वैदेशिक रोजगारका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वैदेशिक रोजगारका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेको कान्छो जनसङ्गठन रिटर्नी फेडेरेसन नेपालले १९ बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएको छ । मङ्गलवार पत्रकार सम्मेलन गर्दै फाउण्डेसनले वैदेशिक रोजगारका समस्या र समाधानका लागि सरकारलाई झकझक्याएको हो ।

रोजगारीमा विदेश जानुपूर्व सरकारले अनिवार्य तालिमको व्यवस्था गरी कम्तीमा लेभल ‘ए’ सम्मको प्रमाण पत्रपछि मात्र श्रम अनुमति प्रदान गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

श्रम स्वीकृतिको बाध्यकारी प्रावधानमध्ये बीमा पनि एक भएकाले बीमा कम्पनीले श्रमिकबाट बीमाको नाम सङ्कलन गर्ने रकममध्ये निश्चित प्रतिशत श्रमिकको कल्याणकारी क्षेत्रमा खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गर्न पनि माग गरिएको सङ्गठनले जनाएको छ । विदेशमा सिकेको सीप, पूँजी, जाँगर र प्रविधिको माध्यमबाट राष्ट्रिय पूँजी निर्माणमा रिटर्नीले अगाडि बढाएका रिटर्नी सञ्जाल निर्माण, उद्यमी प्रवर्द्धन योजनालगायतका क्षेत्रमा राज्यको साझेदारीको ग्यारेण्टी गर्न पनि ध्यानाकर्षण गरिएको छ ।

सङ्गठनले प्रवासमा मृत्यु भएका, विभिन्न जेलमा रहेका वा अलपत्र भएकाको उद्धार गर्नु राज्यको दायित्व रहेको भन्दै वैदेशिक रोजगारीको सिलसिलामा अलपत्र परेका, वैधानिक कागजात नभएकालाई समेत सहज स्वदेश फिर्तीको व्यवस्था गर्नुपर्ने, विदेशमा सिकेको सीपको उपयोग हुनेगरी नेपालमा उद्यम र व्यवसाय सञ्चालनका लागि विदेशबाट आयात गर्ने मेसिन तथा औजारमा भन्सार छुटको व्यवस्था गर्नुपर्ने र विदेशमा मृत्यु भएका कामदारका स्वदेशमा रहेका बालबच्चालाई १८ वर्षसम्म शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता निःशुल्क उपलब्ध गराउनुपर्ने माग उठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस