नेपाल मलेसियासँग पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल मलेसियासँग पराजित


२० जेष्ठ २०८०, शनिबार


काठमाडौँ । घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई पराजित गरेको हो । जितसँगै मलेसियाले पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेको छ ।

नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गरेको छ ।

मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले ५२ बलमा ३८ रन बनाइन् । महिराह इज्जाती इस्माइलले २६ बलमा १६ रन बनाउँदा कप्तान मास इल्साले १८ बलमा १३ रन बनाइन् ।

नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान १/१ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको हो ।

पाहुना टोली नेपालका लागि इन्दु बर्माले ३१ बलमा ३ चौकाको सहयोगमा ३२ रन बनाइन् । सुरुआत राम्रो हुन नसकेको नेपालले पावर प्लेमा १३ रन बनाउँदा २ महत्त्वपूर्ण विकेट गुमाएको थियो ।

इन्दु बर्मा र बिन्दु रावलले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गरेसँगै नेपाल सम्मानजनक योगफलतर्फ गएको थियो ।

बिन्दु रावलले २६ बलमा २४ रन बनाइन् । सातौं विकेटका लागि रावलले कविता कुवँरसँग १८ रनको साझेदारी गरिन् ।

कविता १२ रनमा अविजित रहिन् । कविता, रावल र बर्मा बाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

घरेलु टोलीका लागि विनिफ्रेड दुराईसिंघमले ३ तथा एसा इलिसा र महिराह इज्जाती इस्माइलले समान १/१ विकेट लिएका थिए ।

पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल २–१ को अग्रतामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस