ठगी गरेको आरोपमा तीन जना पूर्वकर्मचारी पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ठगी गरेको आरोपमा तीन जना पूर्वकर्मचारी पक्राउ


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा तीन जना पूर्वकर्मचारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका-४ घर भई भक्तपुर ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाडौँ-४ बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल छन्।

राघव सापकोटा उक्त अस्पतालको एजिक्युटिभ आइपी बिलिङको रूपमा कार्यरत थिए। अन्य दुई जना पनि बिलिङ सेक्सनमा कार्यरत थिए।

बिलिङको लागि मेडिसिटी अस्पतालमा शुक्र नामक एचएमआइएस सफ्टवेयरको प्रयोग गरिएको थियो।

त्यही सफ्टवेयरमार्फत बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्ज लिएर सिस्टममा इन्ट्री गरिन्थ्यो। आरोपीहरूले बिरामीहरूबाट वास्तविक शुल्क लिएका थिए।

तर सिस्टममा इन्ट्री गराउँदा भने उनीहरूले वास्तविक शुल्कभन्दा कम गराएको पाइएको प्रहरीको भनाई छ ।

यसरी उनीहरूले दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

अस्पताललाई यसरी घाटा पुर्‍याएको भन्ने उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। यता बिलिङ शाखामा कार्यरत उनीहरूले जागिर छाडिसकेका थिए।

अस्पताल प्रशासन घाटामा गइरहेको बेलामा जागिर समेत छाडेपछि प्रहरीले उनीहरूमाथि नै शङ्का गरेको थियो। अनुसन्धान गर्नेक्रममा उनीहरूले ठगी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथि आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ।

घटनामा अन्य पूर्वकर्मचारीहरू समेत संलग्न रहेको र उनीहरूको खोजी भइरहेको परिसरले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस