त्यसले उनको जिवनमा थप निराशा ल्याइदियो । छोरीलाई हुर्काउन र दैनिक छाक टार्नका लागि उनलाई निकै धौधौ हुँदै आएको थियो । 

तर, गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएर काम पाएपछि भने उनलाई केही सहज भएको छ। अहिले यो कार्यक्रमबाट आएको पैसाले नै उनको खर्चको जोहो चलेको छ। “पहिले लेवर काम गरेर हिँड्थे। छोराछोरी सानै थिए। छोरीलाई पिठ्युँमा बोकेर पनि काम गर्थे। यो कार्यक्रममा जोडिनु भन्दा अघि,”उनले भनिन्,“मलाई त यो कार्यक्रम निकै राम्रो भएको छ। अहिले छोरी पढिरहेको छ। यो कार्यक्रमले मलाई निकै सजिलो भएको छ। यसैको कमाइले छाक टार्न सजिलो भएको छ।”

उनकी छोरीले अहिले एसइई दिइसकेकी छन्। उनलाई यो काम गर्न त्यति दुःख छैन किनभने उनले यो कार्यक्रम आउनु अघि नै निकै असहज हुने काम समेत गरेकी थिइन्। “यो कार्यक्रम नआइदिएको भए त मलाई काम खोज्दै गाउँ डुल्नुपर्थ्यो। तर, अहिले यसैको पैसाले मेरो जीविकोपार्जन चलेको छ,”उनले भनिन्,“अहिले पनि प्रधानमन्त्री रोजगारको काम सकेर मैले बाहिर पनि काम गरिनै रहेकी छु। म त वर्षभरि नै काम गर्न पाएको भए झनै गर्ने थिए।” 

वडा नम्बर ८ का सर्वण मलाहाको पनि ६ जनाको परिवार पाल्नुपर्छ। घरमा आम्दानीको कुनै स्रोत छैन। दैनिक ज्याला मजदुरी गरेर उनले पनि परिवार पाल्दै आएका थिए। पहिलो पटक प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएर काम गर्न थालेपछि उनलाई पनि केही सहज भएको छ। “पहिलो चोटि छनोट भएर काम गरिरहेको छु। गाउँ घरमा केही काम धन्दा नभएको बेला काम पाइयो निकै राम्रो लागेको छ,”उनले भने,“हामीलाई त यही कार्यक्रम निरन्तर भइदिएको भए धेरै राम्रो हुने थियो।”

उनले कार्यक्रम गरेबापत पाउने पारिश्रमिकले बच्चाको स्कुल फिस, किताब कापी किन्ने र पसलबाट साँझ बिहान परिवारका लागि खानेकुरा किनेर खान सजिलो भएको बताए। “अर्काकोमा गएर काम गर्नुभन्दा सरकारी काममा सजिलो हुन्छ। यो कार्यक्रम धेरै राम्रो छ। तर, अलिकति ज्याला सरकारले बढाइदिए राम्रो हुने थियो।”

सुनिता कुमारी चौधरीको घरको आर्थिक अवस्था पनि निकै कमजोर नै छ। श्रीमानले काम गरे पनि पुग्दैन। खर्च धान्न मुस्किल हुन्छ। त्यही भएर उनी आफ्नै वडा नम्बर ८ मा काम गर्न जाने गरेकी छन्। यो कार्यक्रमले उनको परिवार चलाउन पनि निकै राहत मिलेको छ। “पैसा कम छ अलिकति बढाइदिएको भए धेरै राम्रो हुने थियो। यो काम नभएको मलाई घर परिवारको खर्च जुटाउन समस्या हुन्थ्यो,”उनले भनिन्,“हामीलाई यो काम निरन्तर भइदिएको भए धेरै राम्रो हुने थियो।

केही पैसा आम्दानी भएपछि घरमा खानेकुरा किन्न सजिलो हुन्छ। बच्चा पढाउन सजिलो हुन्छ। यही पैसाले चामल, दाल, नुन तेल किन्छु। छोरीको स्कुलमा फिस तिर्छु।” उनले सय दिन मात्र काम गरेर खर्च चलाउन नसकिने भन्दै यो कामको ज्याला बढाइदिए राम्रो हुने बताइन्। “एक त सय दिन मात्रै काम छ त्यसमा पनि ५७७ रुपैयाँ मात्रै ज्याला पाउँछौँ यतिले घर खर्च चलाउन धौ धौ हुन्छ सय दिन मात्र कामले पुग्दैन अझै बढाइदिएको भए हुन्थ्यो,”उनले भनिन्,“ज्यालामा भेदभाव गरिएको छैन त्यसैले मलाई खुसी लागेको छ।” 

वडा नम्बर ८ कै गीता चौधरीलाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएको पैसाले बालबच्चालाई खान लाउन सहज भएको छ। ”पैसाको निकै खाँचो हुन्थ्यो। घरमा काम गर्ने कोही छैन। साँझ बिहान खाने कुरा किन्छौँ। यो पैसाले नानीलाई पढाउनुपर्छ। घर खर्च चलाउनुपर्छ,”उनले भनिन्,“पहिले बाहिर काम गर्न जाँदा छोराछोरी छोडेर जानुपर्थ्यो तर, यो कामले सजिलो भएको छ। घरमै बसेर बालबच्चा हेरेर काममा जान पाउँदा सजिलो भएको छ।” उनले पनि सय दिनबाट काम पनि बढाउनुपर्ने र ज्याला रकम पनि बढाइदिए राम्रो हुने बताइन्।  

वडा नम्बर ५ की इन्द्रमाया विश्वकर्माको परिवार ऐलानी जग्गामा बस्दै आएको छ। उनीहरूको आफ्नै घर छैन। उनलाई यो कार्यक्रम निकै राम्रो लागेको छ। “घरमा दाल चामल किनेर खान सजिलो भयो। नुन तेल, नानीहरूको स्कुल फिस किताब कापीमा सहज भयो। यो भन्दा अघिल्लो पटक पनि गरेको कामबाट घर बनाउने काम भयो। बस्नलाई राम्रो घर थिएन,”उनले भनिन्,“ऐलानी जग्गामा भए पनि घर बनाएर बस्न सकियो।” घरमा छोराछोरी हेरेर काममा जान पाइने भएकाले कार्यक्रम निकै राम्रो लागेको उनी बताउँछिन्। “अलिकति पैसा ढिला आउँछ भनेर मात्रै हो। तर, पनि यो कार्यक्रमले हामीलाई निकै राम्रो गरेको छ,”उनले भनिन्। 

गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुनका लागि सूचना सार्वजनिक भएपछि आफूले पनि थाहा पाएर फारम भरेको उनी बताउँछिन्।  “तीन वर्षदेखि नियमित रूपमा काम गरिरहेका छौँ। मेरो खातामा नै पैसा आउँछ। यो काम नभएको भए अवस्था बिजोग हुन्थ्यो। अहिले यो कामले राम्रो गरेको छ,”उनले भनिन्,“हामीलाई त वर्षभरि नै काम पाइएको भए त धेरै राम्रो हुने थियो। किनभने सय दिनको कामले मात्रै वर्षभरि त खान पुग्दैन।” उनले यो कार्यक्रमबाट सिपमूलक तालिम भइदिएको भए भविष्यमा मजदुरी गरेर खान सजिलो हुने भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताइन्। “सरकारको काम गर्दा विकास निर्माण पनि गर्न पाइने अनि आम्दानी पनि हुने हुँदा राम्रो लाग्छ। नहर खन्ने, माटो पुर्ने, सरसफाइको काम गर्यौँ । महिला पुरुष दुवैले काम गर्दा ज्याला समान दिँदा राम्रो लागेको छ,”उनले भनिन्।  

नगरपालिकाका रोजगार संयोजक खगेन्द्र सुब्बा फोमबोहांग २०७५ साल देखि नै नगरपालिकामा कार्यक्रम चलिरहेको बताउँछन्। “बेरोजगारको सूचि दर्ता गर्ने कार्यदेखि सुरु हुन्छ। सुरुमा प्रत्येक वडामा पत्राचार गर्छौँ। चैत महिनाभित्र प्रणालीमा इन्ट्री भइसकेपछि कति बेरोजगारले फारम भरे भन्ने थाहा हुन्छ। बजेट आएको हुन्छ त्यसको आकार अनुसार सबै वडामा बराबर पर्ने गरेर बाँडफाँड गर्छौँ,”उनले भने,“त्यसपछि वडाबाट आयोजना माग गरेर लागत अनुमान हेरेर काम लगाउने गर्दर्छौं। समयमा पारिश्रमिक हुनका लागि यो यो योजना यति दिनमा सक्ने भन्ने आउनुपर्‍यो।

स्टीमेट अनुसार काम भए तत्काल भुक्तानी दिन्छौँ। जति छिटो भुक्तानी दिन सकियोस् त्यति नै हामीलाई पनि सहज हुन्छ।” उनले योजनाको स्टीमेट अनुसार काम सम्पन्न नभएपछि पुनः काम गराएर भए पनि सम्पन्न गराएर भुक्तानी दिने गरिएको बताए। “आफ्नै वडाको विकास निर्माणको काममा सहभागी भएर रोजगारी पाउने भएकाले यो कार्यक्रम निकै राम्रो देखिन्छ। सबैले यो कार्यक्रमलाई सकारात्मक रूपले हेर्नुपर्छ,”उनले भने,“पालिकाले पनि आफ्नै कार्यक्रम भनेर अपनत्व गरेर यस्तो कार्यक्रममा बजेट विनियोजन गरे अझ राम्रो हुने थियो।” 

रोजगार शाखाका प्राविधिक सहायक दिनेश राई आयोजनाको गुणस्तर कायम गर्नका लागि पटक पटक अनुगमन लगायतका काम गरिँदै आइएको बताउँछन् ।  “उनीहरूको कामको अनुगमन, मूल्याङ्कन गरेर भुक्तानी दिने हो। गुणस्तर कायम गराउनका लागि हामीले सुरूमा नै वडाहरूमा अभिमुखीकरण तालिम गराएर प्रशिक्षण दिएका हुन्छौँ,”उनले भने,“उपमेयर, प्राविधिक र रोजगार कार्यालयबाट पनि समय समयमा फिल्डमा गएर पनि अनुगमन गरिरहेका हुन्छौँ।” 

Tags :
प्रतिक्रिया दिनुहोस