एम्बुस थापेर अध्यक्ष ओलीको हत्या प्रयास भयो : योगेश भट्टराई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एम्बुस थापेर अध्यक्ष ओलीको हत्या प्रयास भयो : योगेश भट्टराई


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कोसी प्रदेश नामाकरण पश्चात् आफ्नो दलमाथि हमला बढेको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रदेश नामाकरणको विरोधमा आफ्ना दलका अध्यक्ष केपी शर्मा ओलीलाई एम्बुस थापेर हत्या गर्ने प्रयास भएको उनले आरोप लगाएका हुन् ।

प्रदेश नामाकरण गर्ने अधिकार प्रदेश सभालाई भएको भन्दै उनले केही समय अघि पार्टी अध्यक्ष ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको टोली पूर्वको झापा, इलाम, पाँचथर, तेह्रथुम जाँदा कालो झण्डा देखाउने, अवरोध गर्ने रुख ढाल्ने र एम्बुस थापेर हत्याको प्रयास गरिएको आरोप लगाए ।

“विचित्र लाग्छ , सर्वसाधारण मानिसको ज्यान सुरक्षा गर्ने सरकारको काम हो । पार्टीको कार्यक्रममा जाँदा एम्बुससम्म थापेर मार्नै खोजिन्छ भने बुद्धको देश कता जाँदैछ,” उनले भने ।

यो विषय संसद्मा उठाउँदा पनि गलत गर्नेलाई कारबाही नभएको आरोप उनको थियो । साथै उनले विराटनगरमा आन्दोलनको क्रममा मृत्यु भएका व्यक्ति आन्दोलनकारीकै प्रहारबाट मृत्यु भएको भन्दै उनले प्रहरीको समेत सुरक्षा माग गरे ।

योगेशले केन्द्रका मात्र होइन प्रदेशका एमाले नेताहरूमाथि पनि निरन्तर आक्रमण र हत्याको प्रयास भइरहेको जिकिर गरे ।

“हिजोमात्र कोसी प्रदेश सदस्य संसदीय दलका उपनेता राम राना माथि सांगातिक हमला भयो । मोविल छर्केर जलाउने कोसिस भएको छ । उपसभामुख सिर्जना दनुवारको गाडी तोडफोड भएको छ, राष्ट्रिय झण्डा फ्याँकिएको जलाइएको छ । नजिकै डिएसपीको कमाण्ड छ तर केही हुँदैन । किन हुँदैन,” उनले भने ।

उनले एमालेलाई नलखेट्न र सुरक्षा दिन चुनौती दिए । मधेसमा एमाले लखेट्न खोज्दा आएको जनलहर नभुल्न उनको भनाइ थियो । उनले गृह मन्त्रालयले एकलोको सुरक्षा दिन नसक्ने हो भने एमाले आफ्नो सुरक्षा आफै गर्न समक्ष भएको भन्दै चुनौती दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस